भोटेकोशी बाढी ऊर्जा संरचना पुनर्निर्माण : तीन खर्ब ९० अर्ब, निर्माणको दोब्बर बढी खर्च लाग्ने प्रारम्भिक अनुमान
बाढीबाट प्रभावित १३ जलविद्युत् आयोजनाको कुल क्षमता ७५९ मेगावाट रहेको छ, जसमध्ये करिब ५०८ मेगावाट क्षमताका छ आयोजना निर्माणाधीन अवस्थामा थिए ।
काठमाडौंं, १४ अशोज ।
भोटेकोशी र त्रिशूली बाढीबाट प्रभावित ऊर्जा क्षेत्रको पुनरुत्थान तथा पुनर्निर्माणका लागि करिब तीन खर्ब ९० अर्ब रुपैयाँ आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुशीलचन्द्र आचार्यले प्रभावित ऊर्जा संरचनाको लगानी मूल्य करिब एक खर्ब २४ अर्ब रुपैयाँ रहे पनि पुनर्निर्माणका क्रममा संरचनागत परिवर्तन, मूल्यवृद्धि र नदीको सतह बढेकाले लागत करिब तीन खर्ब ९० अर्ब रुपैयाँसम्म पुग्ने अनुमान गरिएको तथ्याङ्क तयार पारेका छन् ।
आचार्यले भोटेकोशी–त्रिशूली बाढीका कारण क्षतिग्रस्त आयोजना मुलुकको कूल उत्पादन क्षमताको करिब १० प्रतिशत हो । त्यस क्षेत्रमा ४३० मेगावाट विद्युत् उत्पादन क्षमताका आयोजना प्रभावित भएका छन् । नेपालको हालको जडित विद्युत् क्षमता करिब तीन हजार ३०० मेगावाट हो ।
सरकारी विवरणअनुसार बाढीबाट प्रभावित १३ जलविद्युत् आयोजनाको कुल क्षमता ७५९ मेगावाट रहेको छ, जसमध्ये करिब ५०८ मेगावाट क्षमताका छ आयोजना निर्माणाधीन अवस्थामा थिए ।
प्रसारणतर्फ त्रिशूली–३ बी हब सबस्टेसनमा ठूलो क्षति पुगेका कारण उत्पादन भएको विद्युत् प्रसारण गर्न समस्या भएको मन्त्रालयले जनाएको छ । बाढीबाट विद्युत् उत्पादन तथा प्रसारण संरचनामा पुगेको क्षतिका कारण ठूलो परिमाणको विद्युत् राष्ट्रिय प्रणालीमा जोड्न नसकिएको जनाइएको छ।
सरकारी द्रुत क्षति तथा आवश्यकता आकलन अनुसार ऊर्जा तथा ग्रिड प्रणालीलाई पूर्ववत् अवस्थामा फर्काउन तीन खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ आवश्यक पर्ने अनुमान गरिएको छ । त्यसमध्ये तत्कालीन पुनर्स्थापनाका लागि करिब एक अर्ब पाँच करोड र दीर्घकालीन पुनर्स्थापनाका लागि बाँकी रकम आवश्यक पर्ने उल्लेख छ।
मन्त्रालयले पछिल्ला वर्षमा जलवायुजन्य विपद्का घटना बढ्दै गएको जनाएको छ । अतिवृष्टि, बाढीपहिरो, हिमताल तथा हिमनदीसँग सम्बन्धित जोखिमका कारण ऊर्जा तथा जलस्रोतका पूर्वाधारमा थप चुनौती देखिएको मन्त्रालयको भनाइ छ ।
सहसचिव आचार्यका अनुसार जलवायु परिवर्तनका कारण नेपालका पहाड, तराई तथा मधेसलगायत क्षेत्रमा फरक–फरक प्रभाव देखिन थालेको छ । कतै अतिवृष्टि र बाढीपहिरो, कतै खडेरी तथा तापक्रम वृद्धिका कारण कृषि, जलस्रोत र ऊर्जा क्षेत्रमा असर देखिएको उहाँले बताउनुभयो । राससबाट ।

