महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निशेध गरिएको छ — कांग्रेस आचारसंहिता ।

काठमाडौं, १६ असोज ।

नेपाली कांग्रेसले १५ औं महाधिवेशनलाई प्रविधि मैत्री बनाउने नीति लिएको छ । पार्टीको निर्वाचन समितिले १५ औै महाधिवेशनलाई लिएर शुक्रबार जारी गरेको आचारसंहितमा
भोटकोशी बाढी र हालसालैको प्रकोपबीच हुन गैरहेको महाधिवेशलाई ध्यानमा राख्दै प्रचारमा डिजिटल माध्यममात्र प्रयोग गर्न भनेको छ ।


निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले विज्ञप्तिमा भनेका छन् ‘विपद्को यो विशेष परिस्थिति, राष्ट्रिय संवेदना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै केन्द्रीय निर्वाचन समितिले महाधिवेशनमा नेतृत्वका लागि विभिन्न पदमा उम्मेदवारी दिनुहुने आकांक्षी तथा उम्मेदवारहरूका लागि निर्वाचन आचारसंहितामा साविकका व्यवस्थाका अतिरिक्त थप तथा कडा प्रावधानहरू लागू गर्ने निर्णय गरेको छ ।’
निर्वाचन समितिले जारी गरेको ४ बुँदे आचारसंहितमा भनिएको छः
१. तडकभडक र भड्किलो प्रचारप्रसारमा पूर्ण रोक, विपद्पछिको परिस्थितिलाई सम्मान गर्दै महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन जुनसुकै प्रकारका भड्किला प्रचार अभियानहरूलाई पूर्ण रूपमा निषेध गरिएको छ ।
२. प्रिन्ट तथा भौतिक प्रचार सामग्रीमा पूर्ण प्रतिबन्ध, महाधिवेशन स्थल तथा आसपासका कुनै पनि क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेट वा अन्य कुनै पनि प्रकारका प्रिन्टेड प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण रूपमा निशेध गरिएको छ ।
३. महाधिवेशन स्थल बाहिर प्रचारप्रसार गर्न नपाइने, महाधिवेशन स्थलको बाहिरी परिसर, सार्वजनिक सडक वा आसपासका क्षेत्रहरूमा कुनै पनि प्रकृतिका भौतिक प्रचार सामग्रीहरू राख्न वा प्रदर्शन गर्न सख्त मनाही गरिएको छ ।
४. डिजिटल तथा प्रविधिमैत्री प्रचारप्रसार मात्र अनुमति, उम्मेदवारहरूले आफ्ना एजेण्डा र उम्मेदवारी सम्बन्धी विवरण केवल डिजिटल माध्यम ९सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट मात्र सम्प्रेषण गर्न सक्नुहुनेछ।
‘उल्लेखित आचारसंहिताको पूर्ण पालना गरी विपद्को यो घडीमा देश र जनताप्रतिको दायित्व बोध गर्दै १५ औँ महाधिवेशनलाई अनुशासित, मर्यादित र भव्य रूपमा सम्पन्न गराउन सम्पूर्ण आदरणीय नेता, कार्यकर्ता, उम्मेदवारज्यूहरू तथा शुभेच्छुकहरूमा केन्द्रीय निर्वाचन समिति हार्दिक अपिल गर्दछ’निर्वाचन समितिले भनेको छ ‘निर्वाचन आचारसंहिताको उल्लघंन भएमा नियमानुसार कारबाही हुने व्यहोरा समेत यसै विज्ञप्ति मार्फत स्पष्ट पारिन्छ।’

मुलकभर १०० बढी डिजिटल बोर्डबाट अधिवेशनबारे प्रचार

यता, पार्टी प्रवक्ता देवराज चालिसेले पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा राजधानी काठमाडौं उपत्यकाका मुख्य चोक चौबाटा लगायत प्रमुख सहर बजारमा एक सय बढी डिजिटल बोर्डबाट अधिवेशनको प्रचार प्रसार भैरहेको जानकारी दिए ।
‘ कार्यक्रमस्थलमा एउटा मुलगेट बाहेक अरु कुनै प्रचार सामाग्री शहर बजारमा टाँगिने छैन । तसर्थ अशोज १५ देखि काठमाडौं उपत्यका लगायत देशका प्रमुख शहर बजारमा रहेका करिब १०० डिजिटल बोर्डबाट पन्ध्रौ महाधिवेशन सम्बन्धी सूचना र सन्देशहरु प्रवाह गर्न सुरु गरिएको छ’ चालिसेले भने ‘ महाधिवेशनमा उमेदवार हुने साथीहरुलाई पनि प्रचारप्रसारका डिजिटल माध्यम मात्र प्रयोग गर्न पार्टी आग्रह गर्दछ ।’

चालिसेले महाधिवेशनको तयारी पुरा भएको, प्रतिनिधिहरु छनौट हुने क्रम लगभग  सकिएको  बताए । उनले प्रमुख राजनीतिक पार्टीका नेताहरुलाई महाधिवेशन उद्घाटनमा आमन्त्रण गरिएको जानकारी दिदै भने ‘ अन्तर्राष्ट्रिय अतिथिहरुमा सोसलिस्ट इण्टरनेशनलकी कार्यकारी संयोजक चन्ताल काम्बिवा महाधिवेशनमा सहभागि हुन नेपाल आइसक्नु भएको छ । अन्तर्राष्ट्रिय अतिथिहरुको सहभागिता सुनिश्चित हुने क्रम जारी छ ।’
चालिसेले महाधिवेशनमा ७ हजार सातसय बढी प्रतिनिधि सहभागि हुने बताए । उनले पार्टीको विद्यानमा परिवर्तन गरेर केही पदाधिकारी थप्नेबारे विचार विमर्श भैरहेको जानकारी दिए ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवत्ता प्रेमबहादुर खड्काले मुलकका १६५ निर्वाचन क्षेत्र मध्ये सबैजसोबाट प्रतिनिधि छनौट भैसकेको बताए । खड्काले भने
‘शुक्रबार अपराह्नसम्म १५८ निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनौट भैसकेक छन्, आज ३, ४ वटा क्षेत्रमा चुनाव हुँदैछ, १, २ वटामा बाहेक सबै क्षेत्रबाट प्रतिनिधि आउँछन् ।’