ट्रम्पद्वारा ह्वाइट हाउसबाट तीन ठुला सञ्चारमाध्यममाथि प्रतिबन्धको घोषणा: ‘भ्रामक समाचार’ सम्प्रेषणको आरोप
राष्ट्रपति ट्रम्प आफैँले पनि यो निर्णयविरुद्ध कानुनी चुनौती आउन सक्ने स्वीकार गर्दै अदालतको निर्णय जे भए पनि आफ्नो अडान सार्वजनिक गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।
एजेन्सि, ३ अशोज ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मुख्यधारका तीन ठुला सञ्चारमाध्यम—सीएनएन (CNN), पोलिटिको (Politico) र एमएस नाउ (MS NOW)लाई ह्वाइट हाउस प्रवेशमा तत्काल लागू हुने गरी प्रतिबन्ध लगाउने घोषणा गरेका छन्। मिडिया हाउसहरूसँगको लामो समयदेखिको तनावपूर्ण सम्बन्धका बिच ट्रम्पले शुक्रबार सामाजिक सञ्जालमार्फत यो कदमको घोषणा गरेका हुन्।
राष्ट्रपति ट्रम्पले आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ सोसल’ मा लेख्दै ती सञ्चारमाध्यमहरूले आफ्नो प्रशासन र संयुक्त राज्य अमेरिकाबारे निरन्तर “झूट र काल्पनिक कथा” सम्प्रेषण गरिरहेको आरोप लगाए। यद्यपि, उनले आफ्नो दाबीलाई पुष्टि गर्ने कुनै ठोस उदाहरण वा प्रसङ्ग भने उल्लेख गरेका छैनन्।
ओभल अफिसमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै ट्रम्पले यसलाई “अत्यन्तै सरल प्रतिबन्ध” को संज्ञा दिए। यो निर्णय कुनै निश्चित समाचारका कारण नभई विगत केही वर्षदेखिका “सञ्चित समाचारहरू” को नतिजा भएको उनको भनाइ थियो।
“मानिसहरू झूटा समाचार हेर्दाहेर्दै र पढ्दापढ्दै वाक्क भइसकेका छन्,” उनले भने, “अन्य मिडिया हाउसहरूमाथि पनि यस्तै कदम चालिन सक्छ।”
यो प्रतिबन्ध कसरी कार्यान्वयन हुन्छ र ती सञ्चारमाध्यमका पत्रकारहरूलाई ह्वाइट हाउसको हाताभित्र प्रवेश गर्न पूर्ण रूपमा रोक लगाइनेछ वा छैन भन्ने विषय अझै स्पष्ट भइसकेको छैन।
ट्रम्पको यो कदमपछि सीएनएनले तुरुन्तै प्रतिक्रिया दिँदै यसलाई अमेरिकी प्रेस स्वतन्त्रतामाथिको “गैर कानुनी प्रहार” भनेको छ।
“हामी हाम्रो ह्वाइट हाउस टोली र उनीहरूको निष्पक्ष तथा सटीक पत्रकारिताको पूर्ण समर्थन गर्दछौँ। अमेरिकी संविधानअन्तर्गत सरकारको कुनै पनि अवरोध वा हस्तक्षेपविना समाचार सम्प्रेषण गर्ने अधिकार हामीसँग छ। यदि राष्ट्रपति ट्रम्पले धम्की दिए अनुसारको प्रतिबन्ध अघि बढाएमा, यो मौलिक र संवैधानिक रूपमा संरक्षित अधिकारमाथिको गैर कानुनी आक्रमण हुनेछ।”
त्यस्तै, पोलिटिकोले पनि आफ्नो प्रथम संशोधन अधिकारको कडा रक्षा गर्ने प्रतिबद्धता जनाउँदै निष्पक्ष समाचार सम्प्रेषण जारी राख्ने बताएको छ। एमएस नाउ (पूर्व एमएसएनबीसी) ले भने यस विषयमा कुनै टिप्पणी गर्न अस्वीकार गरेको छ।
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स एसोसिएसनकि अध्यक्ष ज्याकी हाइनरिकले पेसागत जिम्मेवारी पूरा गरिरहेका पत्रकारहरूमाथि पूर्वाग्रह राखिएको भन्दै आपत्ति जनाएकी छन्। उनले यो विषय पत्रकारको अधिकारभन्दा पनि अमेरिकी जनताले सत्य र स्वतन्त्र सूचना पाउने अधिकारसँग जोडिएको बताएकी छन्।
कानुनी विज्ञहरू र प्रेस स्वतन्त्रताका पक्षधर संस्थाहरूले ट्रम्पको यस निर्णयलाई अदालतले खारेज गरिदिने दाबी गरेका छन्। ‘रिपोर्टर्स कमिटी फर फ्रिडम अफ द प्रेस’ का अध्यक्ष ब्रुस ब्राउनले ह्वाइट हाउसले मन परेका पत्रकारलाई मात्र प्रवेश दिने र आलोचना गर्नेलाई रोक्ने कार्य असंवैधानिक भएको बताएका छन्। ‘नाइट फस्ट एमेन्डमेन्ट इन्स्टिच्युट’ का कार्यकारी निर्देशक जमिल जाफरका अनुसार ह्वाइट हाउस प्रेस पुल एक ‘सार्वजनिक मञ्च’ भएकाले दृष्टिकोणका आधारमा पत्रकारलाई रोक्नु गैर कानुनी हुन्छ।
जनवरी २०२५ मा दोस्रो कार्यकालका लागि ह्वाइट हाउस फर्किएदेखि नै ट्रम्प र प्रेस कर्प्सबिच विवाद रहँदै आएको छ।
यसअघि फेब्रुअरीमा ह्वाइट हाउस भित्रको ‘गल्फ अफ मेक्सिको’ लाई ‘गल्फ अफ अमेरिका’ नभनेको निहुँमा एसोसिएटेड प्रेसका पत्रकारहरूलाई ओभल अफिस र एयर फोर्स वानमा पहुँच रोकिएको थियो, जसको कानुनी प्रक्रिया अझै जारी छ।
ट्रम्पको पहिलो कार्यकालमा सीएनएनका पत्रकार जिम एकोस्टामाथि प्रतिबन्ध लगाइएको थियो, जसलाई पछि अदालतको आदेशमा पुनर्बहाली गरिएको थियो।
राष्ट्रपति ट्रम्प आफैँले पनि यो निर्णयविरुद्ध कानुनी चुनौती आउन सक्ने स्वीकार गर्दै अदालतको निर्णय जे भए पनि आफ्नो अडान सार्वजनिक गर्नु महत्त्वपूर्ण रहेको बताएका छन्।

