ट्रम्पको ‘ऊर्जा युद्धविराम’: क्रेमलिनको मौनता, टाढिदै किभ
रुसका प्रोक्रेमलिन वा राज्य समर्थित सञ्चारमाध्यमहरूले भने ट्रम्पको यो घोषणालाई मस्कोका लागि एउटा ठुलो “उपहार”को रूपमा व्याख्या गरेका छन्। अमेरिका रुसबीचको पछिल्लो कूटनीतिका कारण युक्रेनले रुसका तेल डिपो तथा प्रशोधन केन्द्रहरूमा गर्दै आएको घातक ड्रोन हमलाहरू रोक्नुपर्ने बाध्यता सिर्जना हुने हो ?
एजेन्सि,२८ असोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालै रुस र युक्रेनबिच एक अर्काको ऊर्जा पूर्वाधारमा आक्रमण नगर्ने गरी तत्काल प्रभावबाट ‘ऊर्जा युद्धविराम’ सहमति भएको दाबी गरेका छन्। तर, यस घोषणाप्रति युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अनभिज्ञता प्रकट गर्दै “यो मेरा लागि नयाँ खबर हो” भनेका छन् भने मस्कोले भने हालसम्म यसबारे कुनै स्पष्ट आधिकारिक सार्वजनिक पुष्टि गरेको छैन।
क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभलाई दैनिक पत्रकार सम्मेलनमा उक्त युद्धविरामबारे सोध्दा उहाँले “सम्पर्कहरू जारी छन्, यसबारे भन्नुपर्ने केही हुने बित्तिकै जानकारी गराइनेछ” भन्दै संक्षिप्त प्रतिक्रिया मात्र दिए। क्रेमलिन आफैँ मौन रहे पनि रुसका प्रोक्रेमलिन वा राज्य समर्थित सञ्चारमाध्यमहरूले भने ट्रम्पको यो घोषणालाई मस्कोका लागि एउटा ठुलो “उपहार”को रूपमा व्याख्या गरेका छन्। मस्कोस्थित केही सञ्चारमाध्यमका अनुसार युक्रेनको अन्तिम बाँकी तेल प्रशोधन केन्द्रलाई अझै पूर्ण रूपमा ध्वस्त नपार्नुबाहेक रुसले धेरै गुमाउनु पर्दैन, जबकि युक्रेनले भने रुसका विभिन्न तेल डिपो तथा प्रशोधन केन्द्रहरूमा गर्दै आएको घातक ड्रोन हमलाहरू रोक्नुपर्ने बाध्यता सिर्जना हुनेछ।
पछिल्ला महिनाहरूमा युक्रेनी लामो दूरीका ड्रोनहरूले रुसका विभिन्न तेल सुविधाहरूमा क्षति पुर्याएर इन्धनको सङ्कट उत्पन्न गराएका थिए। ट्रम्पको चेतावनी अनुसार युक्रेनले यस्ता आक्रमण जारी राखेमा त्यसले अमेरिकी आर्थिक हितमा असर पुर्याउने र आगामी मध्यावधि चुनावमा रिपब्लिकन पार्टीलाई असर पार्ने आरोप मस्कोले लगाउन पाउने बाटो खुलेको छ। युक्रेनी आक्रमणका कारण ह्वाइट हाउस र किभबिच दूरी बढ्नु र अमेरिकाले प्रदान गर्दै आएको सैन्य सहायता तथा गुप्तचर सूचना आदानप्रदान रोकिनु मस्कोका लागि थप फाइदाजनक हुने बुझाइ छ।
यस क्रममा, राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा राष्ट्रपति निर्वाचन गराउन ६० दिनको रुसी युद्धविरामको सर्त अघि सरेका थिए। तर क्रेमलिनले उक्त प्रस्तावलाई अस्वीकार गर्दै आफूहरू कुनै अल्पकालीन युद्धविराम नभई “स्थायी शान्ति”को पक्षमा रहेको बताएको छ। रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई यस्तो युद्धविरामबाट प्राप्त हुने “राहत” दिन नसकिने स्पष्ट पारेका छन्।
ट्रम्पको युद्धविरामको दाबी लगत्तै पनि रुसले युक्रेनका विभिन्न ऊर्जा संरचना तथा विद्युत् गृहहरूमा क्षेप्यास्त्र तथा ड्रोन प्रहार जारी राखेको छ। जाडो याम नजिकिँदै गर्दा युक्रेनका ऊर्जा पूर्वाधार ध्वस्त पारेर किभलाई आफ्ना सर्तहरूमा आत्मसमर्पण गर्न बाध्य पार्ने रणनीतिमा रुस दृढ देखिन्छ। ट्रम्पको हतारको घोषणा र किभप्रतिको असन्तुष्टिलाई उपयोग गर्दै मस्कोले आफ्ना सैन्य र राजनीतिक उद्देश्यहरू पूरा गर्ने रणनीति अपनाएको विश्लेषण गरिएको छ।
श्रोत : आइएनएस(स्वतन्त्र समाचार

