गगनजी अब सम्पूर्ण कांग्रेसको सभापति, सबैलाई समेट्ने आजको आवश्यकता : श्यामकृष्ण
मेरो विश्वास छ—गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सक्यौँ भने नेपाली कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिनेछ।
काठमाडौं, २४ असोज ।
कांग्रेसको १५ औं महाधिवेशनमा सभापति पदमा प्रतिस्पर्धा गर्ने कांग्रेस नेता श्यामकृष्ण खड्गिले सभापतिमा निर्वाचित गगनकुमार थापालाई सफल कार्यकालको शुभकामना दिएका छन् ।
खड्गिले थापालाई अब सम्पूर्ण नेपाली कांग्रेसको सभापति भएको बताउँदै भनेका छन्‘ गगनजी, अब तपाईं सम्पूर्ण नेपाली कांग्रेसको सभापति हुनुहुन्छ ।’ श्यामकृष्णले सामाजिक सञ्जालमा लेखेका छन् ‘तपाईंलाई मत दिने र नदिने, फरक विचार र धारमा रहनुभएका सबै साथीहरूलाई समेटेर अघि बढ्नुहोस्।कसैले आफूलाई पराइ महसुस गर्नु नपरोस्, सबैले पार्टीभित्र आफ्नो सम्मान र अपनत्व पाएको अनुभूति गर्न सकून्।’
‘विशेष महाधिवेशन र नियमित महाधिवेशनका क्रममा पार्टीभित्र उत्पन्न भएका असमझदारी र विभाजनका भावनालाई अन्त्य गर्दै, छुट्टै महाधिवेशनको बाटोमा रहनुभएका साथीहरूलाई समेत संवाद, सहमति र सम्मानका साथ एकताको मूलधारमा समेट्नु आजको प्रमुख आवश्यकता हो ’ श्यामकृष्णले भनेका छन् ।
नेतृत्वको वास्तविक सफलता चुनाव जित्नुमा मात्र होइन, फरक मत राख्ने साथीहरूको मन जित्नुमा पनि हुने श्यामकृष्णको भनाई छ । उनले भनेका छन् ‘ मत फरक हुन सक्छ, तर मन फरक हुनुहुँदैन। प्रतिस्पर्धा पदका लागि हो, सम्बन्ध तोड्नका लागि होइन।’
श्यामकृष्णले भनेका छन्‘नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदमा मेरो प्रिय मित्र श्री गगनकुमार थापाज्यु उहाँ र म बिच भएको मित्रवत् प्रतिस्पर्धामा विजयी हुनुभएकोमा उहाँलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु।’
श्यामकृष्णले आफ्नो पक्षमा मतदान गर्ने साथीहरुमा लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाएकोमा आभार व्यक्त गरेका छन् । ‘यस निर्वाचनमा सहभागी भई आफ्नो अमूल्य मतमार्फत लोकतान्त्रिक अभ्यासलाई जीवन्त बनाउनुभएका सम्पूर्ण आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू तथा मलाई प्रत्यक्ष र अप्रत्यक्ष रूपमा साथ, सहयोग, सद्भाव र हौसला प्रदान गर्नुहुने सम्पूर्ण साथीहरूमा हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछु’ श्यामकृष्णले भनेका छन् ‘तपाईंहरूले दिनुभएको माया, विश्वास र साथ मेरा लागि अमूल्य राजनीतिक सम्पत्ति हो। निर्वाचनको परिणाम जे भए पनि तपाईंहरूसँगको आत्मीय सम्बन्ध, विश्वास र सहकार्यलाई म सधैँ सम्मान गर्नेछु।’
श्यामकृष्णले भनका छन् ः
मेरो विश्वास छ—गुटभन्दा माथि पार्टी, व्यक्तिभन्दा माथि विचार र प्रतिस्पर्धाभन्दा माथि एकतालाई राख्न सक्यौँ भने नेपाली कांग्रेसलाई अझ सशक्त, एकताबद्ध र जनताको भरोसायोग्य पार्टी बनाउन सकिनेछ।
अन्त्यमा, यो निर्वाचनमा मलाई साथ दिनुहुने सम्पूर्ण साथीहरूलाई पुनः हृदयदेखि धन्यवाद व्यक्त गर्दै, विजयी हुनुभएका गगनकुमार थापाज्यूलाई सफल कार्यकालको हार्दिक शुभकामना व्यक्त गर्दछु।
व्यक्तिगत हारजितभन्दा पार्टीको एकता ठूलो हो, पदभन्दा सम्बन्ध ठूलो हो र स्वार्थभन्दा विचार ठूलो हो।
आउनुहोस्, अब सबै मिलेर नेपाली कांग्रेसको उज्ज्वल भविष्यका लागि अघि बढौँ । जय नेपाल

