महाधिवेशनको सम्पूर्ण प्रयास पार्टीमा विधि र पद्धति निर्माणमा केन्द्रीत हुने छ : प्रवक्ता देवराज
महाधिवेशनले नेतृत्व चयनमा सीमित हुने छैन । ‘उर्जाशील नयाँ संकल्प’ नै पन्ध्रौ महाधिवेशनको मुल मन्त्र हो । अधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माणमा गर्नमा केन्द्रीत हुने छ ।
काठमाडौं, १७ असोज ।
नेपाली कांग्रेस १५ औं महाधिवेशनमा होमिएको छ । मुलुकभरबाट ७ हजार बढी महाधिवेशन प्रतिनिधि काठमाडौं आउँनेक्रममा छन् । उनीहरु केन्द्रीय कार्यालमा आआफ्नो नाम दर्ता गराउँदैछन् र भोली खुलामञ्चमा उद्घाटन समारोह आयोजना हुँदै छ । उद्घाटन र महाधिवेशनका बन्दसत्र स्थल खुलामञ्चमा रातोदिन तयारीका काम भैरहेको देखिन्छ ।
दोश्रो विशेष महाधिवेशनबाट आएको गगनकुमार थापा नेतृत्वको कांग्रेसले महाधिवेशनमा के के गर्देछ ? शनिबार महाधिवेशन आयोजना स्थलमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता देवराज चालिसे भन्दै थिए— यो महाधिवेशनले नेतृत्व चयनमा सीमित हुने छैन ।

‘ उर्जाशील नयाँ संकल्प’ नै पन्ध्रौ महाधिवेशनको मुल मन्त्र हो । छलफल सत्रमा नयाँ संकल्पका विषयमा गहन छलफल हुने छ र यसको कार्यान्वयनको खाका तयार गरिने छ ’ पत्रकार सम्मेलनमा वितरित प्रेस नोटमा भनिएको छ ‘यो महाधिवेशनले यी संकल्पलाई कसले कार्यान्वयन गर्नसक्छ भनेर नेतृत्व चयन गर्ने छ । यो अधिवेशनको सम्पूर्ण प्रयास कांग्रेसमा विधि र पद्धति निर्माणमा गर्नमा केन्द्रीत हुने छ ।’
महाधिवेशनमा बिपि कोइरालालाई इतिहासबाट भविष्यसँग जोडने र मुलुकको समृद्धिको वैचारिक आधार बिपि विचारलाई बनाइने यो महाधिवेशन नेतृत्व चयनमा सीतित नहुने चालिसेले बताए । ‘लोकतन्त्रलाई नयाँ पुस्तासँग जोड्ने, सुशासनलाई राज्यको संस्कार बनाउने र युवालाई भविष्य देखाउने राष्ट्रिय संकल्प बोकेको महाधिवेशन हुने छ’ प्रेस नोटमा भनिएको छ ‘ नेपाली राजनीतिमा नेपाली कांग्रेसले धेरै रच्यो र अब हामी नयाँ इतिहास निर्माण गर्न चाहन्छौं । नेपाली कांग्रेसले अब बिपि कोइरालालाई इतिहासबाट भविष्यसँग जोड्ने छ । यसका लागि देशको समृद्धिको वैचारिक आधार बिपि विचारलाई बनाइने छ ।’
आईतबार उद्घाटन हुने, १९ र २० गते बन्द सत्र सञ्चालन तथा उमेदवारी दर्ताको कार्यक्रम छ । बन्दसत्रमा सभापति, उपसभापति, महामन्त्री र कोषाध्यक्षले अलग अलग प्रतिवेदन पेश गर्ने छन् । बन्दसत्रमा भूगोलका आधारमा तीनवटा सभाहलमा समुह बनाएर छलफल हुने र प्रत्येक हलमा डिजिटल बोर्डबाट सहभागिहरुले प्रस्तुत प्रतिवेदन सुन्न र हेर्न पाउँने व्यवस्था गरिएको बताइएको छ ।

