प्रत्येक वर्ष आश्विन शुक्ल सप्तमी अर्थात् दुर्गा पक्षको सातौँ दिन कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ। प्राणीमात्रलाई कालले नष्ट गर्दछ। त्यस्तो काललाई पनि भगवती देवीले नष्ट गरिदिन्छिन् भन्ने मान्यता पाइन्छ।

काठमाडौं, ३१ असोज ।

नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ।

यस्ती देवीको स्वरूपलाई कालरात्रि भनिन्छ। कालरात्रि कृष्ण वर्णको हुनुका साथै यिनी भयङ्कर आकृतिको हुन्छिन् भन्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ।

नवरात्रको पहिलो दिन असोज १५ गते आइतबार दसैँ घर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो। त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो।

दोस्रो दिन सोमबार पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजा आराधना गरिएको थियो भने तेस्रो दिन मङ्गलबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजा आराधना गरियो। चौथो दिन बुधबार कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिएको थियो भने पाँचौँ दिन बिहीबार स्कन्दमाता र छैटौँ दिन शुक्रबार कात्यायनी देवीको पूजा आराधना गरियो।

सातौँ दिन आज कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ। नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती(चण्डी), श्रीमद्देवीभागवत लगायत देवी स्तोत्र पाठ समेत गरिन्छ। नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ। यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन्। नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ। यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन्।

दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ। यिनै नौवटा दुर्गाका रुपलाई नवदुर्गा पनि भनिन्छ।

नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ। नवरात्रको सातौँ दिन आज पूजा कोठा वा दसैँ घरमा फूलपाती पनि भित्र्याइन्छ। फूलपाती अपराह्नकालमा भित्र्याउने वैदिक विधि छ। श्रोत: आइएनएस-स्वतन्त्र समाचार

पचाङ्ग, ग्रहगोचर : देवी पक्ष सप्तमी

२०८३ साल अशोज ३१ गते शनिवार । अशोज शुक्लपक्ष, सप्तमी तिथि । सन् २०२६ अक्टुवर १७ । नेपाल संवत ११४६। शुक्लपक्ष । उत्तरायण । नेपाल संवत ११४६ । शरद ऋुतु ।

सूर्य :  ६ः०५ मा उदय १७ः३१ मा अस्त

चन्द्र : धनु राशिमा
तिथिः सप्तमी
नक्षत्रः मूल ९ बजे पछि पूर्वषाढा
योग : अतिगण्ड
करण : गर १६: ५१ पछि भद्रा
ब्रह्म मुहुर्तः ०४ः२३—०५ः१२ बिहान
अभिजित मुहुर्त : ११ः२७—१२ः१३ सम्म
राहुकाल : ८ः५७—१०ः२३सम्म
ग्रहगोचर
सूर्यः कन्या राशी चित्रा नक्षत्र
चन्द्र : वृश्चिक राशी मूल नक्षत्र
मंगलः कर्कट राशी पुष्य नक्षत्र
बुधः तुला राशी विशाखा नक्षत्र
बृहस्पतिः कर्कट राशी अश्लेषा नक्षत्र
शुक्रः तुला राशी स्वाती नक्षत्र
शनिः मीन राशी उत्तरभाद्रपद नक्षत्र