बेइजिङले दशकौँदेखि तिब्बतको भाषा, धर्म, संस्कृति र इतिहासमाथि नियन्त्रण कायम गर्ने प्रयास गर्दै आएको छ। अहिले आएर भौतिक रूपमा गरिँदै आएको दमनलाई डिजिटल क्षेत्रमा विस्तार गर्न एआई प्रविधिको सहारा लिइएको उनीहरूको भनाइ छ।

एजेन्सि, ८ अशोज।

चीन सरकारसँग आबद्ध साइबर तथा प्रविधि टोलीहरूले विश्वभरका तिब्बती निर्वासित नेताहरू, अधिकारवादी संस्थाहरू र धार्मिक समुदायहरूलाई लक्षित गरी आधुनिक आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को दुरुपयोग गरिरहेको खुलासा भएको छ। अमेरिकी एआई अनुसन्धान संस्था एन्थ्रोपिकले हालै सार्वजनिक गरेको सुरक्षा प्रतिवेदन उद्धृत गर्दै वाल स्ट्रिट जर्नलमा प्रकाशित विचार-लेखमा उक्त तथ्य उजागर गरिएको हो।

प्रतिवेदन अनुसार बेइजिङसँग सम्बद्ध साइबर समूहहरूले एन्थ्रोपिकको क्लोड लगायतका शक्तिशाली एआई मोडलहरूको प्रयोग गरी निर्वासित तिब्बती समुदाय तथा तिब्बतको पक्षमा आवाज उठाउने अन्तर्राष्ट्रिय संस्थाहरू विरुद्ध गुप्तचरी र दुष्प्रचार अभियान चलाइरहेका छन्।

एआईमार्फत जासुसी र तथ्याङ्क सङ्कलन

एन्थ्रोपिकको अनुसन्धानले देखाएअनुसार बेइजिङ सम्बद्ध समूहहरूले विभिन्न भाषामा रहेका सूचनाहरूलाई एआईको मद्दतले चिनियाँ भाषाका गोप्य प्रतिवेदन र दैनिक ‘सिचुएसनल अवेयरनेस’ (हालको अवस्थासम्बन्धी) रिपोर्टमा रूपान्तरण गर्ने गरेका छन्।

उनीहरूले एआईको प्रयोग गरी निर्वासित तिब्बती सरकार र तिब्बतका लागि अन्तर्राष्ट्रिय अभियान जस्ता संस्थाहरूसँग सम्बद्ध व्यक्तिहरूको व्यक्तिगत विवरण सङ्कलन गर्ने, धार्मिक क्षेत्र र गुम्बजहरूको भौतिक नक्सा तथा संरचनात्मक जानकारी सङ्कलन गर्ने, अन्तर्राष्ट्रिय र चिनियाँ सामाजिक सञ्जालहरूमा निगरानी बढाउने कार्य गरिरहेका छन्।

इतिहास र राजनीतिक भाष्य बङ्ग्याउने प्रयास

अनुसन्धान प्रतिवेदनअनुसार चिनियाँ अपरेटरहरूले क्लोड एआईलाई “चिनियाँ सरकारी दृष्टिकोण” अपनाउन निर्देशन दिने गरेका छन्। यस क्रममा निर्वासित तिब्बती प्रशासनलाई गैर कानुनी पृथकतावादी सङ्गठनको रूपमा चित्रित गर्न एआईलाई प्रशिक्षित गरिएको पाइएको छ।

यसका साथै, चीन सरकारबारे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले गर्ने आलोचनात्मक समाचारहरूलाई आफ्नो पक्षमा ढाल्न र सरकारी प्रतिवेदन अनुकूल बनाउन पनि एआईको उपयोग भइरहेको भेटिएको छ।

दमनको नयाँ डिजिटल स्वरूप

मानवअधिकारवादी संस्थाहरूका अनुसार बेइजिङले दशकौँदेखि तिब्बतको भाषा, धर्म, संस्कृति र इतिहासमाथि नियन्त्रण कायम गर्ने प्रयास गर्दै आएको छ। अहिले आएर भौतिक रूपमा गरिँदै आएको दमनलाई डिजिटल क्षेत्रमा विस्तार गर्न एआई प्रविधिको सहारा लिइएको उनीहरूको भनाइ छ।

एन्थ्रोपिक र ओपनएआई दुवैका प्रतिवेदनहरूले चीन-सम्बद्ध समूहहरूले एआईको माध्यमबाट विशाल स्तरमा सामाजिक सञ्जालको निगरानी गर्ने, आलोचकहरूको प्रोफाइल तयार पार्ने र जातीय तथा धार्मिक समुदायहरूको गतिविधि पछ्याउने प्रणाली विकास गर्न खोजेको पुष्टि गरेका छन्।

विश्वभर गम्भीर चिन्ता

अधिकारकर्मीहरूले प्रविधि निर्माता कम्पनीहरू र अन्तर्राष्ट्रिय सरकारहरूलाई एआई प्रविधिलाई अधिनायकवादी शासनले दमनको औजार बनाउन नदिन कडा कदम चाल्न आग्रह गरेका छन्।

मानवअधिकारवादी संस्थाहरूले चेतावनी दिँदै भनेका छन्— “मानव ज्ञान र समृद्धिका लागि बनाइएका एआई टुलहरू निरङ्कुश सरकारहरूका लागि मानिसको निगरानी गर्ने, धम्क्याउने र डिजिटल दुनियाँमा आफ्नै मन गढन्ते इतिहास लाद्ने हतियार बन्नु हुँदैन।”

श्रोत: आइएनएस-स्वतन्त्र समाचार