सन् २०३० सम्ममा यो संसारको अन्त्य हुनेछैन। एआईका कारण संसार सकिने सम्भावना ‘शून्य प्रतिशत’ छ,” ह्वाङले भने, “मानिसहरूलाई अनावश्यक रूपमा डराउनु निरर्थक र गैरजिम्मेवारपूर्ण काम हो।

एजेन्सि, ५ अशोज।

चिप निर्माण क्षेत्रको विश्वकै अग्रणी कम्पनी एनभिडियाका मुख्य कार्यकारी अधिकृत (सिइओ) जेन्सन ह्वाङले आर्टिफिसियल इन्टेलिजन्स (एआई) का कारण आगामी दशकभित्रै मानव सभ्यता समाप्त हुनसक्छ भन्ने चेतावनीहरूलाई अस्वीकार गर्दै ती ‘प्रलयकारी काल्पनिक कथा’ मात्र भएको टिप्पणी गरेका छन्।

बिबिसीको अमेरिकी साझेदार टेलिभिजन च्यानल ‘सिबिएस न्युज’ सँगको कुराकानीमा सिइओ ह्वाङले एआईका कारण निकट भविष्यमै विनाश हुने भन्ने दाबीहरूमा कुनै वैज्ञानिक आधार नरहेको स्पष्ट पारे। “सन् २०३० सम्ममा यो संसारको अन्त्य हुनेछैन। एआईका कारण संसार सकिने सम्भावना ‘शून्य प्रतिशत’ छ,” ह्वाङले भने, “मानिसहरूलाई अनावश्यक रूपमा डराउनु निरर्थक र गैरजिम्मेवारपूर्ण काम हो।”

पछिल्ला हप्ताहरूमा विभिन्न एआई अनुसन्धानकर्ताहरूले यो प्रविधिको तीव्र विकासले ल्याउन सक्ने सम्भावित जोखिमहरूबारे चेतावनी दिएपछि एआई सुरक्षाका विषयमा बहस एकाएक चुलिएको छ। पूर्व एन्थ्रोपिक अनुसन्धानकर्ता ज्याकब कोक्सन लगायतका विज्ञहरूले प्रकट गरेको चिन्ता र बहसपछि प्रविधि क्षेत्रका शीर्ष कार्यकारीहरू जस्तै एन्थ्रोपिकका प्रमुख डारियो अमोडेई र ओपनएआईका प्रमुख स्याम अल्टम्यानले एआई मोडलहरूको विकासको गतिलाई केही सुस्त बनाउनुपर्ने धारणा राखेका थिए।

तर, ह्वाङले यस्ता अड्कलबाजीहरू विज्ञानमा आधारित नभएको दाबी गरेका छन्। एआई उद्योगले आफ्ना उत्पादनहरू जिम्मेवार र सुरक्षित ढङ्गले निर्माण गर्नु नै एनभिडियाको हितमा रहने उनको भनाइ थियो। “हाम्रो कम्पनीको सफलता उत्पादन र सेवाहरूको सुरक्षित प्रयोगसँग प्रत्यक्ष जोडिएको छ। यदि हामीले त्यसो गर्न सकेनौँ भने हाम्रो कम्पनीको मूल्य घट्नेछ,” उनले थपे।

एआईको गति सुस्त बनाउनुपर्छ भन्ने केही एआई कम्पनीहरूको मागप्रति टिप्पणी गर्दै ह्वाङले उनीहरू आफ्ना उत्पादनले पुर्‍याउन सक्ने सम्भावित क्षति र कानुनी जबाफदेहीबाट पन्छिन खोजेको सङ्केत गरेका छन्। “उनीहरूले भनेका कुराका पछाडिका गुप्त अर्थहरू बुझ्न जरुरी छ,” ह्वाङले भने, “उनीहरू वास्तवमा थप नियम-कानुन मागिरहेका छैनन्, बरु हाल विद्यमान नियमहरूबाट आफूलाई मुक्त गराउन चाहन्छन्, जुन एउटा समस्या हो।”

एआई मोडलहरू सञ्चालन र तालिम दिनका लागि आवश्यक पर्ने अत्याधुनिक कम्प्युटर चिपहरू निर्माण गर्ने भएकाले एनभिडिया हाल विश्वकै सबैभन्दा महत्त्वपूर्ण र बहुमूल्य प्रविधि कम्पनीहरूमध्ये पर्छ।

यसअघि संयुक्त अधिराज्यमा राजा चार्ल्सद्वारा आयोजित एक प्रविधि सम्मेलनमा पनि ह्वाङ सहभागी भएका थिए, जहाँ राजा चार्ल्सले प्रविधि नेताहरूलाई एआईका “अस्तित्वगत खतराहरू” प्रति सचेत गराएका थिए। राजा चार्ल्सले प्रविधि अगाडि बढाउने मात्र नभई यो प्रविधि मानव जाति, समुदाय र प्राकृतिक जगत्‌कै सेवामा समर्पित रहिरहोस् भन्ने सुनिश्चित गर्न आग्रह समेत गरेका थिए।

त्यस्तै, लस एन्जलसमा आयोजित एक प्रविधि सम्मेलनमा ह्वाङ बोलिरहेका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कार्यक्रम स्थलमै फोन गरेर एआईको गति रोक्ने प्रयासको आलोचना गरेका थिए। राष्ट्रपति ट्रम्पले एआईबाट हुने डर र त्रासहरूलाई “भ्रम वा अफवाह” को संज्ञा दिएका थिए।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार