कविता: घण्टीको भाषा
मस्त निन्द्रामा
टिङ्-टिङ् धण्टीको आवाज अउँछ
घण्टीको आवाजले ब्यूँझिएँ,
सँगै सपनाबाट पनि
देउँसै अँध्यारो भएको जस्तो छ जताततै,
मन्दिरमा भक्त
टिङ्- टिङ् धण्टी बजाइ रहेका
पण्डितहरू भट्भटाइरहेका
बुझ्नै नसक्ने गरी
पूरा नै नहुने पण्डितका आशिषहरू
निर्धा भक्तमाथि खन्याईरहेका छन्
कहिले जापान त कहिले स्वीजरल्याण्ड बनाउने
सपना बाँडिरहेका छन् ।।
मोबाइल र फोनमा फेरि घण्टी बज्छ
बिदेशमा बेचिएकाहातबाट थिचिएर
अनागरिक भएर पसिना पुछेका हातबाट
पीडाका आवाज बोकेर ।।
आफ्नै घरमा बजेको घण्टीले पनि,
चस्स चस्स मनमा काँडालेे घोचेको जस्तो लाग्छ,
अनि सोच्छु , आफैँ सँग
किन जन्मिए नेपालमा ?
जहाँ जन्म त्यहीँ कर्म किन हुन्न ?
पुस्तौनिको गरिबी किन ?
गणतन्त्र पनि सत्रबर्षे लक्का जवान भईसक्यो
लुट र झूटले सगरमाथाको उचाइ नाग्यो ।
घण्टी बज्छ,
आमा,
स्वर्गजस्तो देश नर्क समान भयो ,
तपाईँका सन्तान किन बिदेशमा बेचिए ?
राष्ट्रियता खै ?
त्यसैले,
मन्दिरमा मात्र बज्ने घण्टी
गाउँ घरमा समेत बज्न थाले,
अब,
मन्दिरका पण्डितहरू पनि सुधारिनु पर्छ ,
अनि,
घण्टीको भाषा बुझ्नुपर्छ ।
समाप्त
(समय समाज राष्ट्रिय साप्ताहिकमा मंसिर१२,२०७९ सोमबार प्रकाशित)
