काठमाडौं,२२ असोज ।
राष्ट्रपति रामचन्द्र पौडेलले समृद्ध नेपाल निर्माण सरकार वा कुनै एक क्षेत्रको मात्र प्रयासबाट सम्भव नभई राज्य, निजी क्षेत्र र समग्र समाजको साझा राष्ट्रिय संकल्पबाट मात्र संभव हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी तथा सदस्यहरूसँगको भेटमा राष्ट्रपति पौडेलले समृद्ध नेपाल निर्माणको संकल्पलाई व्यवहारमा रूपान्तरण गर्न निजी क्षेत्र अझ जिम्मेवार, सिर्जनशील र अग्रणी भूमिकामा प्रस्तुत हुने आफूले अपेक्षा राखेको बताए ।
राष्ट्रपतिले भने –‘नेपालको आर्थिक समृद्धिमा निजी क्षेत्रले पु¥याउँदै आएको योगदानको उच्च प्रशंसा गर्दै यहाँहरूको निरन्तर सफलता र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।’

राष्ट्रपति कार्यालयले प्रेसित गरेको समाचारमा भेटवार्ताका क्रममा राष्ट्रपतिले नेपालको अर्थतन्त्रलाई गतिशील, उत्पादनमुखी र प्रतिस्पर्धी बनाउन सरकार र निजी क्षेत्रबीचको सहकार्य अपरिहार्य रहेको बताए। राष्ट्रपति पौडेलले भने – ‘उद्योग वाणिज्य महासंघको सांगठनिक विस्तार र महासंघमा आबद्ध १४ लाखभन्दा बढी व्यवसायीको प्रगति समग्र देशको प्रगति हो । आर्थिक विकास, रोजगारी सिर्जना र नागरिकको जीवनस्तर सुधारमा यसको भूमिका अतुलनीय छ । सरकारले नीतिगत स्थिरता, लगानीको सुरक्षा, पूर्वाधार विकास, सहज प्रशासन र व्यवसायमैत्री वातावरण निर्माण गर्नुपर्छ भने निजी क्षेत्रले लगानी, उत्पादन, उद्यमशीलता, नवप्रवर्तन र रोजगारी सिर्जनालाई थप विस्तार गर्नुपर्छ । यी दुई पक्षबीचको विश्वास र सहकार्यले नै आर्थिक समृद्धिको बलियो आधार निर्माण गर्न सक्छ भन्ने म ठान्दछु ।’
पौडेलले अबको प्राथमिकता उत्पादन वृद्धि, निर्यात प्रवद्र्धन, स्वदेशी तथा विदेशी लगानी आकर्षण, रोजगारी सिर्जना र नेपाली अर्थतन्त्रको प्रतिस्पर्धात्मक क्षमता अभिवृद्धिमा केन्द्रित हुनुपर्ने बताउदैँ भने – ‘जलविद्युत्, पर्यटन, कृषि तथा कृषिजन्य उद्योग, सूचना प्रविधि र उत्पादनमूलक क्षेत्रमा उपलब्ध सम्भावनालाई परिणाममुखी ढंगले उपयोग गर्न आवश्यक छ । विशेषगरी देशको युवा जनशक्तिलाई स्वदेशमै अवसर र उद्यमका सम्भावना सिर्जना गर्नु हाम्रो साझा दायित्व हो ।’
राष्ट्रपति पौडेलले डिजिटल रूपान्तरण र विश्वव्यापी प्रतिस्पर्धाको वर्तमान युगमा महासंघले आफ्नो राष्ट्रिय सञ्जाललाई अन्तर्राष्ट्रिय आर्थिक सञ्जालसँग जोड्दै नेपाली उत्पादन, सेवा र उद्यमलाई विश्व बजारमा पु¥याउन थप नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।
मुलुकले हालै ठूलो प्राकृतिक विपद्को सामना गर्नुपरेको उल्लेख गर्दैे विपद्मा उद्धारका लागि महासंघले लिएको तत्परता, सहयोग, सहकार्य तथा सहकार्यको सराहना गरे ।