नेपाली समाज सहिष्णुता, सहकार्य, सहयोग र संयमता भन्दा पुन मुढभेड, उत्तेजना, अराजक र द्वन्द तर्फ उन्मुख भएको देखिन्छ । नेपाली समाजको विकास क्रमकोलागि यो अत्यन्तै डरलाग्दो संकेत हो ।

मेरो एकजना मित्रले सोध्नु भयो— यसपालिको तिम्रो मत कस्लाई जादै छ होउ साथी ? मैले भने युवाहरुको माग अनुसार भ्रस्टाचार र कुशासन बिरोधि काम गरेको व्यक्तिलाई । साथीले फेरी सोध्नु भयो – नेपालमा त्यस्तो व्यक्ति कोहि होला र ? कथंकदाचित कोहि भएपनि के त्यस्तो व्यक्ति यो चुनावमा उठेको होला र ? त्यस्ता व्यक्तिले पार्टीको टिकट पाएका होलान र ? त्यस्ता इमान्दारी र सदाचारी व्यक्ति राजनीतिमा लाग्छन र ? सेवा गर्न कोहि राजनीतिमा आउँछ र ? राजनीति मा त सेवा हैन मेवा खान पो आउने हुन् त । धन कमाउन र भ्रस्टाचार गर्न आउने हुन क्या । शासनसत्तामा बसेर शक्तिको दुरुपयोग र कुशासन चलाउन आउने हुन । त्यतिपनि बुझेको छैनस तैले ? उसको भनाइ र हेराइमा आक्रोस्र र निराशा देखिन्थ्यो ।
मैले भने — होलान नि कोहि कोहि त । त्यसैलाई दिने हो ? भ्रस्टाचार र कुशासन बिरोधि काम गरेको व्यक्ति पाइन भने भ्रस्टाचार र कुशासनमा नडुबेकोलाइ दिन्छु । साथीले फेरी सोध्नु भो – नेपालको राजनीतिमा पैसा खर्च गरिगरि मान्छेहरु राजनीतिमा आउन किन लालायित हुन्छन ? कर्मचारीसंग मिलेर भ्रस्टाचार गर्न त हो नि । नेपालमा त्यस्तो कोहि व्यक्ति होला जसले भ्रस्टाचार नगरेको होस् । के नकारात्मक प्रश्नमात्र गरेको हौँ साथी ? मैले भने —कसलाई र कुन पार्टीलाइ के हेरेर भोट दिन्छौं भनेर सोधन । तिम्रो प्रश्नमै आक्रोस्र र निराशा भएपछि उत्तर कस्तो आउला भन्ने ठानेका छौ ?
साथीको बुझाइमा भ्रस्टाचार र कुशासन भनेको केवल नेतागणसँग मात्र सम्बन्धित बिषय हो भन्ने रहेछ । मैले भने त्यो बिल्कुल होइन । यो त सम्पूर्ण नागरिकसंग सम्बंधित कुरा हो । “जस्ता जस्ता नागरिक, तेस्ता तेस्ता नै हुन्छन नि नेता, होइन र ? मैले सोधे ।
उहाँ हल्का झोक्किनु भो । झर्केर पुन प्रश्न गर्नु भो । नागरिक कहिँ भ्रस्टाचारी हुन्छन ? मैले भने —हामी नागरिक जस्ता छौं, नेता तेस्तै हुने त हुन् नि । नेता नि नागरिक नै त हो नि, हैन र ?
हाम्रो नियत कस्तो छ, नियम, कानुन, संविधान कति पालना गर्ने गरेका  छौ ? र ,गर्छो । घर समाजमा विध्यमान लैंगिक, जातीय र वर्गीय विभेद प्रति हाम्रो घरको संस्कार, व्यक्तिगत धारणा, प्रवृति , स्वभाव र व्यबहार कस्तो छ ? तेही अनुसार हामीले नेता र पार्टी छान्ने त हो नि, हैन र ?

६४ सालमा हामीले कसलाई के सोचेर छानेका थियौं ? अहिले सामाजिक संजालमा कसलाई किन धेरै मन पराइरहेका छौं ? बहुदलीयकालमा माओवादीको १० वर्षको उदण्डता, आवेग र विध्वंस र भदौको युवाहरुको लोकतान्त्रिक आन्दोलनमा घुसपेठियाहरुको सुनियोजित विध्वंसलाइ हामीले किन स्वभाविक र आवश्यक ठान्दै छौं र पुरस्कृत गर्न उद्यत छौं ? तर गगन र विश्वले गरेको आन्तरिक पार्टीको लोकतान्त्रिकरण र देउवासंगको बिद्रोहलाइ किन मुक्तकण्ठले समर्थन गर्न सकिरहेका छैनौं ? यसबाट के प्रस्ट हुन्छ भने नेपाली मतदाताहरु अझैपनि लोकतान्त्रिक भन्दा अलोकतान्त्रिक तरिका मन पराउछन । सामाजिक संजाल, टिभी र रेडियोका नकारात्मक उत्ताउला अन्तर्वार्ता हेर्न र त्यसबाट प्रभावित हुन रुचाउँछन् । भूपिले भनेझैं वास्तविकता पत्ता लगाउनु भन्दा हल्लाको पछाडी तुरुन्तै लागि हाल्छन् । जताजता भिड देख्यो तेसैको समर्थन गरि हाल्छ्न् ।

झन्डै दुइ तिहाइ मत पाएर पनि सत्ता चलाउन र टिकाउन नसक्ने झगडालु वामपन्थीहरुको तल्लो तहको गालिगलौज , अस्वस्थ शक्ति संघर्ष र फुटलाई त यो चुनावले सबक सिकाउने कुरा बुझ्न गारो छैन तर ६४ सालको माओवादी प्रतिको क्रेज र यसपालिको सामाजिक संजालमा घुसपेठियाहरुको बुस्टरको इमेज हेर्दा यस्तो लाग्छ नेपाली समाजको मनोविज्ञान आध्यात्मिकताबाट धेरै टाढा भाग्दै छ । विवेक, करुणा, दया, माया, प्रेम र परोपकार भन्दा उदण्डता, आवेग, विध्वंस, गाली, इर्श्या, द्वेष, रिश, राग, इख र बदलाको भावनालाइ मलजल गर्दै पुरस्कृत गर्न उद्धत छ । यसरि हेर्दा भदौको युवाहरुको आन्दोलनका दुइ माग  भ्रस्टाचार र कुसासनको अन्त्यको लागि नागरिक तहबाट के हामी मतदाता नागरिक तयार छौं ? किनभने “जैसा नागरिक वैसा नेता”, “जैसा कार्यकर्ता वैसा पार्टी” त हो नि, नागरिक र कार्यकर्ता एक किसिमका, अनि नेतागण चाहि अर्को किसिमका हुने कुरा त सम्भव नै छैन नि , मैले भने।

सोसिअल र प्रिन्ट मिडिया हेर्दा, पढ्दा र सुन्दा यस्तो लाग्छ — हामी आम नेपालीसंग सकारात्मक भन्दा नकारात्मक मनोभावना धेरै छ । नियत खराब छ । अहंकारी स्वभाव छ । घमण्डी व्यवहार छ । नियम र कानुन नमान्ने प्रवृति हावी छ । घरमा होस् वा छर छिमेकमा गुनिलो भन्दा रुखो ब्यवहार गर्ने बानि परि सकेको छ। असल शासनका लागि चाहिने लोकतान्त्रिक विचार भएको व्यक्ति वा पार्टी छान्नु भन्दा अलोकतान्त्रिक विचार  र आचरण भएको व्यक्ति र पार्टी मन पर्न थालेको अनुभूति हुन्छ । नेपाली समाज सहिष्णुता सहकार्य, सहयोग र संयमता भन्दा पुन मुढभेड, उत्तेजना, अराजक र द्वन्द तर्फ उन्मुख भएको देखिन्छ । नेपाली समाजको विकास क्रमकोलागि यो अत्यन्तै डरलाग्दो संकेत हो ।

दुनियादारी, भिड, सोसियल मिडिया , रेडियो, टिभीले जेजस्तो प्रचार वा कुप्रचार गरुन  म चाहिं जे कुरामा विश्वास राख्छु र मेरो व्यक्तित्व जस्तो छ , विश्वास जे मा छ त्यस्तै व्यक्तित्व भएको उमेदवार, नेता र पार्टीलाई भोट दिन्छु । भ्रस्टाचार र कुशासन बिरोधि काम गरेको व्यक्ति हेर्छु। भ्रस्टाचार नगरेको, पछि पनि गर्दिन भन्ने बाचा गरेको, साधा जीवनशैली अगालेको, असल नियत भएको, नियमको अक्षरस पालना गर्छु भन्ने कसम खाएको, राजनैतिक र सामाजिक हिसाबले संस्कारी, परोपकारी र गुणकारी स्वभाव भएको, मानवतावादी प्रवृति र व्यबहार भएको व्यक्ति चिनेर भोट हाल्छु । मैले भने —त्यस्तो परोपकारी कार्यकर्ताको जामात भएको पार्टीलाई मत दिन्छु ।

जिम्मेवारी पाएको बखत गलत तरिकाले आफ्नो फाइदाकालागि घुस लिने नियत राखेको, घुस लिएको वा सार्वजनिक सम्पतिको दुरुपयोग गरेको, पार्टी, परिवार चिनेका साथिभाइ दिदी बहिनिहरुलाइ गुन तिर्ने नाममा नातावाद, कृपावाद र पक्षपात गर्ने गरेको, ठगी र अपराधि क्रियाकलापमा दोषी ठहर भएको, साथि संगी इस्टमित्रलाई धोका दिएको, जर्बजस्ती चन्दा असुली गर्न बानि परेको, कमिसन खान पल्किएको तथा स्वार्थ बाझिने काम गरेको उमेदवारलाई चिनेकै भरमा म कुनैपनि हालतमा भोट दिन्न, बुझेउ साथी ।

त्यतिमात्र कहाँ हो र, काम छिटो गराइदिने नाममा भनसुन गरिदिने, नियमले नमिल्ने गलत काम मिलाइदिने, अनुचित लाभ गराइदिने, आफुले गरेको गल्ति बापत पाउने सजाय टार्न राजनीतिमा प्रवेश गरेको उमेदवारलाई पनि म मेरो मत दिन्न । सरकारी होस् वा गैरसरकारी वा व्यक्तिको पैसा हिनामिना गरेको, सरकारी वा कम्पनीको श्रोत साधन व्यक्तिगत काममा प्रयोग गरेको, सरकारी विकासको बजेट खर्च गरेर गरेको काम व्यक्तिगत रुपमा दान दातब्य गरेको जस्तो गरि प्रचार गर्ने गरेको र जनतालाई भुलभुलैयामा पारि सेलिब्रिटी जस्तो पपुलिस्ट उमेदवारलाई पनि मेरो मत जादैन ।

योग्यता नभएका तर आफन्त, साथी वा राजनीतिक समर्थकलाई पैसा कम्मिने अस्थाई वा करार जागिर दिएको वा ठेक्का पट्टा मिलाई दिएको, ठेक्का योग्य काममा राम्रो ट्रयाक रेकर्ड भएको कम्पनीलाई काम नदिइ चिनजानका आधारमा, राजनीतिक वा नाताका आधारमा वा पहुँच भएका व्यक्तिलाई फाइदा गराएको नेतालाई पनि मेरो मत जादैन ।
बिगतमा जर्बजस्ती चन्दा असुली गरेको, मिटर ब्याजी साहु भएको, सहकारी र बैंक ठगि गरेको, मन्त्रि वा पत्रकार वा कर्मचारी भएका बखत उद्योगी ब्यबसायीलाई धम्की, दबाव र बल प्रयोग गरि गरि मुद्धा लगाइदिएको, दुख दिएको, व्यक्तिगत फाइदाका लागि पैसा र अनुचित लाभ लिएको उमेद्वारलाई त मेरो मात्र हैन धेरैको मत जानु हुदैन भन्छु म त ।
त्यति मात्र हैन आफ्नो मुद्दा मिलाउनका खातिर जनतालाई भुल्भुलैयामा पारि ठुला ठुला कुरा गर्दै राजनीतिमा प्रवेश गरेको र जनमतको नाममा श्क्तिको बाँडफाँडको नाममा संवेदनसिल मन्त्रालयमा आइ प्रहरी, प्रसासन, अड्डा अदालत, राजनैतिक दलहरुलाइ प्रभावमा पारेको, अपराधिक क्रियाकलापलाई राजनीतिकरण गरेको, गुप्तरूपमा अपराधिक रेकर्ड भएको, व्यबसायिक पार्टनर लुकाएको, ओहोदामा बसेका बेला स्वार्थ बाझिने काम गरि निर्णयमा प्रभाव पारेको, आफू, आफ्नो पार्टी र आफन्तलाइ लाभ हुने निर्णयमा आफ्नो संलग्नता गराएको व्यक्तिलाइ त मेरो मत जाने कुरै भएन साथी ।
मैले थपे – त्यतिमात्र कहा हो र, आफूले सेवा दिनुपर्ने गरिब तथा निमुखा सुकुम्बासी र सर्वसाधारण नागरिकको हित भन्दा प्रचार मुखी काममा केद्रित भएको, आफ्नो अधिकार र शक्ति भएका बखत मानवीय र पदीय कर्तव्यको पालना नगरेको, जनता प्रतिको जबाफदेहिता र जिम्मेवारी वोध नगरेको, आफु केन्द्रित मात्र भै आफू सरह, वरपरका छर छिमेक र नागरिक प्रति जवाफदेहि नहुने सामन्ती संस्कार भएको व्यक्तिलाइै त मेरो मत जाने कुरै भएन।

त्यस्तो व्यक्ति र पार्टी जोसँग माथि उलेखित गुण र आचरण होइन जसले लोकतन्त्र, व्यक्तिगत सम्पतिको सुरक्षा, स्वतन्त्रता, मानवअधिकार, मानवता र सम्पूर्ण मानव जातिको कल्याणमा आध्यात्मिक चिन्तन, विज्ञान र प्रविधिको सन्तुलित समायोजन र विकासका लागि नेतृत्व प्रदान गर्न सकोस् । मेरो भोट त्यसैलाई ।

सवै खाले विचार, सबै वर्ग, जाती, लिङ्ग, अपाङ्गता भएका व्यक्ति, जेष्ठ नागरिक, बालबालिका, एकल महिला, जोखिम परेका गरिब र साना खुद्रा ब्यापार गरि जीवन निर्वाहा गर्ने व्यक्ति र क्षेत्रको आवाज र विचार ग्रहण गर्नसक्ने क्षमता नभएको, अरुको कुरालाई आत्मसात गर्न नसक्ने एकलकाटे, कम भावनात्मक, न्युन अध्ययनशिल र चिन्तनशिल, रिसाहा, कपटी स्वभावको, अरुको अनुभवबाट सिक्ने र विश्लेषण गर्ने संस्कार र संस्कृति नभएको, अरुको भावना सुन्न र ग्रहण गर्न नसक्ने, नागरिकको तहमा सार्वजनिक सुनुवाइ मार्फत कुरा राख्न र सुन्न नसक्ने, बहुदलीय व्यवस्था र संघियताको कारणले भए गरिएका राम्रा र सफल अनुभवलाइ नजर अन्दाज गर्ने, नीति नियम कडा बनाएर, प्रहरी, प्रशासन, डर, धाक, धम्कि, डोजर, क्रेन जे जस्तो अमानवीय तरिकाले भएपनि विकासको नाममा मानव अधिकारको उलंघन गर्ने नेता पनि मेरो भोटको लागि योग्य हुदैन ।

त्यसैगरी, आफ्नो देशको केद्रीय बैंकमा भएको खरबौं रकम खर्च गर्ननसक्ने, बर्षेनी बजेट ल्याप्स गराउने, निजि उधोगी, ब्यापारी, उद्यमी नवप्रबर्धनकारी युवाहरुलाई सरल र सहज हुने कानुनसम्म ल्याउन नसक्ने, भएका कानुनलाइ कर्मचारीतन्त्रको चंगुलवाट निकाल्न नसक्ने तर साना तिना झिना मसिना परियोजना र एम्बुलेन्स गाडी, राँगो, बहर, बिउबिजन, जस्तापाता जस्तो ससाना कुराका लागि पनि विदेशीको सहयोग लिन न हिच्किचाउने नेता कार्यकर्ता उमेदवार पनि मेरो मतको लागि अयोग्य हुने छन् ।

मैले थपे – छिमेकि र आर्थिक रुपले सम्पन्न वैदेशिक मुलुकहरुसँग सुमधुर सम्बन्ध बनाएर लगानी र ब्यापार बढाउने, उद्योगमा संयुक्त लगानी गरेर रोजगारीका अवसर बढाउनुको साटो सधै विदेसिसँग पौठेजोरी खेल्न लालायित हुने र खोक्रो रास्ट्रवादले झन् वैदेशिक हस्तक्षेपको खतरा निम्त्याउने नेतालाइ पनि यो पालि मेरो मत जादैन । आफ्ना सिमित मान्छेकोमात्र कुरा सुन्ने, आफैले बनाएका नियम आफै मिच्न पछि नपर्ने, सरकारी वजेट वाँडफाँडमा आफ्नो निर्वाचन क्षेत्रलाइ उपरी माथि थुपारी बजेट पार्ने पक्षपाती प्रवृत्ति अपनाउने ब्यक्ति पनि मेरो रोजाइमा पर्दैन । विगतमा भएका गल्ती कमजोरीवाट आफूलाई नसच्याइ पटक पटक एउटै किसिमको गल्ती दोहोयाइरहने नेताले पनि मेरो मत पाउने छैनन्।

अन्त्यमा, मिडियाकर्मी हुदाका बखत सकारात्मक र राम्रा कामको प्रशंसा गरि त्यसलाई देश विदेस र अन्यत्र फैल्याउने र नागरिकहरुमा सकारात्मक उर्जा प्रवाह गर्नुको बदला एकोहोरोरुपमा सासन सत्ता र नेताबारे नकारात्मक संदेश प्रवाह गर्ने, नेतृत्वलाई सत्तोसराप गर्ने, खुइल्याउने, सफल व्यबसायी, उद्योगी, ब्यापारीहरुलाई प्रोत्साहित गरि रोजगारी सृजनामा प्रेरित गर्ने कार्यमा लाग्नुको साटो व्यापारीको बदनाम गर्ने, ब्लाकमेलिंग गर्ने, बिग्रिएका भत्किएका काम भनि नक्कली भ्रम युक्त समाचार प्रबाह गरि नकारात्मक विचारको राजदुत जस्तो भै मेडियालाई राजनीतिमा आउने भर्याङ्ग बनाएका उमेदवारलाई पनि मेरो मत जाने छैन ।

मेरो मित्रलाई घत परेछ क्यारे मेरो लामो फेहरिस्त सहितको कुरा , उहाँले चुपचाप सुनी रहनु भयो र भन्नु भयो — अब भन त यसपालिको तेरो मत कस्लाई जाँदै छ, म पनि त्यस्तै उमेदवार र पार्टीलाई भोट दिन्छु र सभ्य नागरिक भएको संदेश दिन्छु ।
त्यस्तो व्यक्ति र पार्टी जोसँग माथि उलेखित गुण र आचरण होइन जसले लोकतन्त्र, व्यक्तिगत सम्पतिको सुरक्षा, स्वतन्त्रता, मानवअधिकार, मानवता र सम्पूर्ण मानव जातिको कल्याणमा आध्यात्मिक चिन्तन, विज्ञान र प्रविधिको सन्तुलित समायोजन र विकासका लागि नेतृत्व प्रदान गर्न सकोस् । मेरो भोट त्यसैलाई । मेरो साथीले भन्यो – मेरो पनि भोट त्यसैलाई ।
(डा. पोखरेल विकास, विज्ञान र सुशासनका बिषयमा कलम चलाउँछन् )