सायद यही ऐतिहासिक स्मृतिको क्षयका कारण होला, नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन भइरहेको आजको नेपालमा देशका प्रधानमन्त्री बालेन शाहले समेत नेपाली कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्नुभएको छ।
पञ्चायतकालमा नेपाली कांग्रेसमा लाग्नु भनेको केवल एउटा राजनीतिक दलमा लाग्नु थिएन। राज्यको आँखामा त्यो एउटा अपराध थियो। कांग्रेसमा लागेका मानिसहरूलाई ‘अराष्ट्रिय तत्व’ भनिन्थ्यो। त्यो शब्द केवल सरकारी कागजमा लेखिएको एउटा विशेषण थिएन; त्यसले मानिसको परिचय, उसको नागरिकता र उसको राजनीतिक अस्तित्वमाथि नै प्रश्न उठाउँथ्यो।
बीपी कोइराला तथा गणेशमानजीमाथि काठमाडौं विशेष अदालतमा विभिन्न गम्भीर आरोप लगाउँदै सातवटा मुद्दा चलाइएका थिए। ती सातैवटा मुद्दाका आरोपपत्रमा ‘अराष्ट्रिय तत्व’ भन्ने शब्द र त्यससँग जोडिएका अनेकौं आरोपहरू भेटिन्छन्। अर्थात्, त्यसबेला पुरै नेपाली कांग्रेसको सरकारी पहिचान नै ‘अराष्ट्रिय तत्व’को थियो।
वि.सं. २०३५ कार्तिक १२ गते प्रकाशित राजपत्रको भाषा आज पढ्दा झन् अनौठो लाग्छ। त्यसमा लेखिएको थियो—
“श्री ५ महाराजाधिराजबाट, पहिले अराष्ट्रिय तत्वमा लागेको देहायका व्यक्तिहरूलाई स्वदेशभित्र नेपालको संविधानबमोजिम शान्तिपूर्वक रहन बस्न पाउने गरी निजहरू मध्ये कैद र जरिवानाका सजाय पाएकाहरूलाई सो सजायसमेत नेपालको संविधानबमोजिम माफी गरिबक्सेको छ।”
त्यस सूचीमा पछि सद्भावना पार्टीका संस्थापकहरूमध्येका रामजनम तिवारी—जो त्यसबेला नेपाली कांग्रेसमै हुनुहुन्थ्यो—सहित सिके प्रसाईं, रामेश्वरप्रसाद सिंह, विश्वनाथ अग्रवाल, काशीप्रसाद श्रीवास्तव, सूर्यबहादुर गुरुङ, दुर्गादत्त जोशी लगायतका नेताहरूका नाम थिए।
आजको पुस्ताले त्यस समयको पीडा अनुमान गर्न पनि कठिन छ। अहिले ‘अराष्ट्रिय तत्व’ भन्ने शब्द सुन्दा एउटा पुरानो राजनीतिक गालीजस्तो मात्र लाग्न सक्छ। तर त्यसबेला त्यो राज्यले दिएको परिचय थियो। जेल, निर्वासन, मुद्दा, प्रतिबन्ध र सामाजिक अपमान—सबै त्यसै परिचयका परिणाम थिए।
त्यसबेला हामी राजपत्रको त्यो भाषा पढेर हाँस्थ्यौं। तर त्यो हाँसोभित्र पनि समयको विडम्बना थियो।
राजालाई वरिपरिका केही पञ्च र दरबारियाहरूले सुझाएका थिए—सरकारले ‘अराष्ट्रिय तत्व’लाई माफी दिनु हुँदैन। एकपटक नेपालको कानुनअनुसार ‘अराष्ट्रिय तत्व’को श्रेणीमा दरिइसकेपछि ऊ सदाका लागि ‘अराष्ट्रिय’ नै रहने मान्यता स्थापित गरिएको थियो।
पछि यदि त्यस्ता मानिसलाई माफी दिनुपर्ने अवस्था आयो भने राजपत्रको भाषामा ‘पहिले अराष्ट्रिय तत्वमा लागेका’ भन्नुपर्थ्यो। अर्थात्, उनीहरू पहिले अराष्ट्रिय थिए; राजाले माफी दिने बेलासम्म उनीहरू अराष्ट्रिय रहेनन्।
शब्दको यो सानो खेलभित्र पनि त्यस समयको राज्यसत्ताको मनोविज्ञान लुकेको थियो।
दरबार कर्मकाण्डी थियो। शब्दमा पनि कर्मकाण्ड थियो, सम्बोधनमा पनि, क्षमादानमा पनि। सप्तरीका सम्मानित नेता रामेश्वरप्रसाद सिंह—जसलाई हामी सप्तरीयाहरू स्नेह र सम्मानका साथ ‘हजूर’ भन्थ्यौं—त्यही आममाफीको सूचीमा क्रम संख्या ३ मा हुनुहुन्थ्यो।
हाम्रा सप्तरीका मानिसहरू कानुनी कुरामा सचेत मानिन्छन्। रामेश्वरप्रसाद सिंह त झन् कानूनका ज्ञाता नै हुनुहुन्थ्यो। आममाफी पाएपछि भारतको निर्वासन त्यागेर स्वदेश फर्किंदा उहाँले राजबिराजमा त्यही राजपत्रको कुटिल भाषाको आशय सुनाउनुभएको मलाई सम्झना छ।
त्यो कठिन समय थियो।
आजको पुस्ताले त्यस समयको पीडा अनुमान गर्न पनि कठिन छ। अहिले ‘अराष्ट्रिय तत्व’ भन्ने शब्द सुन्दा एउटा पुरानो राजनीतिक गालीजस्तो मात्र लाग्न सक्छ। तर त्यसबेला त्यो राज्यले दिएको परिचय थियो। जेल, निर्वासन, मुद्दा, प्रतिबन्ध र सामाजिक अपमान—सबै त्यसै परिचयका परिणाम थिए।
सायद यही ऐतिहासिक स्मृतिको क्षयका कारण होला, नेपाली कांग्रेसको पन्ध्रौं महाधिवेशन भइरहेको आजको नेपालमा देशका प्रधानमन्त्री बालेन शाहले समेत नेपाली कांग्रेसलाई ‘नयाँ पार्टी’ भन्नुभएको छ।
समयले मानिसलाई बिर्साउँछ। राजाहरूलाई पनि बिर्साउँछ। पञ्चायतलाई पनि बिर्साउँछ। तर इतिहासलाई बिर्सनु र इतिहासको पुनर्मूल्यांकन गर्नु एउटै कुरा होइन।
राहदानीका लागि उहाँले तत्कालीन राजकीय परिषद्का अध्यक्ष रहेका वीरेन्द्रसमक्ष वि.सं. २०२७ सालमा निवेदन गर्नुभयो। बीपी पनि राज्यको दृष्टिमा ‘अराष्ट्रिय तत्व’कै श्रेणीमा हुनुहुन्थ्यो। उहाँलाई राहदानी दिइएन।
आज कतिपय मानिसहरू राजालाई खोजिरहेका छन्। झिनो रूपमा देखिने रेशमी पर्दापछाडि राजाका तस्वीर झुण्ड्याइएका छन्। राजाका गुणगान सुनिन्छन्। तर राजाका शासनकालका व्यवहार सम्झन त्यति रुचि देखिँदैन।
इतिहास केवल तस्वीरले बन्दैन। तस्वीरको पछाडिको समय पनि पढ्नुपर्छ।
लगातार आठ वर्ष जेल जीवन बिताएपछि बीपी कोइराला वि.सं. २०२५ सालमा जेलबाट रिहा हुनुभएको थियो। लामो समयदेखि क्यान्सरबाट पीडित बीपी जेलबाट निस्किएपछि उपचारका लागि विदेश जान चाहनुहुन्थ्यो। तर उहाँको राहदानी पहिल्यै अमान्य गरिएको थियो।
राहदानीका लागि उहाँले तत्कालीन राजकीय परिषद्का अध्यक्ष रहेका वीरेन्द्रसमक्ष वि.सं. २०२७ सालमा निवेदन गर्नुभयो। बीपी पनि राज्यको दृष्टिमा ‘अराष्ट्रिय तत्व’कै श्रेणीमा हुनुहुन्थ्यो। उहाँलाई राहदानी दिइएन।
राजकाजको जिम्मेवारीमा रहेका वीरेन्द्रबाट मानवीय आधारमा समेत राहदानी दिन अस्वीकार गरिएको प्रत्युत्तर पत्रको प्रति तल राखेको छु। त्यो पत्र पढ्नेले त्यस समयको राज्यसत्ताको मनोविज्ञान बुझ्न सक्छन्। जनप्रिय भनेर चिनिएका राजाको पनि अतीत सधैं हामीले आज सम्झेजस्तो उदार थिएन भन्ने कुरा त्यसले देखाउँछ।
पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय झण्डा झुकाइएन। सार्वजनिक बिदाको त कल्पना नै गरिएन। किनभने बीपीको सरकारी परिचय अझै पनि त्यही थियो ‘अराष्ट्रिय तत्व’।
यस्ता अनेकौं दस्तावेज छन्—कतिपय प्रकाशित, कतिपय अझै अप्रकाशित। राजनीतिक घटनाक्रमलाई स्मृतिमा राख्नेहरू केही जीवित छन्; धेरैजसो समयसँगै विदा भइसके। हामीमध्ये केही भने पछिल्ला घटनाका प्रत्यक्ष साक्षी छौं।
बीपी कोइरालाको देहावसान वि.सं. २०३९ सालमा भयो। त्यसबेला श्री ५ वीरेन्द्र राजा हुनुहुन्थ्यो।
पूर्वप्रधानमन्त्री बीपी कोइरालाको निधनमा राजाबाट सुशीला कोइरालालाई समवेदना सन्देश पठाइयो। त्यसमा भनिएको थियो—“कुनै पनि नेपालीको मृत्युमा हामीलाई दुःख लाग्नु स्वाभाविक नै हो। कोइरालाको मृत्युबाट हामी दुःखी छौं।” पूर्व प्रम भन्ने पनि उल्लेख गरिएन।
तर राज्य दुःखी भएन।
पूर्वप्रधानमन्त्रीको निधनमा राष्ट्रिय झण्डा झुकाइएन। सार्वजनिक बिदाको त कल्पना नै गरिएन। किनभने बीपीको सरकारी परिचय अझै पनि त्यही थियो ‘अराष्ट्रिय तत्व’।
आज यी कुरा लेख्नुको मेरो उद्देश्य राजाहरू वा पञ्चहरूको एउटा मात्र रूपको तस्वीर प्रस्तुत गर्नु होइन। इतिहासलाई कालो र सेतोमा मात्र चित्रित गर्नु पनि होइन। मेरो उद्देश्य त्यतिबेलाको राजनीतिले बोकेको ध्येय सम्झाउनु हो।
कहिलेकाहीँ त्यो ध्येयका लागि अपमान पनि सहनुपर्थ्यो।
एकपटक, धेरै पछि राजनीति उदार हुदै गएको समयमा, दरबारमा निम्त्याइएका बीपीलाई दरबारको मूल गेटबाटै फर्काइयो। कारण भनियो—बीपीको पोशाक मिलेन। उहाँले राष्ट्रिय पोशाक लगाउनुभएको थियो। तर अस्कोट थिएन, वा पोशाकको रंग मिलेन।
बीपी फर्किनुभयो।
सुन्ने र जान्नेहरूमा रोष थियो। भोलिपल्ट प्रेसले बीपीलाई सोध्यो—त्यस व्यवहारबाट तपाईंले आफूलाई कति अपमानित महसुस गर्नुभयो?
बीपी हाँस्नुभयो र भन्नुभयो—
“मेरो राजनीति नेपालीहरूको मान बढाउनका लागि हो। मेरो मान र अपमानको कुनै अर्थ छैन।”
यही एउटा वाक्यमा त्यो समयको सम्पूर्ण राजनीतिक संघर्षको अर्थ भेटिन्छ। आफ्नो मानका लागि होइन, नेपालीहरूको मानका लागि राजनीति। आफ्नो सुविधा, पद र प्रतिष्ठाका लागि होइन, एउटा स्वतन्त्र र सम्मानित नागरिकको भविष्यका लागि राजनीति।
आफूमाथि ‘अराष्ट्रिय’को आरोप लाग्दा पनि राष्ट्रको पक्षमा उभिइरहनु। जेल पर्दा पनि नझुक्नु। निर्वासनमा जाँदा पनि नटुट्नु।
राज्यले दिएको अपमानलाई व्यक्तिगत बदला नबनाउनु। र, अन्ततः आफ्नै अपमानलाई पनि नेपाली जनताको सम्मानभन्दा सानो ठान्नु।
आज हामीले त्यो समय बिर्सनु हुँदैन।
किनभने प्रजातन्त्र केवल संविधानमा लेखिएको व्यवस्था होइन। प्रजातन्त्र ती मानिसहरूको लामो यात्रा हो, जसले कहिलेकाहीँ राज्यकै आँखामा ‘अराष्ट्रिय’ भएर पनि राष्ट्रप्रतिको आफ्नो विश्वास छोडेनन्।
त्यो यात्रामा जेल थियो, निर्वासन थियो, मुद्दा थियो, अपमान थियो, रोग थियो, मृत्यु थियो। तर त्यसका अगाडि एउटा ठूलो ध्येय थियो।
ध्येय थियो—राजनीतिको।
नोट: जयप्रकाश आनन्दको फेसबुकबाट साभार ।