सत्यनारायणको एमबिबिएस अठोटमा विकासको मासिक सहयोग
आशिका तामाङ्ग, शर्मिला थापा र नेशनल लधुविक्तको आर्थिक सहयोग पनि सत्यनारयणलाई जुटेको छ ।
काठमाडौं,१९ पुस ।
सत्यनारायण साफी— एउटा जेहेन्दार विधार्थीको नाम हो । सिराहाको बरियारपट्टीका बासिन्दा सत्यनारायण,सामान्य परिवारका सदस्य हुन्, जसले एमबिबिएस अध्ययनका लागि छात्रवृतिमा नाम निकालेका छन् । केही साता पछि दाङ्गको राप्ती एकेडेमि अफ हेल्थ साइन्सेजमा उनी एमबिबिएसको विधार्थी भएर चिकित्साशास्त्र अध्ययन गर्न थाल्नेछन् । मधेशको सामाजिक संरचनामा दलित भनेर पछाडि पारिएको समाजका सत्यनारायणले आफै पनि ज्याला मजदुरी गर्दे कक्षा १२ सम्मको अध्ययन र त्यसपछिको एमबिबिएस परीक्षाको तयारी गरेका छन् । मिडिया र सामाजिक संजालमा सत्यनारायणले छात्रवृति पाएको खबर फैंलिए पछि उनी चर्चित पात्र बने ।र, अध्ययनका लागि सहयोग दिने घोषणाहरु भएका छन्, केहीले नगद दिएका छन्, केहीले आश्वासन दिएका छन् ।
सहयोगको हात दिनेहरुमा पछिल्लो पटक सिरहा उद्योग वाणिज्य संघका अध्यक्ष विकास शारडा जोडिएका छन् । विकासले आफ्नो जन्म दिनको अवसर पारेर सत्यनारयणसँग एउटा संझौता गरेका छन् ,जसमा प्रत्येक महिना एमबिबिएर पढुन्जेल ५ वर्षसम्म सत्यनारायणको वैंक खातामा दश हजार जम्मा गर्ने । ‘विकास कुमार सारडा र सत्यनारायण साफीबीच भएको संझौता’ लिखतमा ६ बुँदा छन् जसको पहिलो बुँदामा भनिएको छ ‘यो संझौता मिति २०८२ साल माघ १ गतेदेखी लागु हुनेछ र संझौताको अवधि ५ वर्ष कायम रहने छ ।’ दोश्रो बुँदामा प्रत्येक महिना १० हजारका दरले साफीको खातामा राखिदिने संझौतामा उल्लेख छ । साथै, सत्यनारायणले कुनै कारणले एमबिबिएस अध्ययन नगरेमा पैसा नदिने सर्त पनि छ ।
विकास भन्छन् ‘सत्यनारायण एउटा सामान्य परिवारको जेहेन्दार विधार्थी हो । उसको एमबिबिएस पढ्ने अठोटमा मैले आफ्नो तर्फबाट सहयोग गरेको हो ।’ मासिकरुपमा पैसा दिँदा त्यो सदुपयोग हुनेहुन्छ र विद्यार्थीलाई आफ्नो अध्ययनमा केन्द्रीत हुन् मन लाग्दछ भनेर नै महिनै पिच्छै दिदैंजाने सोच बनाएको विकास बताउँछन् । सुनचाँदी व्यापारी विकास आफू ४५ बाट ४६ वर्ष प्रवेश गरेको अवसर पारेर साफीलाई सहयोग गर्ने योजना कार्यान्ययनमा ल्याएका हुन् ।

मिडियामा छाएका सत्यनारायण अहिले आफ्नै घर वरियारट्टीमा छन् । भन्छन् ‘अहिले त घरमै आराम गरिराखेको छु । कलेजबाट जानकारी आएपछि दाङ्ग पढ्न जान्छु ।’ साफीको प्रारम्भिक शिक्षा गाउँकै स्कूलमा भएको हो । कक्षा ६ देखी १० सम्म बरियारपुरको श्रीजनता सेकेण्डरी सामुदायिक स्कूलमा पढे । त्यहीँ स्कुलबाट ३ दशमलव ९५ जिपिए ल्याएर एसइई गरेका हुन् उनले । त्यसपछि उनी विराटनगर स्थित अरनिको आवासिय विद्यालयमा भर्ना भए । कक्षा १२ सम्मको अध्ययन विराटनगरमा गरेका हुन् । ‘११ मा अध्ययन गर्दा बुबा वैदेशिक रोजगारीमा हुनुहुन्थ्यो, बुबाले पैसा पठाउनु हुन्थ्यो, त्यसरी कलेज फि तिरेको हो ’ सत्यनारायण भन्छन् ‘१२ मा पुग्दा बुबा वैदेशिक रोजगारीबाट फर्किनु भयो, गाउँकै साहुबाट ७५ हजार ऋण लिएको थियो ।’ बाबु र आफूले समेत ज्याला मजदुरी गरेर, त्यसबेलाको ऋण तिरिसकेको सत्यनारायण बताउँछन् । ३ दशमलव २८ जिपिए ल्याएर १२ कक्षामा उर्तिण गरेपछि उनलाई एमबिबिएसको तयार गर्नु थियो । डाक्टर बन्ने इच्छा सानै देखीको थियो ।
११, १२ मा अध्ययनको क्रममा बिदामा घर आउँदा पनि ज्याला मजदुरीमा जाने गरेको र त्यसबाट आएको पैसा कितावकपी किन्न खर्च गर्ने गरेको उनी बताउँछन् । १२ अध्ययन पछि उनी एमबिबिएसको तयारी कक्षा लिन काठमाडौं आए । काठमाडौंमा धेरै समय टिक्न सकेनन् । डेढ महिना काठमाडौ बसेपछि खर्चको समस्याले सतायो । उनी गाउँ फर्किए , घरमै बसेर पढने योजनासाथ । अनलाइन अर्डर गरेर एमबिबिएस तयारी गर्ने पुस्तकहरु किने को, अनलाइन कक्षाहरु लिएको उनी बताउँछन् । ‘करिव १७ हजारको किताव किनेको छु, किताव किन्यो घरमै पढ्यो’ सत्यनारायण भन्छन् ‘मैले एक वर्ष बढी घर बनाउने लगायतका निर्माणका काममा मजदुरी गरेको छु । बिहान ८ बजेदेखी ६ बजेसम्म काम गर्यो, शरिर गलेको हुन्थ्यो, खानपिन गरेर सुत्यो ।’ पढ्ने कहिले त भन्ने प्रश्नमा सत्यनारायणको जवाफ छ ‘म त राती १२ बजेपछि ३, ४ घण्टा पढ्दथे, त्यसपछि २ घण्टा सुत्यो । दिउँसो काममा जाँदा सधै राती पढ्दथे ।
सत्यनारायणले एमबिबिएस छात्रवृती पाएका छन्, मासिक शुल्क तिर्नु पर्देन । तर, के कस्ता खर्च लाग्दछन्, त्यसको हिसाव किताव राखेका छन् । उनी भन्छन् ‘ होस्टल खर्च मासिक १५ हजार लाग्दछ । ड्रेसका लागि १३ हजार ५सय । जाँच शुल्क वार्षिक ४ वटाको ५२ हजार, कितावका लागि २५ हजार र ल्यापटप १ लाख ।’
कसरी जुट्दै छ त खर्च ? सत्यनारायण भन्छन् ‘लहानको विकास सारदाले मासिक १० हजार, आशिका तामाङ्गले १ लाख दिनु भएको छ , शर्मिला थापा, काठमाडौंले १ लाख ५ हजार दिनु भएको छ । नेशनल लधुविक्त जसको शाखा बरियारपुरमा पनि छ, त्यसको केन्द्रीय कार्यालयले ३ लाख रुपैया दिएको छ । रुटिन अफ नेपाल बन्दले १ लाख दिने आश्वासन दिएको छ, पैसा दिइसकेको छैन ।’
छात्रवृति पाएपछि पनि सत्यनारायणलाई कसरी पढ्ने भन्ने चिन्ता थियो ।स्कुलमा पढाएका शिक्षक विनोद कुमार यादव जो अहिले शिक्षण छोडेर वडा अध्यक्ष बनेका छन् ,उनले मिडिया मार्फत समाजसँग सहयोग माग्ने तरिका सिकाई दिए । भिडियो बनाएर विनोदले सहयोग माग्न सिकाएको उनी बताउँछन् । विनोदले सहयोग मागेको भिडियो स्थानीय अनलाइनबाट प्रसारण भएपछि राष्ट्रिय मिडियाहरुमा चर्चा हुन थालेको र सहयोग जुटिरहेको सत्यनारायण बताउँछन् ।
