विद्यार्थीहरूले विद्यालयको प्रवेशद्वारमा फोहोरका डब्बा (Bins), साइकल र अवरोधहरू राखेर नाकाबन्दी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विद्यार्थीहरूले फोहोरका डब्बाहरूमा आगो बालेको र बस स्टपहरूमा तोडफोड गरेको देखिएको छ।

एजेन्सी, १४ अशोज ।

फ्रान्समा कक्षाकोठामा अत्यधिक भिडभाड र शिक्षकको कमी जस्ता समस्यालाई लिएर सुरु भएको विद्यार्थी आन्दोलन थप हिंसात्मक बन्दै गएको छ। मंगलबार देशैभरका उच्च माविहरूमा भएको प्रदर्शनका क्रममा प्रहरीले मुख्य गरी नाबालिगहरूसहित ४ सयभन्दा बढी मानिसलाई नियन्त्रणमा लिएको छ।

फ्रान्सेली गृह मन्त्रालयका अनुसार प्रदर्शन चर्किएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले ४४० जनालाई पक्राउ गरेको हो। गृह मन्त्री लोरन्ट न्युनेजले पक्राउ परेकामध्ये दुई-तिहाइलाई प्रहरी हिरासतमा राखिएको जानकारी दिएका छन्।

शिक्षा मन्त्रालयका अनुसार मंगलबार भएको आन्दोलनका कारण देशभरका कम्तीमा ४०० वटा विद्यालय प्रभावित भएका छन्। प्रदर्शनका क्रममा कम्तीमा १० जना शिक्षक, केही विद्यार्थी र ४८ जना सुरक्षाकर्मी घाइते भएका छन्।

राजधानी पेरिसबाट सुरु भएको यो आन्दोलन फ्रान्सका अन्य सहरहरूमा पनि फैलिएको छ। लिल (Lille) लगायतका सहरहरूमा विद्यार्थीहरूले विद्यालयको प्रवेशद्वारमा फोहोरका डब्बा (Bins), साइकल र अवरोधहरू राखेर नाकाबन्दी गरेका छन्। सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोहरूमा विद्यार्थीहरूले फोहोरका डब्बाहरूमा आगो बालेको र बस स्टपहरूमा तोडफोड गरेको देखिएको छ।

फ्रान्सका शिक्षा मन्त्री एडुआर्ड गेफ्रेले विद्यार्थीहरूलाई विरोध गर्ने अधिकार भए पनि हिंसा र तोडफोड पूर्ण रूपमा ‘अस्वीकार्य’ रहेको बताएका छन्।

प्रदर्शनमा सहभागी १६ वर्षीय एक छात्राले भनिन्, “हामी यहाँ बिना कारण तोडफोड गर्न आएका हैनौँ। शिक्षा प्रणाली पूर्ण रूपमा ध्वस्त भएको सन्देश दिन आएका हौँ। हाम्रा कक्षाकोठामा ३४ जनासम्म विद्यार्थी राखिएका छन् र शिक्षकहरूमाथि अत्यधिक दबाब छ।”

प्रदर्शनकारी विद्यार्थीहरूले प्रहरीमाथि ढुङ्गा तथा बोतल प्रहार गरेपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले अश्रुग्याँस र लाठीचार्ज गरेको थियो। विद्यार्थी सङ्गठनका अध्यक्ष रियाद रानीले सरकारमाथि दमन गरेको र प्रहरीले अत्यधिक बल प्रयोग गरेको आरोप लगाएका छन्। यद्यपि गृह मन्त्री न्युनेजले प्रहरी कारबाही समानुपातिक र संयमित रहेको दाबी गरेका छन्।

अर्कोतर्फ, फ्रान्सका शिक्षा मन्त्री एडुआर्ड गेफ्रेले विद्यार्थीहरूलाई विरोध गर्ने अधिकार भए पनि हिंसा र तोडफोड पूर्ण रूपमा ‘अस्वीकार्य’ रहेको बताएका छन्। उहाँले विरोधको नाममा नाकाबन्दी बढाउनु गैर-जिम्मेवारपूर्ण कार्य भएको टिप्पणी गर्नुभयो।

यसअघि फ्रान्सका प्रधानमन्त्री सेबस्टियन लेकोर्नुले पनि आन्दोलनमा भइरहेको हिंसात्मक गतिविधिलाई लिएर चेतावनी दिँदै विद्यार्थी, कर्मचारी र प्रहरीको जीवन खतरामा पार्ने कार्यको औचित्य पुष्टि हुन नसक्ने बताउनुभएको थियो।

विद्यार्थीहरूको यो आन्दोलन सार्वजनिक क्षेत्रका अन्य मजदुर युनियनहरूको राष्ट्रिय हडतालसँगै जुध्न पुगेको छ। न्यून तलब र खस्कँदो कार्यस्थलको अवस्थालाई लिएर शिक्षक, अस्पतालका कर्मचारी र निजामती कर्मचारीहरू पनि सडकमा उत्रिएका छन्।

गृह मन्त्रालयका अनुसार करिब २ लाख मानिस सहभागी भएको सार्वजनिक क्षेत्रको यो प्रदर्शन भने सामान्यतया शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार