विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पर्ने महासंघले जनाएको छ।

काठमाडौं, १२ अशोज ।
उद्यमी व्यवसायीहरुको छाता संगठन नेपाल उद्योग वाणिज्य महासँघले विद्युत महसुलमा लगाएको मूल्य अभिवृद्धिकर (भ्याट) फिर्ता लिन सरकारसँग आग्रह गरेको छ । यसै आर्थिक वर्षदेखि लगाइएको भ्याटले उत्पादन लागत बढेको लगायतका कारण देखाउँदै भ्याट फिर्ताको व्यवस्थाका लागि अनुरोध गरेको छ ।

महासंघले सोमबार जारी गरेको प्रेस विज्ञप्तिमा विद्युत औद्योगिक उत्पादन, व्यापार तथा पर्यटन क्षेत्रको आधारभूत पूर्वाधार भएकाले यसमा थप कर लगाउँदा उत्पादन लागत, सञ्चालन खर्च, नगद प्रवाह र समग्र व्यावसायिक प्रतिस्पर्धात्मकतामा प्रत्यक्ष असर पर्ने महासंघले जनाएको छ । मुअकर थपिँदा विशेषगरी उच्च उर्जा खपत गर्ने, मुअकर छुटको कारोबार गर्ने साथै साना तथा मझोला उद्योगहरु र होटल तथा पर्यटन व्यवसायको लागत बढेको व्यबसायीहरुबाट गुनासो आएको महासंघले जनाएको छ ।

कानुनबमोजिम इनपुट ट्याक्स क्रेडिटको व्यवस्था भए पनि कर समायोजन तथा फिर्ता प्रक्रिया र कारोबारको प्रकृतिका कारण सबै व्यवसायले विद्युतमा तिरेको भ्याट तत्काल वा पूर्ण रूपमा समायोजन गर्न सक्ने अवस्था नरहेको व्यवसायीहरुको गुनासो छ ।

यसले सञ्चालन पुँजीमा दबाब सिर्जना गर्नुका साथै नयाँ लगानी, उद्योग विस्तार र रोजगारी सिर्जनामा समेत असर पारेको छ । महासंघले भनेको छ ‘ यस्तो प्रावधानले उद्योगले व्यवसाय विस्तार गर्न र रोजगारी सिर्जना गर्न समेत बाधा पुगेको छ । साथै यसको भार उपभोक्तासम्म पुग्ने र समग्र मूल्यवृद्धिमा थप चाप पर्न सक्ने अवस्था सिर्जना हुन्छ ।’
‘विद्युतको आन्तरिक खपत, आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धनमार्फत औद्योगिकीकरणलाई गति दिनुपर्ने समयमा ऊर्जा लागत बढाउने नीतिले निजी क्षेत्रको लगानी र उत्पादन विस्तारमा चुनौती थपेको छ’ महासंघले भनेको छ ‘ उद्योगलाई नियमित, गुणस्तरीय र भरपर्दो विद्युत आपूर्ति सुनिश्चित गर्न तथा भोल्टेजको उतारचढाव, अचानक विद्युत अवरोध र अन्य प्राविधिक समस्याबाट हुने उत्पादन तथा मेसिनरीको क्षति न्यूनीकरण गर्नसमेत आग्रह छ ।’

महासंघले सरकारलाई विद्युतमा भ्याटसम्बन्धी व्यवस्था पुनरावलोकन गरी निजी क्षेत्रसँग व्यापक परामर्श गर्न र कर समायोजन तथा फिर्ता प्रक्रियालाई सरल, पारदर्शी र समयबद्ध बनाउन अनुरोध गरेको छ । विज्ञप्तिमा भनिएको छ ‘विद्युतलाई केवल राजस्व संकलनको माध्यम नभई औद्योगिक उत्पादन, पर्यटन विकास, रोजगारी सिर्जना र आर्थिक वृद्धिको आधारभूत पूर्वाधारका रूपमा लिई विद्युतमा लगाइएको भ्याट फिर्ता गर्ने महासंघ सरकारसँग आग्रह गर्दछ ।’