आम नागरिक र समाज रचनात्मक रुपले क्रमस रुपान्तरित हुदैँ जान स्वयम रास्वपाको नेतृत्वको मन र आत्मामा नकारात्मक हैन, सकारात्मक भावनाहरु हावी हुनु पर्दछ । आसा गरौं, व्यक्ति र समाज नकारात्मकताबाट सकारात्मकता तर्फ लाग्ने छ ।

अघिल्लो लेखमा उल्लेख भएकै कुरा हो व्यक्ति वा समाजमा नकारात्मक भावनाहरू प्रायः एक्लै उत्पन्न हुँदैनन्, एउटा नकारात्मक भावनाले अर्को नकारात्मक भावनालाई जन्म दिदैं नकारात्मक मनोभावनाको लामो शृङ्खला सिर्जना गर्छ र अन्त्यमा व्यक्तिको निरासा, घृणा र प्रतिशोध आम जनताको भावनामा बिस्तार हुन्छ र बिष्फोटक रुप लिन्छ । यसपालीको चुनावमा त्यही भयो । पुराना शक्तिहरु खुम्चिए । नयाँ शक्तिको उदय भयो । पुरानाले गरेका गल्तिहरुले जनतामा छाएको नकारात्मक भावनाहरूको बिष्फोटले परिवर्तन त आयो तर के अब शासनसत्ता चलाउन पनि तिनै घृणा जस्ता नकारात्मक भावनाले नै काम गर्लान रु  वा बिल्कुल गर्दैनन् । त्यसो भए अब यो चुनावको परिणाम पछि के होला ? देश कता जाला । फेरी पनि घृणा र प्रतिशोधले देशलाई मुडभेड र द्धन्द तर्फ लाने हो कि आशा, भरोशा, राहत, समुन्नती शान्ती र शुव्यवस्था तर्फ लाने हो । म लगायत धेरैलाई कौतुहलको बिषय भएको छ । यो लेखमा यही कौतुहलता मेटाउने प्रयास गरिएको छ ।

दिगो शान्ती र सुव्यवस्थाकालागी जनता र नेता गणहरुमा सकारात्मक उर्जा चाहिन्छ । तलका हरफहरुमा नेपाली जनताहरुको आशा र भरोशा अन्त्यमा गएर सम्वृद्धि , समुन्नती र दिगो शान्तीसम्मको यात्रा कसरी अगाडी बढ्ला भन्ने बिषयमा चर्चा गरिने छ।

जसरि समाजमा एउटा नकारात्मक भावनाले अर्को नकारात्मक भावनालाई जन्म दिन्छ, त्यसैगरी एउटा सकारात्मक भावनाले अर्को सकारात्मक भावनालाई जन्म दिँदै सृजनात्मक मनोभावनाको लामो शृङ्खला सिर्जना गर्नसक्छ । जब मानिसमा पलाएको आशाले (hope) अब केहि नयाँ कुरा होला भन्ने सकारात्मक उर्जा उत्पादन गर्न थाल्छ, उसमा राजनैतिक वा सामाजिक वा प्रविधि सम्बन्धि थप रुचि र जिज्ञासा (Interest) र (Curiosity) पैदा हुँदै जान्छ। त्यसपछि आफ्नो मनको भावना मिल्ने नेता वा साथीहरूको विचार प्रति सहानुभूतिको भावना (Empathy) पनि बढ्दै जान्छ। उदाहरणको लागि हेरौ ।

पहिला मन्जुल र रामेशले गाउँने गित जस्तै बालेनले र्यापर भएर गाएका गितहरु समाजमा भएका शोषण, दमन, उत्पीडन र राजनीतिमा देखिएका गलत प्रवृत्तिहरुबारे जनतालाई जागरुक गराउने खालका थिए । ति गितहरुले युवाहरुको मनमा आक्रोस मात्र नभएर परिवर्तनप्रतिको चाहाना (Desire)  केहि गर्ने हुटहुटी मात्र दिएन, गाना सुन्दा जोस, आनन्द र खुशी (Pleasure) र (happiness) समेत दियो र र्यापरको रुपमा उदाएका बालेन काठमाण्डूको मेयर भएपछि छोटो समयमै धेरै युवाहरुकालागि आशाको केन्द्र बन्दै गए । त्यसले स्वाभाविक रूपमा उनी प्रति जनमानसको सम्मान, प्रेम र स्नेहको भावना (love) र (Affection) समेत क्रमसः बढ्दै गयो र यही भावनाले कतिपयले उनी प्रतिको आत्मीयता (Warmth) बढाए । सामाजिक संजालमा उनका फलोअर बढ्दै गए । पछिल्लो समयमा आएर कत्तिले उनलाई मेयरमा भोट दिएर कृतज्ञताको भाव (Appreciation) व्यक्त गरे । उनले गरेका राम्रा कामहरु प्रति आभारी (Greatful) भए । काठमान्डू बासिहरुले आफ्नो भोट खेर नगएको बरु गौरवको (Pride) अनुभूति भएको महसुस गरे। काठमाण्डू, काठमाण्डू बाहिर र विदेशसम्म पनि बालेनको प्रशंसा हुन थाल्यो ।

परिणामस्वरूप, नेपालीको मनमा राजनीति फोहोरी खेल हो भन्ने नकारात्मक भाव बदलिएर सकारात्मक हुन थाल्यो। पढे लेखेका युवाहरुको ठुलो हिस्सा राजनीतिमा चाख लिन मात्र हैन, नेतृत्वमै आउन तयार भए। ओलीलाई बिस्थापित गरि झापा ५ बाटै प्रतिनिधिसभामा चुनाव जितेर आउने उनको हिम्मत देखेर त मानिसहरु आश्चर्यचकितमात्र भएनन्, आत्मविश्वासका साथ (Confident) युवाहरुको ठुलो पङ्ती उनको पक्षमा खुलेर मत माग्ननै हिडे । उनका सहयोगीहरुको व्यक्तिगत आत्मविश्वास छोटो समयमै पुरै देशभरी बिस्तारित भएर गयो । प्रविधि र सामाजिक संजालले उनलाई पुरै साथ दिए ।

आम जनसमुदायमा बालेन प्रति क्रेज मात्र हैन, माया, करुणा, विश्वास, धैर्यता र सहानुभूतिको भावना (Trust)  बढ्दै गयो।  उनी प्रतिको सकारात्मक भावनाले मानिसहरुको मनमा यति धेरै जरा गाड्यो कि कोही कसैले बालेनबारे गरेका नकारात्मक टिप्पणी प्रति समर्थकहरुले विश्वास गर्ने छाडे । उनले झन्डैझन्डै देवत्व नै पाए जस्तो भयो । यति मात्र होइन  कतिपयले त नेपालीकोलागि एकमात्र विश्वासगर्न लायक पात्र (Trust) र रुपान्तरणको (Transformation) प्रतिकको रुपमा महानायक फेला परेको अनुभूति समेत गर्न थाले । यतिसम्म पनि भयो कि जसरी पुराना पार्टी, नेताहरु र उनीहरुका समर्थकहरुले अन्धभक्त भएर एकोहोरोरुपमा पुराना नेता र पार्टीको विकल्प छैन भन्दै क्रिटिकल थिन्किंगलाइ आफ्नो मानसपटलमा आउनै नदिएर नेतागण र पुराना पार्टीहरुको यो हविगत गराउनु भयो, कतै बालेनका समर्थकहरुले पनि यो गल्ति त दोहोर्याउनु हुन्न, भन्ने सम्मका टिप्पणी पनि हुन् थाले। तर जनमानस बालेनको पक्षमा उर्लियो र चुनावको परिणाम संसारलाई नै आश्चर्य चकित बनाउने खालको आयो ।

जनमानसको मनमा पलाएको आशा, विश्वास र भविष्य प्रतिको भरोसा बालेन, रवि र स्वर्णिम स्वयंमा कति छ होला ?  मनोवैज्ञानिकहरुकोलागि यो अनुसन्धानको बिषय होला ।  यदि यस्ता नकारात्मक भावनाहरु उनीहरुको मन मष्तिस्कमा हावी छन् भने त्यस्ता भावनाले पुराना नेताहरुको जस्तै बालेनहरुको अमुल्य समयको ठुलो हिस्सा र उर्जा खपत गराउनेछ ।

यो लेख लेख्ने सन्दर्भमा मैले एकजना मित्रलाइ सोधे, बालेन प्रति यो किसिमको क्रेज कसरी सम्भव भयो होला ?  मेरा मित्रले भन्दै हुनुहुन्थ्यो ‘नेपाली समाजले आफुलाइ विश्वास लागेपछि क्रिटिकल थिन्किंग गर्नुपर्छ भन्ने मान्यता नै राख्दैन ।’ कृष्ण भगवानले गोपिनीहरुलाई गरेको दुर्व्यवहार होस् वा महादेव शिबले नग्न शरिर लिएर भांग धतुरो खाएर गरेका हर्कत हुन् यी नेपाली समाजकालागि महानायकले गर्न पाउने स्वभाविक कुरामा पर्छन। बालेनको हकमा पनि चुनावको बेला यहि भयो । के बालेन र उनका समर्थकहरुले पुराना नेताहरुप्रतिको घृणा र प्रतिशोध मनमा राखेर सकारात्मक मनोभावनाको लामो शृङ्खला सिर्जना गर्नसक्छन ? सक्दैनन् ? एउटा नकारात्मक भावनाले लामो नकारात्मक शृङ्खला सिर्जना गर्छ । यसले बालेन र बालेनका समर्थकहरुलाई पिरोली रहनसक्छ । त्यस्तै गरि, एउटा सकारात्मक भावनाले पनि लामो सकारात्मक शृङ्खला सिर्जना गर्नसक्छ । यसले बालेन र बालेनका समर्थकहरुलाई आशाका दियोहरु बाल्न मद्त दिनसक्छ ।

बालेन र बालेनका समर्थकहरुमा शंका हैन, क्रिटिकल थिन्किंग, प्रतिसोध हैन, गल्तीबाट सिक्ने सकारात्मक सोच पलाउनु पर्छ । गल्ति कमजोरीबाट पाठ सिक्न क्रिटिकल थिन्किंग भएका मानिसहरुको कुरा सुन्नु र पढ्नु पर्ने हुन्छ । यो किन पनि जरुरि छ भने लोकतान्त्रिक व्यवस्थामा प्रतिबद्ध र क्रिटिकल थिन्किंग भएका गगन जस्ता व्यक्तित्वहरु ५ बर्षसम्म संसदमा हुने छैनन् जो परिवर्तनको बिरोधि नभएर खबरदारी गर्ने रचनात्मक प्रतिपक्ष हुने थिए । यसको खाँचो महसुस हुने छ ।

अर्को कुरा, जनमानसको मनमा पलाएको आशा, विश्वास र भविष्य प्रतिको भरोसा बालेन, रवि र स्वर्णिम स्वयंमा कति छ होला ?  मनोवैज्ञानिकहरुकोलागि यो अनुसन्धानको बिषय होला । कि उनीहरुको मनमा पुरानो नेताहरुमा भए झैँ रिस, द्वेष, डर, घृणा,  अहंकार र प्रतिशोध हावी छ। यदि यस्ता नकारात्मक भावनाहरु उनीहरुको मन मष्तिस्कमा हावी छन् भने त्यस्ता भावनाले पुराना नेताहरुको जस्तै बालेनहरुको अमुल्य समयको ठुलो हिस्सा र उर्जा खपत गराउनेछ । क्रोध,  रिस, डर, त्रास, भय, आक्रोस, चिन्ता, तनाव, अपराधवोध, ईर्ष्या, डाहले अन्त्यमा घृणा र प्रतिशोध जस्ता नकारात्मक भावनाहरु पुनः शृङ्खलामा एकपछि अर्को गरि उब्जिने छन् । ओली, प्रचण्ड, माधव, झलनाथ, वामदेव, भिम रावल, घनश्याम र विध्या मात्र नभएर देउवा, शेखर, रामचन्द्र अनि उपेन्द्र, महन्थ, राजेन्द्र र सिके, रेशम र रन्जिता, कमल थापा र राजेन्द्र लिङ्गदेन सबै नकारात्मक भावनाका सिकार भएका थिए । उनीहरुको धेरै उर्जा झगडा मै खर्च भएको थियो ।

यसबाट रास्वपाले पाठ सिक्नै पर्छ । घृणा र प्रतिशोध जस्ता नकारात्मक भावनाले सकारात्मक भावनाहरू मनमा आउन र सृजनसिल हुन बाधा गर्ने छन् । जसलेगर्दा समाजमा क्रमशः पुन नकारात्मक भावको प्रवाह हुनथाल्छ । सकारात्मक भावनाहरू फैलिन कठिन हुनसक्छ । आम नागरिकहरु रास्वपाका अन्धभक्त र विरोधी भै दुई कित्तामा उभिने छन् । यसो भएमा नयाँ विचार, आत्मविश्वास र परिवर्तनप्रतिको चाहाना सफल हुन कठिन हुने छ। विरोधीहरुले काममा बाधा पार्ने छन् । चुनावले ल्याएको परिवर्तनले जनमानसको मानसपटलमा सकारात्मक सोचको बिजारोपण गरेको यो बेलामा फेरी पनि निरासा, घृणा र प्रतिशोधको भावना आउने काम बालेन र रविले कदापि गर्नु हुदैन ।बालेन र रविकोबीचमा फुट र दरार ल्याउने गरि कसैले खेल्नु पनि नेपालीको हितमा हुने छैन । आम नागरिक र समाज रचनात्मक रुपले क्रमस रुपान्तरित हुदैँ जान स्वयम रास्वपाको नेतृत्वको मन र आत्मामा नकारात्मक हैन, सकारात्मक भावनाहरु हावी हुनु पर्दछ । आसा गरौं, व्यक्ति र समाज नकारात्मकताबाट सकारात्मकता तर्फ लाग्ने छ । नेपाल र नेपालीहरुको जीवनमा रुपान्तरण आउने छ । देशमा मारपिट हैन शान्ती (Peace) छाउने छ । राहतको (Relief) महसुस हुने छ । घुसखोरीतन्त्रको अन्त्य हुने छ । देशमा समुन्नति ल्याउन बालेन, रवि र स्वर्णिमहरुको नेतृत्वलाई सफलता प्राप्त होस् । शुभ कामना छ ।

डा. भरत कुमार पोखरेल, विकास, विज्ञान र सुशासन बिषयमा कलम चलाउँछन् ।