पञ्चाङ्ग, ग्रहगोचर : दुर्गापक्ष प्रारम्भ, आज घटस्थापना शैलपुत्रीको आराधना
काठमाडौं, २५ असोज ।
आजदेखि देवि पक्ष प्रारम्भ । आजैका दिन देवी स्थापना गर्ने, देवीको विशेष पुजा आराधना गर्ने, कलश स्थापना गर्ने र जमरा राख्ने गरिन्छ । तर, यो वर्ष ग्रहगोचरको चक्र अनुसार चित्रा नक्षत्र र वैधृती योग रहेकोले देवी स्थापना गर्नु अघि नक्षत्र र योग शान्तिको विधान गरेपछि मात्र कलश स्थापना र जमरा राख्न सकिने बताइएको छ । पञ्चाङ्ग निर्णायक समितिले चित्रा नक्षत्र र वैधृती योगको शान्ति गरेपछि ११ बजेर ४७ मिनेट पछि देवी, कलश स्थापना र जमरा राख्न सकिने बताएको छ ।
पण्डित नेत्र नेपाल देवी स्थापना र विशेष पुजा आराधना गर्ने बाहेक अन्यले सामान्यरुपमा जमरा राख्न, चण्डीपाठ गर्न मिल्ने बताउँछन् । नेपालले भने ‘ देवीको विशेष पुजा आराधना गर्ने उदेश्यले देवी, कलश स्थापना गर्ने र जमरा राख्ने हो भने नक्षत्र, योग शान्ति गरेर मात्र घटस्थापनाको विधान गर्नुपर्दछ । सामान्य जमरा राख्न तथा चण्डी पाठ गर्न भने नक्षत्र, योग शान्ति गर्न पर्देन ।’
नेपालीहरुको प्रमुख चाड दशैलाई शक्तिरुपा दुर्गा देवीको पुजा आराधना गर्ने विशेष पक्षको रुपमा लिइन्छ । आज आश्विन शुल्क पक्ष प्रतिपदा तिथि। यो वर्षको अशोज २५ गते प्रतिपदा देखी कात्तिक ९ गते पूर्णिमा सम्मलाई पंचाङ्गहरुमा दुर्गा पक्ष भनिएको छ।
शारदीय नवरात्रमा हर्षोल्लासपूर्ण दुर्गा माताको पुजा, आराधना गरिन्छ । नवरात्रमा दुर्गाका नवरुपहरुको विशेष पुजा आराधना हुन्छ । धार्मिक हिसावले शारदीय नवरात्रको ठूलो महत्व छ । यता सामाजिक, सास्कृतिक फाँटमा पनि नवरात्र दशैको नामले प्रचलित छ । राम्रो लाउने,मिठो खाने, आफन्तहरुबीच भेटघाट गर्ने, आफ्ना अग्रजहरुबाट टिका जमरा थाप्दै आशिर्वाद लिने चलन व्यापक छ ।
नवरात्रको पहिलो दिन प्रतिपदामा दुर्गादेवी स्थापना गरिन्छ र प्रत्येक दिन दुर्गादेवीका भिन्नभिन्नरुपको पुजा आराधना हुन्छ ।
नव दुर्गालाई यसरी ध्यान गर्न सकिन्छ ।
प्रथमं शैली पुत्री च द्धितियं ब्रह्मचारिणी ।
तृतियं चन्द्रघण्टेति कृष्माण्डेती चुतर्थंकम ।।
पंचमं स्कन्दमातेति षष्ठं कात्यायनी तथा ।
सतमं कालरात्री च अष्टमं महागौरति चाष्टममं ।।
नवमं सिद्धिदात्री च नवदुर्गा प्रर्कीतिता ।
आज शैल पुत्री
नवरात्रको पहिलो दिन पुजा आराधना गर्ने शैल पुत्री हुन्। हिमालयकी छोरी भएकीले यिनलाई शैल पुत्री भनिन्छ। दक्षप्रजापतिकी छोरी सतिदेवीको अर्को जन्म हिमालयकी छोरीको रुपमा हुन्छ । हिमालकी छोरीको नाताले उनको नाम शैल पुत्री रहेको दुर्गा पुराणमा वर्णित छ । अघिल्लो जन्ममा सतिदेवीको विवाह भगवान शंकरसँग भएको थियो ।
सतिदेवीले आफ्ना बाबु दक्षप्रजापतिले आयोजना गरेको यज्ञ समारोहमा आफ्नो पति शंकरको अपमान गरेको सहन नसकी अग्नीकुण्डमा देह त्याग गरेको कथा छ । तिनै सतिदेवी हिमालय पुत्रीको रुपमा जन्मिएकी हुन् ।
साँढेमा सवार शैल पुत्रीको दाहिने हातमा त्रिशुल र देब्रे हातमा कमलको फूल रहेको छ । शैल पुत्रीको ध्यान यसरी गरिन्छ —
वन्दे वाञ्छितलाभाय चन्द्रार्धकृतशेखराम
बृषारुढां शुलधरां शैलपुत्री यशस्विनीम् ।
कसरी गर्ने चण्डी पाठ
नवरात्रमा चण्डीपाठ कल्याणकारी हुने विश्वास छ । ज्योतिषाचार्य वाशुदेव शास्त्री अनुसार चण्डी पाठको विधान यस प्रकार छ ।
प्रत्येक दिन कवच, अर्गला र किलकं पाठ गरेर पूरै १३ अध्याय चण्डी पाठ गर्न सकिन्छ । प्रत्येक तीन दिनमा १३ अध्याय पाठ गर्न सकिन्छ, जुन यस प्रकार छ।
पहिलो दिन : कवच, अर्गलास्त्रोत र किलकं पाठ गररे प्रथम अध्याय पाठ गर्ने।
दोश्रो दिन : दोश्रो, तेश्रो र चौथो अध्याय पाठ गर्ने ।
तेश्रो दिन : पंचम देखी १३ औं अध्याय पाठ गर्ने ।
बिहान पुजा आराधना र बेलुका पाठहरु, मुर्तिरहस्य वाचन गर्न सकिने शास्त्रीको सुझाव छ।
पचाङ्ग, ग्रहगोचर : देवी पक्ष प्रारम्भ
२०८३ साल अशोज २५ गते आईतवार । अशोज शुक्लपक्ष, प्रतिपदा तिथि। सन् २०२६ अक्टुवर ११। नेपाल संवत ११४६। शुक्लपक्ष। उत्तरायण। नेपाल संवत ११४६। शरद ऋुतु ।
सूर्य : ६ः०२ मा उदय १७ः३७ मा अस्त
चन्द्र : कन्या १०ः२८ पछि तुला राशीमा
तिथिः प्रतिपदा
नक्षत्रः चित्रा
योग : वैधृती
करण : किंस्तुघ्र ८ः३३ पछि वव
ब्रह्म मुहुर्तः ०४ः२३—०५ः१२ बिहान
अभिजित मुहुर्त ः ११ः२७—१२ः१४
राहुकाल : १६ः१२— १७ः३७ सम्म
ग्रहगोचर
सूर्यः कन्या राशी हस्ता नक्षत्र
चन्द्र :कन्या राशी हस्ता नक्षत्र
मंगलः कर्कट राशी पुष्य नक्षत्र
बुधःतुला राशी स्वाती नक्षत्र
बृहस्पतिः कर्कट राशी अश्लेषा नक्षत्र
शुक्रःतुला राशी स्वाती नक्षत्र
शनिःमीन राशी उत्तरभाद्रपद नक्षत्र
राहुः कुम्भ राशी धनिष्ठा नक्षत्र
केतुः सिंह राशी मघा नक्षत्र

