बेलायतले रुसी जेट ड्रोनहरू खसाल्नका लागि युक्रेनलाई आवश्यक पर्ने मल्टिरोल क्षेप्यास्त्रको आपूर्तिलाई तीव्र बनाउने घोषणा गर्नुका साथै रुसी हमलामा क्षतिग्रस्त चर्नोबिल आणविक केन्द्रको छाना मर्मतका लागि १ करोड ७० लाख पाउन्ड आर्थिक सहयोग दिने भएको छ।

एजेन्सी, २९ असोज।

युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट आफूलाई व्यक्तिगत रूपमा ‘धोका’ भएको महसुस भएको बताएका छन्। युक्रेनी सेनाले प्रयोग गर्दै आएको इलोन मस्कको ‘स्टार्लिङ्क’ भूउपग्रह इन्टरनेट सेवाको गति एकाएक नियन्त्रण गरिएपछि दुई देशबिचको सम्बन्ध थप तनावपूर्ण बनेको छ।

लन्डन भ्रमणका क्रममा बेलायती प्रधानमन्त्री एन्डी बर्नहामसँग  भेटवार्ता गर्नुअघि दिइएको एक अन्तर्वार्तामा जेलेन्स्कीले चार वर्षभन्दा लामो युद्धपछि ट्रम्पले रुसी पक्षलाई रोजेको आरोप लगाए। “साँच्चै भन्ने हो भने मलाई धोका भएको महसुस भएको छ,” जेलेन्स्कीले भने, “हामीले एउटा बलियो साझेदार गुमाइरहेका छौँ, जुन निकै दुःखद कुरा हो।”

अमेरिकी नियन्त्रणमा रहेको स्टारसिल्ड  सञ्जालअन्तर्गत सञ्चालित स्टार्लिङ्क भूउपग्रह सेवा १०० माइल प्रतिघण्टा (करिब १६० किमी प्रतिघण्टा) भन्दा बढीको गतिमा चल्दा अचानक बन्द भएपछि युक्रेनको सैन्य अपरेसन प्रभावित बनेको छ। यसका कारण रुसी आक्रमण रोक्न प्रयोग गरिने युक्रेनी इन्टरसेप्टर ड्रोन र फ्रन्टलाइनमा खटिएका अन्य ड्रोनहरू निष्क्रिय प्रायः बनेका छन्।

“मलाई पक्का विश्वास छ उनीहरूलाई थाहा थियो कि उनीहरूले के गरिरहेका छन्। अमेरिका र स्पेसएक्सले रातिको १ बजे सेवामा प्रतिबन्ध लगाए। यो निर्णयले थप धेरै मानिसको ज्यान लिनेछ,” जेलेन्स्कीले सञ्चारकर्मीसँग भने।

इलोन मस्कले भने यो निर्णय आफ्नो नभई अमेरिकी सरकारको निर्देशनअन्तर्गत भएको स्पष्ट पारेका छन्।

सम्बन्ध सुधार्ने प्रयास स्वरूप लन्डन पुगेका जेलेन्स्कीले बेलायती प्रधानमन्त्री एन्डी बर्नहाम र राजा चार्ल्ससँग भेटवार्ता गरे। भेटका क्रममा प्रधानमन्त्री बर्नहामले युक्रेनलाई बेलायतको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएका छन्।

“हामी तपाईँको साथमा छौँ र यो कहिल्यै बदलिने छैन,” बर्नहामले भने। बेलायतले रुसी जेट ड्रोनहरू खसाल्नका लागि युक्रेनलाई आवश्यक पर्ने मल्टिरोल क्षेप्यास्त्रको आपूर्तिलाई तीव्र बनाउने घोषणा गर्नुका साथै रुसी हमलामा क्षतिग्रस्त चर्नोबिल आणविक केन्द्रको छाना मर्मतका लागि १ करोड ७० लाख पाउन्ड आर्थिक सहयोग दिने भएको छ।

यसैबिच, रुसले युक्रेनका प्रमुख सहरहरू किभ र खार्किभका ऊर्जा पूर्वाधारलाई लक्षित गरी ३९ वटा ब्यालिस्टिक क्षेप्यास्त्र र १२० वटा ड्रोन प्रहार गरेको छ। जसका कारण ५ वटा ठुला पावर प्लान्टहरू ध्वस्त भई कम्तीमा ६ लाख मानिस विद्युत्विहीन बनेका छन्।

अमेरिकी राष्ट्रपति ट्रम्पले अघि सारेको ‘ऊर्जा युद्धविराम’ को घोषणालाई रुसले पालन नगरेको युक्रेनको आरोप छ। यद्यपि, क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले ट्रम्पको प्रस्ताव स्पष्ट र विस्तृत नभएकाले रुसले सम्झौता तोडेको भन्न नमिल्ने प्रतिक्रिया दिएका छन्।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार