मौन अवधिमा मन मन्थन गरौं,मुलुक सम्हाल्न सक्नेलाई मतदान गरौं
भूपिले ५८ वर्ष अघि कथेको जस्तै यो देशमा अहिले पनि हल्ले हल्ला छ । के गर्ने ? मौन अवधि सुरु भएको छ । सकिन्छ, मोबाइलहरु बन्द गरिदिनुहोस् । अन्य सामाजिक संजाल चलाउने उपकरण पनि २ दिनका लागि ‘पज’ गरिदिनुस् । चुनावी कोलाहलबाट मुक्त हुनुहोस् ।
परिदृश्य
विश्वमणि पोखरेल
मुलुक मध्यावधि निर्वाचनको संघारमा छ । निर्वाचन आयोगले फागुन २१ गतेको चुनावका लागि सबै तयारी पुरा भएको जनाएको छ । प्रधानमन्त्री सुशिला कार्कीले सोमबार राष्ट्रको नाममा सम्बोधन गर्दे भनेकी छन् ‘आउँदो फागुन २१ गतेका दिन हामीले आफ्नो र आफ्नो देशको भविष्यको फैसला गर्नेछौँ। भोट हाल्नु भनेको केवल चुनाव चिन्हमा छाप लगाई कसैलाई जिताएर पठाउनु मात्र होइन। यो त तपाईँले आफ्नो र आफ्नो सन्तानको भविष्य कस्तो बनाउने भनेर लिने निर्णय हो।’कार्कीले सबै काम छोडेर मतदान गर्न आग्रह गर्दे भनेकी छन् ‘फागुन २१ गते बिहीबारका दिन अरू काम छाडेरै भए पनि आफ्नो मतदान केन्द्रमा पुगेर मतदान गर्नुहुन म हार्दिक अपिल गर्दछु।’

मझेरीमा आइसकेको यो निर्वाचन मुलुकको वर्तमान राजनीतिक अवस्थाबीच निकै महत्वपूर्ण छ । यो निर्वाचन सामान्य निर्वाचन हुँदै होइन । भदौरे आन्दोलनले सृजना गरेको अत्याशलाग्दो वातावरणबाट गुज्रिएको नेपाललाई संवैधानिक राजमार्ग हुँदै अघि बढाउने एउटा महत्वपूर्ण अवसर हो । आम मतदाताले मुलुक निर्माणमा सहभागि हुन प्राप्त यस्तो अवसरलाई उपयोग गरौं ।
फागुन २१ बिहान ७ बजेदेखी मतदानको कार्याक्रम निर्वाचन आयोगले राखेको छ । सोमबार मध्यरातदेखी मौन अवधि सुरु भएको छ । यो अवधिको उपयोग गर्नु सबै राजनीतिक दल, उमेदवार, पेशाकर्मीहरुको दायित्व हो । मत माग्न उदेदवार पार्टीहरुले ठूलो कसरत गरेका छन् । माघ ६ देखि उमेदवारको अन्तिम नामाबली प्रकाशन पछि सुुरु भएको चुनावी राजनीति फागुन १८ को मध्यरात पछि स्वरुप फेरिएको छ ।
मौन अवधिमा पनि राजनीतिक पार्टीहरु, उमेदवारहरु मौन भएर बस्न सकेका छैनन् । पछिल्लो ४८ घण्टा बहुत संवेदनशील समय हो । डर, त्रास, धम्की देखाएर, लोभ, लाभका आधारमा मत लेनदेन गर्ने सयम पनि यही भएकोले मतदाताहरु चनाखो हुन् जरुरी छ । आफैले आफै प्रभावित हुने वा बिक्री हुने अभ्यास होइन निर्वाचन । निर्वाचन नागरिकको आफ्नो अधिकारको प्रयोग हो । मुलुक निर्माणमा प्रत्येक मतदाताले दिनसक्ने योगदान हो । मत दिनु भनेको मन दिनु हो । मन दिन मनमस्तिष्क सङ्लो हुनुपर्दछ, कुनै आग्रह, प्रवाह, दबाव, डर, धम्की र प्रलोभनबाट मुक्त ।
डेढ महिनाको अवधिमा विभिन्न पात्र र प्रवृतीसँग जनताको भेटघाट भएको छ । परम्परागत चुनावका शैलीहरु सभा, जुलुश, घरदैलो, पर्चा, पाम्पलेट, घोषणापत्रहरुको एउटा पक्ष जो हामीले विगत देखी देख्दै आएका थियौ, यसपटक पनि देखियो । तर,अर्को प्रगेल्न नसकिने, छेकेर छेक्न नसकिने सामाजिक संजाल जो आफैमा असामाजिक संजालकोरुपमा फैलिइरहेको छ कतिपय अवस्थामा त्यसले निर्वाचनको माहौललाई नराम्ररी बिथोलेको देखिदैंछ । यसले मतदाताको मनमस्किष्कमा प्रभाव पारेको छ । देश विदेशबाट, बेनामबाट, छद्मनामबाट निश्चित उदेश्य राखेर नियोजित किसिमले संचालनमा आएका ट्रोलहरुले खास गरे नकारात्मकता फैलाइरहेका छन्, उत्तैजना फैलाउन, रिस, राग र आवेगबाट मतदाताको मत जित्ने अभ्यासहरु भैरहेका छन् । सामाजिक संरचना, राजनीतिक सोच र चिन्तन माथिका विभाजनकारी सामाग्रीहरुबाट बच्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती बनेको छ ।
डेढ महिनाको अवधिमा मुलुकका जल्लाबल्दा मुद्धाहरु माथि खासै विचारविमर्श हुन सकेनन् । किन मध्यावधि निर्वाचनमा होमियो मुलुक ? त्यसको लेखाजोखा पनि गंभिरतापूर्वक हुन सकेन ।
डेढ महिनाको अवधिमा मुलुकका जल्लाबल्दा मुद्धाहरु माथि खासै विचारविमर्श हुन सकेनन् । किन मध्यावधि निर्वाचनमा होमियो मुलुक ? त्यसको लेखाजोखा पनि गंभिरतापूर्वक हुन सकेन । मुलुकको शासकीय स्वरुप, शासकीय शैली, भष्ट्राचार जस्ता मुद्धाहरु ओझेलमा परेको अवस्थामा चुनाव हुँदैछ । जनताका हातले कोरिएको संविधान घायल बनेको छ । जुन संसदका लागि चुनाव भैरहेको छ, त्यसको आवश्यकता र औचित्य माथि विभिन्न कोणबाट प्रश्न र प्रहार भैरहेको समयमा चुनाव हुँदैछ । जसरी मुद्धामा बहस हुनुपर्दथ्यो त्यो हुन सकेन ।
आक्षेप, आरोप, प्रत्यारोप, अबगालको कोलाहलमा बितेका छन् डेढ महिना । किन हुँदैछ यो चुनाव त्यसको संक्षेप विवेचना गरौं । हामीलाई भदौं २३ र २४ को आन्दोलनले मध्यावधि निर्वाचनमा ल्याएको हो । यि दुई दिनका आन्दोलनलाई दुईटा पाटामा राखेर विश्लेषण गर्नुपर्ने हुन्छ । नवयुवा पुस्ता जेनजिको माग सुशासन र सामाजिक संजाल माथिको बन्देज फूकुवा थियो । त्यो माग २३ गते अपराह्ननै अपहरित भयो । किशोरवयका युवकलाई उक्साउँदै निर्धारित स्थल माइतीघरबाट बानेश्वरसम्म पु¥याएर संसद भवनमा जाइलाग्ने योजना कसको हो ? जेनजिको होइन । कलिला युवा माथि प्रहरीले गोली वर्षायो, बानेश्वर संसद भवन अगाडिनै त्यसै दिन १९ जनाको ज्यान गयो । २३, २४ को आन्दोलनमा मुलुकभर ७६ जनाको मृत्यु तथा २ सय बढी घाइते बनेका छन् ।
नेपालको प्रहरी ३० वर्षको लोकतान्त्रिक कालखण्डमा पनि सुध्रिएको रहेनछ भन्ने देखियो । मानव अधिकारका धेरै पाठहरु नेपाल प्रहरीले पढेको छ । प्रहरीका ठुलो संख्यामा अधिकारीहरुले मानव अधिकारका सभा, सम्मेलन र सेमिनारमा भाग लिएका छन् । अन्तर्राष्ट्रिय मञ्चहरुमा प्रतिवद्धता जनाएको छ प्रहरीले । बद्लिएको समयमा प्रहरी परिवर्तिन हुन नसकेको पाइयो । प्रहरीले बल प्रयोग गर्नेपर्ने अवस्थामा गोली चलाउनुपर्यो भने, गोली घुँडा मुनि लाग्नुपर्ने हो ।तर, गोली छाति, टाउँको र पिठ्युहमा लागेका छन् । कलिला युवाहरुको निधन र ठुलो संख्यामा घायल भएपछि सारा नेपालीको मन रोयो । यही संवेदनशीलतामा प्रहार गर्दे भदौ २३ अपराह्नदेखी भदौ २४ दिनभरमा मुलुकभर विध्वंश मच्चाइयो । सिंहदरबार, सर्वोच्च, मन्त्रालयहरु, ठूलो संख्यामा सरकारी कार्यालयहरु, व्यापारिक प्रतिष्ठान, व्यक्तिगत सम्पत्तिमा आगजनी गरियो, लुटपाट गरियो । २३, २४का विध्वंशको पृष्ठभूमि नयाँ होइन । ६ महिना अघि २०८१ चैत १५ गते
काठमाडौं तीनकुनेमा राजनीतिक उदेश्यसहितको हिंसा, विध्वंश, आगजनी र हत्याकै अर्कोरुप त होइन, भदौं २४ ? दुबै हिंसाका प्रकृति र प्रवृति एकै किसिमका छन् ।र, दुबैको विध्वंशको केन्द्रबिन्दू बानेश्वरको संसद बनेको छ ।
निर्वाचन पछि राजनीतिक स्थायित्वको पक्षमा आशावादी हुनेहरुको संख्या अधिक छ । निर्वाचन पछि अस्थिरता निम्त्याएर, अन्यौलग्रस्त अवस्थामा अधिनायकवाद स्थापित गर्न सकिन्छ भन्नेहरु पनि छन्
चुनाव किन हुँदैछ भन्ने सक्षेप विमर्शपछि अब चुनावमा कस्ताकस्ता उमेदवार त्यसको विवेचना गरौं । संख्यामा कति उमेदवार छन् ।तर, प्रवृतिगत हिसावले कस्ताकस्ता उम्मेदवार छन् त ? उमेदवार बनेका ३ हजार ४ बढी उमेदवारहरुमा सबैखाले छन् । निर्वाचन पछि राजनीतिक स्थायित्वको पक्षमा आशावादी हुनेहरुको संख्या अधिक छ । निर्वाचन पछि अस्थिरता निम्त्याएर, अन्यौलग्रस्त अवस्थामा अधिनायकवाद स्थापित गर्न सकिन्छ भन्नेहरु पनि छन् । तर, सँगसँगै भदौ २४ का विध्वंशका नायकहरु पनि छन् । सिंहदरबार लगायतका संरचनामा आगो झोस्नेहरु पनि उमेदवार बनेका छन् । करोडौ बेरुजुले थिचिएका उमेदवार ‘काम गर्ने नेता’ भन्दै ठूल्ठूला स्वरमा हल्ला गर्नेहरु पनि छन् ।भूईमान्छेका करोडौ अपचलन गरेर सदाचारिको परिचय दिनेहरु पनि छन् । त्यस्तो त तीस वर्षको राजनीतिमा हैकम गर्नेहरु पनि छन् । लोकतान्त्रिक राजनीतिक मूल्यका लागि चुनौतीहरु सामना गर्नेहरु पनि ।
आज भन्दा ५८ वर्ष अघि अर्थात २०२४ सालमा त्यसबेलाको रुपरेखा पत्रिकामा छापिएको भूपि शेरचनको कालजयी कविता ‘यो हल्लै(हल्लाको देश हो’ अहिले पनि उत्तिकै सान्दर्भिक छ । त्यसबेला निर्दलिय पंचायती व्यवस्थाको कठोर समय थियो ।
भूमिले त्यसैबेला लेखेको कविताको केही अंश :
….यो देश तिम्रो जत्तिकै मेरो पनि देश हो
अंशैबण्डा गर्ने हो भने पनि यो देशका एक करोड
टुक्राहरुमध्ये एउटा टुक्रामाथि
मेरो पनि छाप्रो हुनेछ
र यो देशको असंख्य बगरहरुमध्ये एउटा बगरमाथि
मेरो पनि चिता हुनेछ
यही भावनाले मलाई यो भन्न बाध्य गराउँछ र
आँट दिलाउँछ यो भन्न
कि ‘यो हल्लै हल्लाको देश हो’
खनेर हेर्ने हो भने यहाँका प्रत्येक घरहरुका जगमा
त्यहाँ फगत हल्लै हल्ला थुप्रिएको पाइनेछ।
त्यसैले यो हल्लै हल्लाको देश हो
यो हल्लै हल्लामाथि उभिएको देश हो
यो हल्लै हल्लामाथि उठेको देश हो
यो हल्लै हल्लाको देश हो।
भूपिले ५८ वर्ष अघि कथेको जस्तै यो देशमा अहिले पनि हल्ले हल्ला छ । कोलाहलबीच मुलुक बनाउने महायज्ञमा सामेल हुनुपर्ने छ नेपालीजनले । के गर्ने ? मौन अवधि सुरु भएको छ । सकिन्छ, मोबाइलहरु बन्द गरिदिनुहोस् । अन्य सामाजिक संजाल चलाउने उपकरण पनि २ दिनका लागि ‘पज’ गरिदिनुस् । चुनावी कोलाहलबाट मुक्त हुनुहोस् । संवेदनशील भएर एकपटक घायल संविधान संझनुहोस् । विवेकसम्मत निर्णय लिनुहोस् । मौन अवधिमा मन मन्थन गरौं, मुलुक सम्हाल्न सक्नेलाई मतदान गरौं ।
नोट : स्टोरी तस्बिर द काठमाडौँ पोस्टबाट साभार ।
