काठमाडौं, १ अशोज।
नास्टका पूर्व सचिव एवं वरिष्ठ वैज्ञानिक  रविन्द्र ढकालले नवलपुरको हुप्सेकोटमा निस्किरहेको धुँवाबारे विगतमा आफूले नास्टमा रहँदा गरेको अनुसन्धानका आधारमा केही सुझावहरु दिएका छन् । सामाजिक संजालमा आफ्ना धारणा राख्दै ढकालले भनेका छन् ‘ खानी विभाग र नाष्टका विज्ञ टोलीले प्रयोगशाला परीक्षण (Lab Test) गर्दा यो धुवाँमा सल्फर र एसिडको मात्रा कति छ भनेर विस्तृत केमिकल र मिनरलाजिकल विश्लेषण (Detailed Analysis) गर्नुपर्दछ भन्ने विश्वास छ। ५०० मिटरको दूरीमा रहेको मानव बस्तीको दीर्घकालीन स्वास्थ्य र सुरक्षाका लागि यो पाटो निकै महत्त्वपूर्ण साबित हुन सक्छ। सकारात्मक वैज्ञानिक बहसले नै सहि निष्कर्षमा पुग्न मद्दत गर्दछ ।’
ढकालको  सुझाव : 
नवलपुरको हुप्सेकोट-६ मा जमिनमुनिबाट निस्किरहेको धुवाँबारे प्रारम्भिक रूपमा “केवल कार्बन मोनोअक्साइड (CO) मात्रै हो” भन्ने जानकारी बाहिर आएको छ। प्रयोगशालाको पूर्ण प्रतिवेदन आउन बाँकी रहेको अवस्थामा, विज्ञ टोलीको अनुसन्धानलाई थप सघाउ पुगोस् भनी मेरो पूर्वअनुभवका आधारमा केही प्राविधिक सुझाव राख्न चाहन्छु।
केही समयअघि मेरो नेतृत्वमा नाष्ट (NAST) को टोलीले सुर्खेत (बराहताल) मा जमिनमुनिबाट आगो निस्केको घटनाको स्थलगत अध्ययन गरेको थियो। त्यहाँ गोठ र कपडाहरू समेत जलेका थिए र बलिरहेको निलो आगोको प्रकृति हेरेर हामीले त्यो मिथेन नभई साना पोलिमरका ‘हाइड्रोकार्बन’ (पेट्रोलियम बाइप्रोडक्ट) भएको निष्कर्ष निकालेका थियौँ। तर नवलपुरको यो केस सुर्खेतको भन्दा बिल्कुलै फरक देखिन्छ।
प्राप्त तस्बिर र धौवादी फलाम खानी नजिकै रहेको भौगोलिक अवस्थितिलाई नियाल्दा यहाँ कि त भूमिगत कोइला (Coal Seam) सल्किरहेको छ, कि त फलामको कच्चा पदार्थ पाइराइट (Iron Pyrite – FeS₂) को रासायनिक प्रतिक्रिया भइरहेको छ।तस्बिरमा चट्टानको भित्तामा देखिएको पहेँलो र सेतो रङको खनिज अवशेषले त्यहाँ सल्फरको उपस्थितिलाई सङ्केत गर्छ। वैज्ञानिक दृष्टिकोणबाट हेर्दा, फलाम खानीको क्षेत्रमा पाइराइटको तीव्र ‘अक्सिडेसन’ (Oxidation) हुँदा कार्बन मोनोअक्साइड मात्र नभएर अनिवार्य रूपमा सल्फरका ग्यासहरू (SOx) र पानीको बाफसँग मिलेर सल्फ्युरिक एसिड (H₂SO₄) को घातक रासायनिक बाफ समेत निस्कने प्रबल सम्भावना रहन्छ।
त्यसैले, खानी विभाग र नाष्टका विज्ञ टोलीले प्रयोगशाला परीक्षण (Lab Test) गर्दा यो धुवाँमा सल्फर र एसिडको मात्रा कति छ भनेर विस्तृत केमिकल र मिनरलाजिकल विश्लेषण (Detailed Analysis) गर्नुपर्दछ भन्ने विश्वास छ। ५०० मिटरको दूरीमा रहेको मानव बस्तीको दीर्घकालीन स्वास्थ्य र सुरक्षाका लागि यो पाटो निकै महत्त्वपूर्ण साबित हुन सक्छ।
सकारात्मक वैज्ञानिक बहसले नै सहि निष्कर्षमा पुग्न मद्दत गर्दछ!