कांग्रेस निर्वाचन तथ्याङ्कमा : अल्पसंख्यक, अपांगता, पिछडिएको क्षेत्र,युवा र पेशागत समुहमा कडा प्रतिस्पर्धा
तथ्याङ्कका आधारमा सभापतिमा गगनकुमार थापाले जित्ने सम्भावना ५० प्रतिशत छ भने , अल्पसंख्यक समुहबाट प्रतिस्पर्धाको स्थिति ८ प्रतिशतमा सीमित छ । त्यस्तै अपांगता समुहबाट ११ प्रतिशत हुन् आउँछ । ३५ वर्ष मुनिका युवाबीच ८ प्रतिशतसम्मको सम्भावना छ भने पेशागत विषयविज्ञहरु ५ पदका लागि ४० जना उमेदवार छन्, प्रत्येकले जित निकाल्ने सम्भावना १३ प्रतिशतमात्र ।
काठमाडौं, २२ असोज ।
नेपाली कांग्रेस १५ औं अधिवेशनको सर्वाधिक चासोको विषय कसकसले निर्वाचनमा जित निकाल्ने हुन् ? को को पराजय भोग्ने हुन् ? बिहिबार हुने निर्वाचनको परिणाम केही दिनमा सार्वजनिक हुने नै छ । प्रतिस्पर्धाको स्थिति शीर्ष पदमा भन्दा आरक्षित अपांगता, अल्पसंख्यक ३५ वर्ष मुनिका युवा र पेशागत विषयविज्ञहरुमा बढी प्रतिस्पर्धा हुने तथ्याङ्कले औंल्याएको छ ।
केन्द्रीय सभापतिदेखि केन्द्रीय सदस्यसम्मको निर्वाचनमा उमेदवार भएकाहरुबीच प्रतिस्पर्धाको सामान्य स्थिति प्रत्येक ४ जना मध्येबाट एक जना निर्वाचित हुँदैछन्, अर्थात प्रत्येकको निर्वाचित हुने संभावना २५ प्रतिशतमात्र ।
बुधबार साँझ कांग्रेस निर्वाचन समितिले प्रकाशन गरेको औपचारिक तथ्याङ्गमा कूल २ सय ३१ पदका लागि ८ सय ३८ जना मैदानमा रहेको देखिन्छ । सोझो हिसावमा एउटा पदका लागि औसत ४ जनाको उमेदवारी परेको छ । आज, ७ हजार २ सय ५५ महाधिवेशन प्रतिनिधिले कांग्रेस केन्द्रीय समिति चुन्दैछन् ।
सभापति १ एउटा पदमा २ जनाको उमेदवारी छ । गगनकुमार थापा र श्यामकृष्ण खड्गी दुई प्रतिस्पधी छन् औपचारिकरुपमा । सभापपतिमा उमेदवारी दिएका किशोर सिंह राठोरले अन्तिम समयमा औपचारिकरुपमा उमेदवारी फिर्ता लिएको अवस्थामा प्रतिस्पर्धाको स्थिति ५० प्रतिशतको रह्यो । अर्थात, तथ्याङ्गका आधारमा गगनको सम्भावना ५० प्रशिशत र त्यत्तिकै सम्भावना श्यामकृष्णको छ ।
वरिष्ठ उपसभापतिमा विश्वप्रकाश शर्माको एक्लो उमेदवारी थियो । उनी सर्वसम्मत भए, सम्भावना सत्प्रतिशत भयो । त्यस्तै, महिला उपसभापतिमा पुष्पा भूसालको मात्र उमेदवारी भएकोले उनी पनि सतप्रतिशत निर्वाचन भैसकेकी छन् । बाँकी २ खुला उपसभापतिमा ७ जना मैदानमा छन् । डां.मीनेन्द्र रिजाल र देवराज चालिसेले औपचारिकरुपमा उमेदवारी फिर्ता लिएकोले मैदानमा ७ जना बाँकी छन् । अहिले उपसभापतिको मैदानमा गोबिन्द, भट्टराई, डा. चन्द्रकान्त भण्डारी, प्रा.डा. चन्द्रमोहन यादव, दीपक गिरी, धनराज गुरुङ्ग, ई. मधु आचार्य, र सुरेन्द्र पाण्डे मैदानमा छन् । दुईटा पदका लागि ७ जनाको उमेदवारीमा प्रत्येकले जित्ने सम्भावना करिव २९ प्रतिशत रह्यो ।

उपसभापति समावेशीमा एक पदका लागि ५ जना मैदानमा छन् । जीवन परियार, फर्मल्ला मंसुर, विनोदकुमार चौधरी, रंजित कर्ण र सिता गुरुङ्ग मध्ये एक जना निर्वाचित हुने हुन् । यहाँ प्रत्येकको जित्ने संभावना २० प्रतिशतमात्र रह्यो ।
कांग्रेसको कार्यसम्पादनको जिम्मेवारीका आधारमा महत्वपूर्ण र शक्तिशाली मानिने महामन्त्री पदमा पनि तिब्र प्रतिस्पर्धा छ । विशेष महाधिवेशनबाट महामन्त्रीको जिम्मेवारीमा रहेका प्रदीप पौडेल र गुरुराज घिमिरे दुबै उमेदवार बनेका छन् । त्यस्तै, अमरसिंह पुन मगर, उदय शम्सेर राणा, नैनसिंह महर, डा.सन्तोष उपाध्याय, डा. सुनिल कुमार शर्मा र शंकर तिवारी मैदानमा छन् । २ पदका लागि ८ जनाको उमेदवारीले प्रत्येकको जित्ने संभावना २५ प्रतिशतमात्र हुन आउँछ ।
महामन्त्री महिला एक पदका लागि ३ जना मैदानमा छन् । डिला संग्रौला, महालक्ष्मी उपाध्याय डिना र रीता खनाल आपसमा प्रतिस्पर्धी छन् । यहाँ प्रत्येकको संभावना ३३ प्रतिशत हाराहारी हुन् आउँछ ।
सहमहामन्त्रीमा २ खुला, १ महिला र अन्य आरक्षित ८ पद मध्ये सबै भन्दा धेरै प्रतिस्पर्धा मधेशी समुहमा छ । मधेशी सहमहामन्त्री एक पदका लागि ८ जना मैदानमा छन् । यहाँ प्रत्येक एक जनाको निर्वाचित हुने सम्भावना करिब १२ प्रतिशत । महिला सहमहामन्त्रीमा दुई जना प्रतिस्पर्धी छन् । उनीहरुबीच निर्वाचित हुने स्थिति आधा आधा हो । दुई पद खुला सहमहामन्त्री पदमा १० जना मैदानमा छन् उनीहरु मध्ये प्रत्येकको जित्ने सम्भावना २० प्रतिशत मात्र हो । पिछडिएको क्षेत्रबाट सहमहामन्त्री एक पदका लागि ७ जनाको उमेदवारी छ । यस आधारमा उनीहरुबीचको सम्भावना १४ प्रतिशत हुन आउँछ ।

केन्द्रीय सदस्यमा अल्पसंख्यक समुहमा सर्वाधिक प्रतिस्पर्धाको अवस्था छ । अल्पसंख्यक एक पदमा १२ जनाको उमेदवारी परेको छ । उनीहरुबीचको प्रतिस्पर्धाको स्थिति ८ प्रतिशत हुन्छ । प्रत्येकले निर्वाचित हुने सम्भावना ८ प्रतिशतमात्र छ । त्यस्तै, अपांगता समुहबाट एक जना केन्द्रीय समिति सदस्य निर्वाचित हुनुपर्नेमा ९ जना उमेदवार छन् । उनीहरु मध्येबाट निर्वाचित हुने सम्भावना ११ प्रतिशत हुन् आउँछ ।
प्रदेशस्तरबाट केन्द्रीय सदस्य निर्वाचित हुने पदमा युवाहरुबीच धेरै प्रतिस्पर्धा देखिन्छ । ३५ वर्ष मुनिका युवाहरु मध्ये कोशी प्रदेशमा तिब्र प्रतिस्पर्धा देखिन्छ । ३५ वर्ष मुनिका युवा खुला एक पदमा १३ जना मैदानमा छन् । उनीहरुको सम्भावना ८ प्रतिशत मात्र हो । कोशी प्रदेशमा ३५ वर्ष मुनिका महिला युवा एक पदका लागि ८ जना मैदानमा छन्, जुन १३ प्रतिशत हुन्छ ।
मधेश प्रदेशमा ३५ वर्ष मुनिका युवाहरुका लागि एक पदमा १० जनाको उमेदवारी छ । ३५ वर्ष मुनिका महिला एक पदमा ३ जनाको उमेदवारी छ ।
यता, बागमति प्रदेशमा ३५ वर्ष मुनिका महिला र युवा खुला दुबैमा कडा प्रतिस्पर्धा देखिन्छ । ३५ वर्ष मुनिका महिला एक पदमा ७ जना छन् भने युवाहरु पनि एक पदका लागि ७ जना भिडेका छन् ।
पेशागत विषयविज्ञहरुबीचको प्रतिस्पर्धा पनि रोचक हुने देखिन्छ । पेशागत ५ खुला पदमा ४० जना मैदानमा उत्रिएका छन् । उनीहरुबीच प्रतिस्पर्धाको स्थिति करिव १३ प्रतिशतमात्र हो । महिला पेशागत विषयविज्ञ २ पदका लागि ४ जना मैदानमा छन् ।
नेपाली जनसम्पर्क समितिहरु मध्ये युरोपमा राम्रो भिडन्त हुने देखिन्छ । एक पदका लागि १० जना मैदानमा छन् ।
तथ्याङ्ककमा प्रतिस्पर्धाको स्थिति, जित्ने संभावना कति ? सबै पदको तथ्याङ्क तालिकामा ।

