काठमाडौं, १३ अशोज।

नेपाली कांग्रेसको १५औ महाधिवेशन मार्फत देशभरी झण्डै ४४ हजार युवा नेतृत्वमा आएको कांग्रेसले जनाएको छ । कांग्रेसले नेपालमा राजनीतिक दलहरुको इतिहासमै पहिलो पटक यति ठूलो संख्यामा महाधिवेशनमा सहभागि भएको बताएको छ ।
पार्टीले तयार पारेको समाचारमा पार्टीको नयाँ व्यवस्था अनुसार ३५ बर्ष मुनिका झण्डै ४४ हजार युवाले पार्टीको पदिय जिम्मेवारी नै पाएको काँग्रेसको विधान मस्यौदा समितिका सदस्य सचिव प्रताप पौडेलले जानकारी दिएको उल्लेख छ । पौडेलले नेपालका कुनै पार्टीमा एकै पटक यति धेरै युवाले पदिय जिम्मेवारी नै पाएको इतिहासमै पहिलो पटक भएको दावी गरेका छन् ।
नयाँ विधानमा हरेक वडाबाट ३५ बर्ष मुनिका एक महिलासहित कम्तीमा ती युवालाई क्षेत्रीय प्रतिनिधि निर्वाचित गराउनु पर्ने व्यवस्था रहेको छ । मुलुकभर ६ हजार ७४३ वडा छन् । कम्तीमा तीन जनाको दरले वडाबाट २० हजार २२९ जना निर्वाचित भएका छन् । हरेक वडामा क्रियाशिल सदस्य संख्याका आधारमा कम्तीमा तीन जनादेखि बढीमा सात जना सम्म निर्वाचित हुन सक्ने व्यवस्था छ । त्यो अनुसार औसतमा ५ जना निर्वाचत हुन्छन भन्ने मान्दा ३३ हजार ७१५ जना ३५ बर्ष मुनिका युवा क्षेत्रीय प्रतिनिधिका रुपमा निर्वाचित भएका उनको हिसाव छ ।
गाउँपालिकाको वडामा एक जना र नगरपालिकाको वडामा दुई जनाका दरले कार्यसमिति सदस्यमा निर्वाचित हुने व्यवस्था कांग्रेस विधानमा छ। नेपालमा अहिले गाउँपालिका तर्फ ३ हजार २१५ वडा रहेका छन् भने नगरपालिका तर्फ ३ हजार ५२८ वडा रहेका छन् । त्यसैले गाउँपालिकाको वडामा ३ हजार २१५ जना वडा सदस्य निर्वाचित भएका छन् भने नगरपालिका तर्फका वडाहरुमा ३ हजार ५२८ मा दुई जनाको दरले ७ हजार ५६ जना युवा वडा सदस्यमा निर्वाचित भएका छन् ।
यसरी कुल क्षेत्रीय प्रतिनिधि ३३ हजार ७१५ जना र वडा सदस्य १० हजार २७१ जना गरी कुल ४३ हजार ९८६ जना युवाले पदिय जिम्मेवारी लिएका छन् ।
ती पदमा निर्वाचित हुन कम्तीमा दोब्बर संख्यामा प्रतिश्पर्धीहरु रहेकाले काँग्रेसको अधिवेशनमा झण्डै एक लाख युवाले महाधिवेशनमा प्रतिश्पर्धा गरेको नेपाली काँग्रेसको केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव अधिवक्ता राजु कटुवालको धारणा छ ।
तीनै क्षेत्रीय प्रतिनिधिहरुबाट गाउँपालिका तथा नगरपालिकाको कार्यसमितिमा एक महिलासहित कम्तीमा ३ जना चयन भइसकेका छन् भने प्रदेश निर्वाचन क्षेत्रमा एक जना, संघीय निर्वाचन क्षेत्रको कार्यसमितिमा २ जना र जिल्ला कार्यसमितिमा एक महिलासहित तीन जना कार्यसमितिमा निर्वाचित हुदैछन् ।
त्यसैगरी तीनै क्षेत्रीय प्रतिनिधिहरु मध्येबाट हरेक निर्वाचन क्षेत्रबाट कम्तीमा एक महिलासहित ३ जनाको दरले देशभरीबाट ४९५ जना केन्द्रीय महाधिवेशन प्रतिनिधि र एक एक जनाको दरले १६५ जना महासमिति सदस्य चयन हुन लागेको पनि निर्वाचन समितिका सदस्य सचिव कटुवालले जानकारी दिए ।
नयाँ विधान अनुसार हरेक निर्वाचन क्षेत्रबाट एक महिलासहित २ जना प्रदेश प्रतिनिधि हुने छन भने सातै प्रदेशमा दुई महिलासहित कम्तीमा ५ जना प्रदेश कार्यसमिति सदस्य हुनेछन्।
केन्द्रीय कार्यसमितिमा पनि पहिलो पटक हरेक प्रदेशबाट एक युवा र एक युवतीसहित कुल १४ जना युवा प्रवेश गर्ने भएका छन् ।
पार्टीमा यती ठूलो संख्यामा युवाहरुले पदिय जिम्मेवारी नै लिएको र एक लाखभन्दा बढीले उम्मेदवारी दिएर प्रतिश्पर्धी गरेकोले काँग्रेसको संगठनमा युवाको दवदवा ह्वत्तै वढेको विधान मस्यौदा समितिका सदस्य सचिव पौडेलले बताए । काँग्रेस अव पुरै युवामय पार्टी भइसकेको उनको भनाई छ ।