मेलमिलाप दिवस: कर्मकाण्डीय श्राद्ध होइन
फुर्सद भए पढौं र सुझाव वा आफूलाई लागेको कुरा खुलस्त कमेन्टमा लेखौं पनि ।
५० वर्षअघि २०३३ सालतिर देशको हालत जस्तो थियो, भू–राजनीतिक रुपमा आज मुलुक त्यही दशामा छ ।
कांग्रेसलाई मूल शत्रू देख्ने राजा र दरबारियाहरुको दमनका कारण बीपी कोइरालालगायत कांग्रेसका नेताहरु निर्वासनमा लखेटिएका थिए । धेरै नेता–कार्यकर्ता जेलका कालकोठरीमा बन्दी बनाइएका थिए । नेपालको छिमेकी सानो हिमाली राज्य सिक्किमलाई इन्दिरा गान्धीले भारतमा विलय गराए । यो निर्णयले सार्वभौमसत्ता नै संकटमा परेको देखेपछि प्रवासमा बसेर प्रजातन्त्रका लागि संघर्षरत बीपीलगायत नेता देशभित्र फर्कने निर्णयमा पुगे ।
राष्ट्रिय मेलमिलापको नीतिसहित बीपी, गणेशमान लगायतका नेता प्रवासबाट नेपाल फर्किए । तर, तत्कालीन राजा र दरबारले बीपीको यो आगमनलाई आफ्नो भाग खोस्न आएका रुपमा बुझ्यो । विमानस्थलबाटै नेताहरुलाई पक्राउ गरी सिधै जेल लगियो । राजसंस्था र प्रजातन्त्रको मिलन गराउने बीपीको दोस्रो प्रयास पनि विफल भयो ।
२०३७ सालको धाँधलीपूर्ण जनमतसंग्रह, २०४६ सालको जनआन्दोलन, २०५८ सालको दरबार हत्याकाण्ड, २०५९–०६२ को राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासन, २०५२–०६२ सम्मको माओवादीको सशस्त्र हिंसा, २०६२/०६३ को अर्को जनआन्दोलनमार्फत् देशबाट राजतन्त्र अन्त्य भयो । देशमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भयो । सामन्ती सोचबाट दीक्षित र शिक्षित दलका नेताले पनि शासनलाई जनमुखी बनाउन सकेनन् ।
दलीय शासनमा दलभित्रकै लोकतन्त्र निम्छरो हुँदा शासन व्यवस्था बिचौलिया वर्गको कब्जामा पुग्यो । भ्रष्टाचार र कुशासनले वाक्क दिक्क भएका युवाको आक्रोशमा सलाई कोरेर २३/२४ भदौ २०८२ मा दर्जनौं युवाको हत्या र देशका ऐतिहासिक धरोहर, सम्पदा, निजी आवास, व्यापारिक प्रतिष्ठानमा विध्वंश मच्चाउन भ्रष्ट राज्यसत्ता र स्वार्थी समूहलाई प्रयोग गरियो । यतिसम्म गरियो कि देश र जनतालाई नागरिक स्वतन्त्रता दिलाउन सम्पूर्ण जीवन दाउमा लगाएका बीपी, गणेशमानका निवासदेखि कृष्णप्रसाद भट्टराईको आश्रमसम्मै जलाइए ।
षड्यन्त्र सिद्धान्तमा खेल्नेहरु भनिरहेका छन्, सुदूरको पश्चिमाशक्तिले उत्तर र दक्षिणको प्रभावलाई चक्मा दिनेगरी विद्रोह भड्काए । जसले जुन षड्यन्त्रको हावा चलाए पनि तीस वर्षयता दलहरुले चलाएको नेता केन्द्रित, परिवारमुखी, भ्रष्ट र बिचौलियावेष्टित कुशासनको नागरिक वान्ता थियो ।
आफ्नै छिमेकमा २४ घण्टाभित्र सुइँको नदिने गरी सत्तापलट गराइएको देख्दा चित खाएका ‘नजिकका मित्रहरु’ स्वयं नै मूर्छाबाट ब्यूझन पानी छर्किने अवस्थामा पुगेको टिप्पणी छ । यद्यपि, पूर्णरुपमा रिक्त बनेको राज्यसत्ता चलाउन ढोडको लौरो नै सही पूर्वप्रधानन्यायाधीशको नेतृत्वमा एक थान सरकार उभ्याइएको छ । तर, यसको अपनत्व कसैले लिँदैन । जेन जी विद्रोहको उपज मानिएको सुशीला सरकारको विहानै दिउँसै राजिनामा माग्न त्यही समूह रातदिन सिंहदरवार, बालुवाटार हुँदै माइतिघर मण्डलमा उत्रँदो छ ।
फागुन २१ का लागि तोकिएको निर्वाचनका लागि गठबन्धनहरु बन्ने र भत्कने क्रममा छन् । समानुपातिक सूचीमा रहेका नामहरु देख्दा नयाँदेखि पुरानासम्म ‘जुन जोगी आएपनि कानै चिरेको’ अवस्थाका छन् । पुरानालाई धारे हात लगाउँदै सत्तोसराप गरेर शक्ति आर्जन गरेकाहरु प्रति प्रारम्भमै मानिस झन् बढी शंकित देखिन थालेका छन् ।
२००७ सालयताका हरेक क्रान्ति, आन्दोलन वा विद्रोहबाट जनताले खोजेको समन्याय, सुशासन, विकास, दण्डहीनताको अन्त्य, विधिको शासन हो । व्यवस्थाको उलट पुलट, शासकको अदली बदली वा संविधानका काला अक्षरहरुमा फेरबदल मात्र थिएन । र होइन । सत्ता चलाउँछु भन्नेहरुका भित्ताका चित्र मात्र होइन, चरित्र पनि परिवर्तन हो । सुशासन दिन्छु भन्नेहरुको वैयक्तिक जीवनमा पनि आम मानिसले पढ्न मिल्ने गरी पारदर्शीताको खोजी हो । अरुलाई औला ठड्याउनेहरुको आचरण अनुशरणयोग्य होस् भन्ने हो । आचारको आवाज ओकल्नेहरु व्यभिचारी नहोउन् भन्ने हो । दण्डहीनताको बखान गर्नेहरु न्यायको कठघरामा समान रुपमा खारिउन् भन्ने हो ।
सुरक्षा निकाय, कर्मचारी प्रशासनदेखि नागरिक तहसम्मको मनोबल २३/२४ भदौको हिंसा र प्रतिहिंसाका कारण त्रसित छ । सुरक्षा अंगको एकातिर अनावश्यक बल प्रयोग अर्कातिर लाचार मूकदर्शक शैली देखेका नागरिक, देशको सार्वभौमसत्ताप्रति मडारिएको सन्निकट संकटका कारण त्रस्त छन् ।
त्यसैले राष्ट्रिय मेलमिलापको चूरो समातौं, देशको अस्तित्वमाथि मडारिएको संकटको सूत्र खोजौं । एकले अर्कालाई शत्रू, दुश्मन देखाएर होइन, मित्रभाव प्रदर्शन गरेर संकट समाधानमा हातेमालो गरौं ।
भवतु सर्व मंगलम् । सबको भलो होस्, सबको कल्याण होस् ।
कुईकेलको फेसबुकबाट साभार
