कांग्रेस १५ औं अधिवेशन : विशेषको ह्याङ्गओभर अन्त्य होस्
विशेष समयको आवश्यकता थियो, त्यसले निकास दियो । अब फेरी विशेषकै ह्याङ्गओभरमा अल्झिरहने सुबिधा छैन, कांग्रेसजनलाई । १५ औं अधिवेशनले विशेषको ह्याङ्गओभर अन्त्य गरोस्, त्यसैमा कांग्रेसको भलो छ ।
समाचार टिप्पणी
नेपाली कांग्रेस १५ औं महाधिवेशनमा जुटेको छ । मुलकभरबाट र विदेशबाट समेत ७ हजार बढी महाधिवेशन प्रतिनिधि राजधानीमा जम्मा भएका छन् । उनीहरुले कांग्रेसलाई मागदर्शन गर्ने छन्, नयाँ नेतृत्व चयन गर्ने भनिदैंछ ।
‘परम्पराको सम्मान, परिवर्तनको संकल्प, समुन्नत नेपालको लागि सबल कांग्रेस अबको विकल्प’ १५ अधिवेशनको नारा हो । अधिवेशनलाई उसले ‘गौरव, गति र गन्तव्य’ भनेको छ । नेपालको लोकतान्त्रिक राजनीतिक यात्रामा ८ दशकदेखि अनवरत नेतृत्यदायी भूभिकामा रहेको कांग्रेस यतिखेर प्रश्नहरुबीच छ । परम्परावादी, वामपन्थी शक्तिहरुसँग भिड्दै आएको कांग्रेस पछिल्ला केही वर्षयता वैकल्पिक राजनीतिको दबावमा थियो । वैकल्पिक राजनीतिको आकार विस्तार हुँदै मूलधारमा यतिखेर अर्को शक्ति उदय भएको छ । सम्भवत आगामी दिन कांग्रेस इतिहासको मूल्यमा चुनौतीपूर्ण वर्तमानसँग प्रतिस्पर्धा गर्ने स्थितिमा हुने छ ।
कांग्रेस सामु वर्तमानमा आन्तरिक र वाह्य दुबै चुनौती छन् । लोकतान्त्रिक पहिचान, मूल्य पद्धति, लोकतान्त्रिक विरासत जोगाउँदै मुलुककालागि आफ्नो आवश्यकता र औचित्य स्पष्ट गनुृपर्ने आवश्यकता टड्कारो बनेको छ ।
समय बद्लिएको छ, गत पुसको चिसोमा कांग्रेसले यहीँ राजधानीबाट उद्घोष गरेको थियो ‘ बद्लियौं हामी, बद्लिन्छौं देश’ । अब यतिखेर कांग्रेसजनले आत्मसात गर्दे आफैलाई प्रश्न गर्नुपर्ने हुन्छ, कति बद्लियौं आफूहरु, देशमा के के बद्ल्यौं ?
विशेष अधिवेशन पक्ष अधिवेशनमा राजनीतिक प्राधिकारकोरुपमा प्रकट भयो, प्रर्दशन गरियो र आफूलाई परिवर्तनकामीको संज्ञा दिदै किराराकृत गर्ने अभ्यास गरियो।
सत्ताराजनीतिको खेलमा लोकतन्त्रका आर्दशलाई कुल्चिएर कांग्रेस चुनावी गठबन्धन, गुटपरस्त राजनीति र पार्टी आफै वामपन्थीकरणको दुश्चक्रमा फस्दै गएको थियो। पार्टीमा मौलाएको सत्ता राजनीति, गुटबन्दी, भष्ट्राचारजन्य कुशासन र जड्भरता विरुद्धमा भुईतहका कार्यकर्ताले जेहाद छेडेका हुन् गत पुषमा । विशेष अधिवेशनले कांग्रेसमा उथलपुथल ल्यायो । त्यसैले स्थापित गरेको नेतृत्व यतिखेर १५ औं महाधिवेशन गर्देछ । अहिले पनि विशेष महाधिवेशन र नियमित महाधिवेशनको विभाजन छ, राजनीतिक सतहमा। कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको पक्ष, समानान्तरमा १५ औं महाधिवेशको प्रचारमा छ, वैधानिकताको दाबा गर्ने आधार तयार गरिरहेको देखिन्छ ।
विशेष अधिवेशनले पाएको वैधानिकता माथिका प्रश्नहरु मरेका छैनन्, भलै कमजोर अवस्थामा छन् । राजनीतिक धरातलमा विशेषले जितेको छ । कानूनी, प्रशासनीक प्रश्नहरु सम्बोधन हुन बाँकी छन् । के यो महाधिवेशनले ति प्रश्नहरुको औचित्य समाप्त गर्दे छ ?
के कांग्रेस त्यस्तो सामथ्र्य राख्दछ ? सतहको राजनीतिमा प्रश्नहरु गौण बनिरहेका त छैनन्, कांग्रेसजनले आत्म विवेचना गर्ने बेला हो, अहिले । प्रश्नहरु मरेका छैनन्, प्रश्नहरु मर्देनन्, मर्नु हुँदैन भन्ने विशेष अधिवेशनको पहिचार धुमिल त भैरहेको त छैन ?विशेष अधिवेशन पछिका १० महिनामा कांग्रेस कुन अवस्थामा कसरी गुज्रियो ? विशेष अधिवेशनमा कांग्रेसका त्यसबेलाका करिब ६० प्रतिशत महाधिवेशन प्रतिनिधि सहभागि थिए । बाँकी ४० प्रतिशत गैर विशेष थिए । महाधिवेशनको संघारमा गैर विशेषहरु मुलधारमा फर्र्किएका हुन् । ‘रुखको छडारी र चार तारेको ओत’ छोड्न नसकै कारण ठूलो संख्याका कांग्रेसजनले विशेषलाई स्वीकारेका हुन् । यस्तो भावनात्मक एकताको राजनीतिक सम्बोधन कसरी हुने हो ? समय बद्लिएको छ ।
लामो समयदेखी आफै सत्ता र आफै भित्रबाट प्रतिपक्षको अभ्यास गर्दे आएको कांग्रेसलाई समयले अब त्यस्तो छुट दिएको छैन । समयले कांग्रेसको विकल्पमा शक्तिहरु खडा गरिसकेको । ओरालो लाग्दै गरेको वामपन्थी धार, किनाराकृत हुँदै गरेको परम्परागत र नयाँ उदाएको शक्तिबीच कांग्रेसले आफूलाई मुलुकको प्रमुख राजनीतिक शक्तिमा स्थापित हुने नीति, कार्ययोजना र रणनीति १५ औं महाधिवेशनले मार्गदर्शन गर्नसक्नुपर्दछ । यसका लागि सबै भन्दा पहिला कांग्रेसजन विशेष महाधिवेशनको ह्याङ्गओभरबाट मुक्त हुन् अत्यावश्यक छ ।
पार्टी सत्ता, राजकीय सत्ताका विशेषता हुन्, जो वरिपरि छ, त्यो नै सत्य ठानिन्छ । नजिककाहरुनै ठिक, अरु सबै बेठिक, यस्तो मनोविज्ञानबाट कांग्रेस नेतृत्व बरालिइरहेको त छैन ? वडादेखि क्षेत्रीय अधिवेशन सम्पन्न भएका छन् । कसरी सम्पन्न भए ति अधिवेशनहरु ? मसिनोसँग केलाउन आवश्यक छ ।
कांग्रेसका क्षेत्रीय अधिवेशनसम्मका अभ्यासहरु जो देखिए त्यस आधारमा कांग्रेस बद्लिएको देखिदैंन । मुलुकभर विशेष अधिवेशन पक्ष र गैर विशेष अधिवेशनका रेखाहरु कोरिए ।
पार्टी सभापति गगन थापाको ‘कांग्रेस दास र लासहरुको पार्टी होइन’ राजनीतिक वृतमा अधिक प्रयोग भएको शब्दाबली हो यो । कांग्रेसको मौलिक चरित्रसँग सम्बन्धित यी शब्दावली नारा, भाषणमा बढी प्रयोग भएको त छैन ? कांग्रेसका क्षेत्रीय अधिवेशनसम्मका अभ्यासहरु जो देखिए त्यस आधारमा कांग्रेस बद्लिएको देखिदैंन । मुलुकभर विशेष अधिवेशन पक्ष र गैर विशेष अधिवेशनका रेखाहरु कोरिए । विशेष अधिवेशन पक्ष अधिवेशनमा राजनीतिक प्राधिकारकोरुपमा प्रकट भयो, प्रर्दशन गरियो र आफूलाई परिवर्तनकामीको संज्ञा दिदै किराराकृत गर्ने अभ्यास गरियो । कतिपय क्षेत्रमा वडाबाट चुनिने क्षेत्रीय प्रतिनिधिहरुमा स्वफूर्त चयन हुन सकेनन् र लोकतान्त्रिक आवरणमा समुहगत पक्षहरुबीच चुनावी अभ्यास भएको देखियो । थोरै सर्वसम्मत, धेरै निर्वाचन भए ? निर्वाचन कसरी भए ? कुन मुल्यमा आधारित भएर निर्वाचन गरियो । विशेष अधिवेशन पक्षधर संस्थापन हो यतिखेर । तर, पार्टी प्रति जिम्मेवार, जवाफदेही र संवेदनशील भएर प्रस्तुत भयो विशेष अधिवेशन पक्षधरहरु कि अंहकार, अभिमान प्रकट गरियो ? विशेष पक्षको भूमिकालाई कांग्रेसले खुला दिमागले मनन् गर्नुपर्ने विषय बनेको छ । समुहगत लिस्ट बनाउने, स्वघोषित नेताहरुले दिएको त्यहीँ चिटको आधारमा मतपत्रमा चिन्ह लगाउने प्रवृति जताततै देखियो । विवेकलाई बन्धक बनाउने यस्तो अभ्यासले ‘कांग्रेस दास र लासहरुको पार्टी होइन’ भन्ने राजनीतिक ओजलाई धमिल्याएको देखिदैंछ ।
१५ औं अधिवेशनसम्म आइपुग्दा कांग्रेसको स्वरुप बद्लिएको छ । ठूलो संख्यामा तरुण, युवाहरु पार्टीको मूलधारमा आएका छन् । महिलाहरुको उपस्थिति बाक्लिएको । पेशागत विज्ञ, विशेषज्ञहरु आकर्षित भएका छन् । उनीहरुको उपस्थिति गणितमात्र नबनोस् । उनीहरुको उर्जा, विचारलाई राजनीतिक मार्गमा उपयोग गर्ने मेकानिजम बन्न, बनाउन आवश्यक छ अब । मुलुकमा युवाहरुको बाहुल्य छ । उनीहरुको जनसाख्यिक आकारलाई कांग्रेसले उपयोग गर्नसक्नुपर्दछ ।
विशेष अधिवेशन समयको आवश्यकता थियो । कांग्रेसको जीवनमा दोश्रो विशेष अधिवेशन घटनामात्र होइन परिघटनाको स्थान लिएको छ । विशेषलाई विस्तृतिमा राख्दै समयको पद्चापलाई पकड्न सक्नुपर्दछ कांग्रेसले । विशेष समयको आवश्यकता थियो, त्यसले निकास दियो । अब फेरी विशेषकै ह्याङ्गओभरमा अल्झिरहने सुबिधा छैन, कांग्रेसजनलाई । १५ औं अधिवेशनले विशेषको ह्याङ्गओभर अन्त्य गरोस्, त्यसैमा कांग्रेसको भलो छ ।

