काठमाडौं १८ अशोज ।

नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा नेतृत्व चयनसँगै पार्टीको आर्थिक धारसमेत स्पष्ट पार्ने बहस अघि बढेको छ। बदलिँदो विश्व अर्थतन्त्र र नेपालको आन्तरिक आर्थिक अवस्थालाई ध्यानमा राख्दै कांग्रेसले खुला अर्थतन्त्र, निजी क्षेत्रको नेतृत्वमा उत्पादन तथा लगानी र सामाजिक सुरक्षासहितको आर्थिक विकासलाई आफ्नो नीतिको आधार बनाउने संकेत गरेको छ।

कांग्रेसभित्र बीपी कोइरालाले अघि सारेको लोकतान्त्रिक समाजवादलाई समयअनुकूल पुनर्व्याख्या गर्दै सामाजिक लोकतन्त्रको अवधारणासँग जोड्ने बहस चलिरहेको छ। यही क्रममा निजी क्षेत्रको भूमिका, लगानी सुरक्षा, कर स्थायित्व र राज्यको भूमिकालाई समेत नयाँ ढंगले परिभाषित गर्न खोजिएको कांग्रेसका कोषाध्यक्ष उमेश श्रेष्ठले बताए।

‘अब राज्य र निजी क्षेत्रबीच अविश्वासको सम्बन्ध होइन, विश्वास, सहकार्य र प्रतिस्पर्धाको वातावरण आवश्यक छ,’ श्रेष्ठले भने, ‘निजी क्षेत्रलाई आर्थिक विकासको साझेदारका रूपमा हेर्ने र लगानीका लागि सुरक्षित तथा पूर्वानुमानयोग्य वातावरण बनाउने विषयलाई हामीले प्राथमिकतामा राखेका छौँ।’