हृदयतलसम्म बगेर जाने

मूर्छनाको आरोहारोह खोजिरहेछु

एउटा गहन कविता

गीतको मीठो अन्तरा लेख्न

शब्दहरु खोजिरहेछु

मरुमा छट्पटिरहेको एउटा प्रस्तरको टुक्रा

आँगनमा ल्याएर दिनभर छिनोले कुँद्न

र त्यसको कायान्तरण गर्दै

एउटा वाचाल मूर्ति जन्माउन खोजिरहेछु

समय कम छ

सानोमा ठूलो चित्रकार बन्छु भन्ने सपना

रङ्ग र क्यानभास किन्न नसक्नुको हाहाकारले

छुटेको अधूरो अपूरो अनुराग

अब फेरि पूरा गर्न सोच्दैछु

रङ् र ब्रस त किनेर ल्याउँला

हरपल क्षितिजमा तिरोहित भइरहने

दुरुह बिम्बहरुको कोलाज चित्रपटमा उतार्न

समय कम छ

समय कम छ

अक्षत गोरेटाहरुमा एक्लै निरुदेश्य हिँड्न

दूर कतै नियतिले चिथोरेका अनुहारहरु पढ्न

निधारका प्रत्येक धर्साहरुमा लुकेका

रामकहानी सुन्नका लागि

समय कम छ

नसुनाउ आफूलाई सर्वश्रेष्ठ ठान्ने

केही हीनताबोधले ग्रस्त

रुग्ण एवं कुण्ठित परपीडकहरुले

नेपथ्यका अँध्यारा कुनाहरुमा रचेका

अनेक षडयन्त्रका प्रपञ्चहरु

मत्सरीको असुर उन्माद

र छलकपटको क्रुर अट्टहास ।

यहाँ त मेरो समय नै कम छ

केही मनचिन्ते कामहरु गर्न

एकबारको जुनी बाँचिसकेर

आफैंलाई धिक्कार्न नपर्ने

यशका धर्साहरु कोर्न

मनस्वी पाइलाहरु हिँडिरहेछु

समय कम छ ।

© खुमनारायण पौडेल

(बाँकेघर, ललितपुर—१४)


Leave a Reply

Your email address will not be published. Required fields are marked *