थापाले निर्वाचनको क्रममा आफूलाई विशेष अधिवेशन पक्षधर, विचार समुहकोरुपमा प्रस्तुत गर्दे आएका थिए ।

सूर्यविनायक (भक्तपुर), ९ अशोज।

नेपाली कांग्रेस सूर्यविनायक नगर समितिको सभापतिपदमा नेपाली कांग्रेसका विशु राम थापा अत्यधिक मतले निर्वाचित भएका छन् ।
बिहिबार भएको निर्वाचनमा थापा र अर्का प्रत्याशी सुमन न्यौपाने दुई समुह बनाएर प्रतिस्पर्धामा थिए । राती अबेर घोषणा गरिएको निर्वाचन परिणाममा विश्व रामको समुहका सबै पदाधिकारी निर्वाचित भएका छन् । कूल खसेको ३५० भोट मध्ये विश्व रामले २०७ मत पाएका छन् भने न्यौपाने १४३ मत पाएका छन् ।
त्यस्तै उपसभापतिमा थापाकै टिमका राजाराम खत्री १९० मतसहित विजयी भएका छन् । उनका प्रतिस्पधी मनोज महतले १५३ मत पाएका छन् । उपसभापति महिलामा दीपा न्यौपाने १७८ मतसहित विजयी बनेकी छन् । उनका प्रतिस्पर्धी कान्छिमाया श्रेष्ठले १६९ मत पाएकी छन् ।


सचिवमा थापा समुहका चिरञ्जिवि राउत १८२ मतसहित विजयी बनेका छन् । उनका प्रतिस्पर्धी सरोज ठकुरीले १६२ मत पाए । त्यस्तै, सहसचिवमा थापा समुहकै हिरालक्ष्मी कोजु १९० मतसहीत विजयी भएका छन् भने प्रतिस्पर्धी विनय नगरकोटीले १५१ मत प्राप्त गरेका छन् ।
सदस्यहरुमा खुला तर्फ वडानं १ बाट खुलातर्फ शैलेश थापा, २ बाट सुभास पुवा, ३ बाट, ४ बाट लक्ष्मी खडका, ९ बाट श्याम खत्री, निर्वाचित भएका छन् । अन्य वडाबाट सर्वसम्मत चुनिएका छन् । दलित महिला सदस्यमा सावित्री मंग्राती निर्वाचित भएकी छन् भने खुल्ला युवा ३५ वर्ष मुनिबाट रविभक्त माडि श्रेष्ठ र रसल देउवा निर्वाचित भएका छन् ।

सूर्यविनायक नगर समितिको निर्वाचनमा युवा इन्जिनीयर विश्व राम थापा र युवा नेता सुमन न्यौपाने आआफ्नो टिम बनाएर प्रतिस्पर्धामा थिए । थापा, विशेष अधिवेशन पक्षधर समुहबाट उमेदवार बनेका थिए भने निवर्तमान सचिव न्यौपाने बेग्लै समुह बनाएर मैदानमा उत्रिएका थिए ।
भक्तपुर कांग्रेस राजनीतिक वृतमा न्यौपाने समुहलाई विशेष अधिवेशनका प्रखर विरोधी जिल्ला सभापति दुर्लभ थापाको समर्थन रहेको चर्चा छ । दुर्लभ थापा, नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा समुहले अशोज १५ देखि प्रारम्भ गर्ने अधिवेशनको भक्तपुर संयोजक तोकिएका छन् ।