विषादीले पानीको रासायनिक संरचना परिवर्तन गर्छन्, माछाको अण्डा फुट्ने दर घट्छ, आन्द्रा र गिल्समा क्षति पुग्छ । माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन् । विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र वृद्धि दुवैमा कमी आउँछ
हेटौँडा, ११ कात्तिक ।
मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्लो वर्षमा माछाको तौलका साथै उत्पादन घट्दै गएको छ । मत्स्यविकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग गरिने रासायनिक विषादी माछाको वृद्धि घट्नुको मुख्य कारण बनेको हो ।
करिब सात किलोमिटर लामो,  ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा केज (पिँजरा) राखेर प्रतिघनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिए । पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा रहेको सङ्घले जनाएको छ ।
मत्स्यविकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको तौल घट्नु गम्भीर विषय भएको बताउँदै यसको वैज्ञानिक अध्ययन सुरु गरिएको जानकारी दिइन । “हालै गरिएको परीक्षणमा पानीमा रासायनिक अंशको मात्रा सामान्यभन्दा माथि पाइएको छ, त्यसैले यसले माछाको वृद्धि दरमा असर पारेको हुनसक्छ”,पौडेल भन्छिन ।
निमित्त प्रमुख पौडेलका अनुसार केन्द्रले हाल सिल्भर कार्प, बिगहेड, कमन कार्प, ग्रास कार्प, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ ।
हरेक वर्ष भदौ महिनाको तेस्रो साता करिब दुई लाख भुरा माछा तालमा छाड्ने गरिएको उनले जानकारी दिइन । पौडेलका अनुसार कुलेखानीको माछा प्रायः स्थानीयस्तरमै खपत हुने भएकाले यसको गुणस्तर जोगाउन तालको पानीको स्वच्छता अत्यावश्यक छ । त्यसैले केन्द्रले विद्यालय र समुदायमा जलाशय संरक्षण र स्वस्थ मत्स्यपालनका तालिम सञ्चालन गर्दै आएको छ ।
विषादीको असर
मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा व्यावसायिक तरकारीखेती तीव्र गतिमा फैलिँदै गएको छ । किसानले उत्पादन बढाउने उद्देश्यले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गर्छन्, जसले पानी र माटोमा दीर्घकालीन असर पु¥याउँछ । प्राकृतिक जलाशय मत्स्य प्रवद्र्धन एवं संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज यादवले विषादीले माछाको प्राकृतिक खाना र शरीरमा क्षति पुग्ने भएकाले उत्पादन र तौलमा कमी आएका बताए ।
“विषादीले पानीको रासायनिक संरचना परिवर्तन गर्छन्, माछाको अण्डा फुट्ने दर घट्छ, आन्द्रा र गिल्समा क्षति पुग्छ”, यादव भन्छन “यदि विषादी मिश्रित पानी आइरहेको छ भने यसलाई नियन्त्रण गर्न जरुरी छ अन्यथा कुलेखानी तालको जैविक विविधता मात्र होइन, स्थानीय खानेपानी र पर्यटन अर्थतन्त्र पनि प्रभावित हुन सक्छ ।”
समाधान : सचेतना
मत्स्यविकास केन्द्र र सङ्घले ताल वरपरका किसानलाई जैविक मल र पर्यावरणमैत्री खेती प्रणाली अपनाउन प्रोत्साहन गर्ने योजना बनाउन जरुरी रहेकामा केन्द्रका प्रमुख यादवले जोड दिए । साथै, तालमा मिसिने पानी शुद्धीकरण गर्ने प्रविधि पोखरी निर्माण भएमा समाधान हुने थापाको सुझाव छ ।
बलामीका अनुसार तरकारीखेतीमा प्रयोग गरिने कीटनाशक र रासायनिक मल बर्सातको समयमा खोलानाला हुँदै तालमा मिसिन्छ । बलामी भन्छन, “यो विषादी मिसिएको पानी तालमा पुग्दा माछाको प्राकृतिक खाना माछाले खाने सुक्ष्म जीवहरू जसलाई प्लाङ्कटन भनिन्छ र सूक्ष्म जीवमा असर पुग्छ, जसले गर्दा माछा पहिले जस्तो गतिमा बढ्दैनन् ।”
विशेषगरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन् । यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा भर पर्छन् । विषादीले ती स्रोतहरू नष्ट गर्दा माछाको तौल र वृद्धि दुवैमा कमी आएको मत्स्य व्यवसायी सङ्घका उपाध्यक्ष बलामीको कथन छ ।
बलामीका  अनुसार सङ्घले हाल ६५० परिवारलाई शेयर सदस्य बनाई माछा उत्पादन, बिक्री र लाभांश बाँडफाँटको व्यवस्था गरेको छ । यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्ने गरेको छ ।
माछा व्यवसायी एवं होटल सञ्चालक पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन बिग्रँदै गएको छ । थापा भन्छन “पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ, माछाको प्राकृतिक खाना घटेकाले पनि तिनीहरूको वृद्धि क्षमता घट्दै गएको हो ।
ताल वरपरका गाउँमा स्थानीय समुदायले माछापालनलाई मुख्य आम्दानीको स्रोत बनाएका छन् । माछा बिक्रीबाट आउने आम्दानीले गाउँको विद्यालय सञ्चालन, सडक मर्मत र सामुदायिक विकासमा ठूलो योगदान पु¥याउँदै आएको छ । माछाको आकार घटेपछि कृषकले अहिले आर्थिक घाटा बेहोर्नुपरेको मगर बताउँछन् ।
कुलेखानी–कलङ्कीका युवा संसार बलामीका अनुसार, तालमा माछा हाल्ने, हेरचाह गर्ने र बिक्री वितरणको काम इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घले गर्छ । सागर भन्छन् ‘तालले गाउँका सयौँ घरलाई रोजगारी दिएको छ, तर माछा साना हुन थालेपछि आम्दानी घटेको छ, जसले गाउँको अर्थतन्त्रमा पनि असर पारेको छ ।” ताल र माछाको कारण पर्यटन प्रव्रद्धन भएको उनको भनाइ छ ।
                                    तरकारीमा विषादीको मात्रा बढ्दो
राँझा (बाँके), ११ कात्तिकः यहाँका किसानद्वारा उत्पादित तरकारीमा विषादीको मात्रा वृद्धि हुँदै गएको छ ।
नेपालगञ्जस्थित केन्द्रीय कृषि प्रयोगशाला, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आर्थिक वर्ष २०८१÷८२ मा नमुना परीक्षण गर्दा १० किसिमका तरकारीमा विषादीको मात्रा अत्यधिक फेला परेको प्रयोगशालाका नायब प्राविधिक सहायक गौरव चौधरीले जानकारी दिए ।
चौधरीका अनुसार कैफियत पाइएका तरकारी बाँके जिल्लाकै उत्पादन हुन् । दश वटामध्ये नौ वटा रायो, माटे र सम्धिनीलगायत सागमा बिषादीको मात्रा धेरै पाइएको छ । एउटा बोडीको नमुनामा विषादीको मात्रा फेला परेको चौधरीले बताए । चैतमा तीन, वैशाखमा पाँच, जेठमा एक र असारमा एउटा नमुनामा बिषादीको मात्रा धेरै देखिएको थियो । दशवटै नमुना परीक्षण गर्दा रेडलेबल (उपभोग गर्न नमिल्ने) पाइएको चौधरी बताउँछन ।
प्रयोगशालामा भारतबाट आयातीत ४१३, सल्यानका २७३, बाँकेका ९६२, चितवनका ७९, सुर्खेतका १२, जुम्लाका एक, बर्दियाका ५३, रोल्पाका ११, दैलेखका दुई, रुपन्देहीका एक र दाङका ७६ नमुना परीक्षण गरिएको प्रयोगशालाका नायब प्राविधिक सहायक चौधरीले जानकारी दिए ।
“तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई ‘ग्रीन लेबल’ (उपभोग गर्न मिल्ने), ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा त्यसलाई ‘यल्लो लेबल’ (चार–पाँच दिनसम्म क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने) र ४५ प्रतिशतभन्दा माथि निषेध प्रतिशत देखिएमा त्यसलाई ‘रेडलेबल’ (उपभोग गर्न नमिल्ने) भनेर कैफियत लेखिन्छ”, चौधरीले भन्छन ।
प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तरकारी तथा फलफूलजन्य वस्तु र भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच हुने गर्दछ । करिब एकदेखि डेढ घण्टाभित्रमा परीक्षण गरिएका नमुनाको नतिजा आउँछ ।
अघिल्लो आर्थिक वर्षमाभन्दा गत आर्थिक वर्षमा तरकारी तथा फलफूलजन्य वस्तुको नमुना बढीमात्रामा परीक्षण भएसँगै विषादी पाइने सङ्ख्यामा पनि वृद्धि भएको छ ।
नेपालगञ्जस्थित विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइमा गत आवमा एक हजार ८८३ वटा विभिन्न तरकारी तथा फलफूलजन्य वस्तुको नमुना परीक्षण हुँदा १० वटा नमुनामा बिषादी धेरै भएको पाइएको हो । त्यसैगरी अघिल्लो आवमा एक हजार ९४ नमुना परीक्षण हुँदा सात वटामा कैफियत पाइएको थियो ।
चौधरी भन्छन “अघिल्लो आवमाभन्दा गत आवमा नमुना परीक्षणको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको छ, परीक्षणको दायरा बढेसँगै कैफियतमा पनि केही वृद्धि भएको हो ।”
प्रयोगशालामा आव २०८०/८१ मा एक हजार ९४ नमुना परीक्षण हुँदा तीन वटा ‘यल्लो’ र चार वटा ‘रेडलेबल’ गरी सात नमुनामा कैफियत पाइएकामा आव २०७९÷८० मा एक हजार ८५ नमुना परीक्षण हुँदा छ वटा यल्लो र १० वटा रेडलेबल गरी १६ नमुनामा कैफियत देखिएको थियो । गत आवमा नमुना परीक्षणको सङ्ख्या वृद्धि भएसँगै कैफियत पाइने सङ्ख्यामा पनि वृद्धि भएको हो ।
नायब प्राविधिक सहायक चौधरीका अनुसार तरकारी तथा फलफूलजन्य वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई वटा विषादी समूहको परीक्षण हुने गर्दछ । नेपालगञ्जबाट विसं २०७९ मङ्सिरदेखि तरकारी तथा फलफूलजन्य वस्तुको विषादी नमुना परीक्षण सुरु गरिएको हो ।
सम्पादीत राससको समाचार, तस्बिरहरु: राससबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *