काठमाडौं,१० अशोज ।

नेपालको रसुवा-नुवाकोटमा गएको विनाशकारी आकस्मिक बाढीको तीन सातापछि पनि बालबालिकाहरूमाझ ठुलो मानसिक तथा मनोवैज्ञानिक असर देखिएको संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले जनाएको छ। युनिसेफका अनुसार प्रभावित क्षेत्रका करिब १७ हजार बालबालिकालाई तत्काल मानसिक स्वास्थ्य तथा मनोसामाजिक परामर्शको आवश्यकता रहेको छ।

गत भदौ १० (अगस्ट २६) मा हिमताल वा हिमनदी फुटेर आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका ८४ हजारभन्दा बढी मानिस प्रभावित भएका थिए। जसमा करिब ३२ हजार बालबालिकाहरू रहेका छन्। बाढीले सडक, विद्यालय, विद्युत् गृह तथा खानेपानीको आयोजनाहरूमा ठुलो क्षति पुर्‍याएको छ।

नेपाल तर्फका स्थानीय अधिकारीहरूका अनुसार यस जलप्रकोपमा परि तेह्र सय भन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने पाँच हजार भन्दा बढी मानिस अझै बेपत्ता छन्। यस्तै, सीमापारि तिब्बततर्फ पनि कम्तीमा ४३ जनाको मृत्यु र ५१९ जना बेपत्ता भएको आधिकारिक तथ्याङ्क छ।

बिहान ८:३७ बजे बालबालिकाहरू विद्यालय जाने वा भर्खरै पुग्ने समयमा बाढी आएकाले धेरैजसो बालबालिकाले आफ्ना आँखाअगाडि नै आफन्त गुमाएको र विद्यालय भत्किएको प्रत्यक्ष देखेका थिए। युनिसेफका अनुसार ५४१ बालबालिकाहरू आफ्ना अभिभावक वा परिवारबाट छुट्टिएका छन् र उनीहरूलाई तत्काल संरक्षणको खाँचो छ। धेरैजसो बालबालिकाहरू गहिरो डर, चिन्ता र शोकमा छन्। केही बालबालिका त घटनाको आघातका कारण बोल्न समेत नसक्ने अवस्थामा पुगेका छन्।

युनिसेफ नेपालकी प्रतिनिधि एलिस अकुङ्गाले भनिन, “देखिने भौतिक क्षतिभन्दा बाहिर यी बाढीहरूले बालबालिका र तिनका परिवारको मनमा गहिरो मानसिक चोट छोडेका छन्। मानवीय राहत र पूर्वाधार पुनर्निर्माणसँगै बालबालिकालाई यो सङ्कटबाट सम्हाल्न र सुरक्षित महसुस गराउन मनोसामाजिक सहयोग अनिवार्य छ।”

त्यस्तै, नुवाकोटका चिकित्सक तथा मानसिक स्वास्थ्य अभियन्ता डा. सितान्सु ढकाल ले बालबालिकामा देखिएको “अदृश्य मानसिक बोझ” लाई समयमै सम्बोधन नगरे यसले दीर्घकालीन असर पार्ने चेतावनी दिए। उनका अनुसार प्रारम्भिक मनोवैज्ञानिक प्राथमिक उपचारले बालबालिकालाई दीर्घकालीन मानसिक रोगबाट बचाउन सहयोग पुर्‍याउँछ।

युनिसेफले नेपाल सरकार र अन्य साझेदार संस्थाहरूसँग मिलेर प्रभावित क्षेत्रमा उद्धार तथा मानसिक स्वास्थ्य सेवा प्रदान गरिरहेको छ।

पारिवारिक रूपमा छुट्टिएकामध्ये हालसम्म १८ जना बालबालिकालाई उनीहरूको परिवारसँग पुनर्मिलन गराइसकिएको छ। बालबालिकाहरूलाई सुरक्षित वातावरणमा खेल्न र परामर्श लिनका लागि युनिसेफको सहयोगमा १३ वटा बालमैत्री स्थानहरू स्थापना गरिएका छन्।

युनिसेफले जनाए अनुसार बाबुआमा दुवै गुमाएका बालबालिकाहरूका लागि वैकल्पिक हेरचाहको व्यवस्था गरिँदै छ भने शोषण र दुर्व्यवहार रोक्न अनुगमन टोलीहरू परिचालन गरिएको छ।

बाढीका कारण ९ वटा विद्यालयहरू पूर्ण रूपमा ध्वस्त वा गम्भीर क्षतिग्रस्त भएका छन्। यस सङ्कटलाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको आपत्कालीन शिक्षा कोष ‘एजुकेसन काँट वेट’ (ईसिडब्ल्यु) ले रसुवा, नुवाकोट र धादिङका बालबालिकाका लागि १० लाख अमेरिकी डलर सहयोगको घोषणा गरेको छ। ईसिडब्ल्यु स-संकट र आपतकालीन अवस्थामा परेका बालबालिकाको शिक्षाका लागि स्थापना गरिएको पहिलो अन्तर्राष्ट्रिय वैश्विक कोष हो। यसले नेपालमा प्राकृतिक प्रकोप र आपतकालीन अवस्थाहरूमा बालबालिकालाई पठनपाठनमा निरन्तरता दिन सहयोग गर्दै आएको छ।

यस सहयोगबाट ५ हजार बालबालिकाले प्रत्यक्ष शिक्षा र संरक्षण सहायता पाउनेछन्।र, १२ हजार बालबालिका जोखिम न्यूनीकरण कार्यक्रमबाट लाभान्वित हुनेछन्।

ईसिडब्ल्युका शिक्षा निर्देशक मिल्सा जाल्बौटले भने, “जलवायु परिवर्तनका कारण आउने यस्ता आपत्कालीन सङ्कटले बालबालिकाको पढाइ बारम्बार रोकिने गरेको छ। यो अस्थायी सङ्कटलाई हामीले स्थायी रूपमा सिकाइ गुम्ने अवस्थामा परिणत हुन दिनु हुँदैन।”

नेपालको शैक्षिक प्रणालीलाई पुनः पहिलेकै अवस्थामा फर्काउन सरकारका साथै निजी क्षेत्र र अन्तर्राष्ट्रिय सङ्घ-संस्थाहरूबाट थप आर्थिक सहयोगको आवश्यकता रहेको राष्ट्रसङ्घले जनाएको छ।