अमेरिकाद्वारा कोइला र ग्यास ऊर्जा केन्द्रको कार्बन उत्सर्जन सीमा खारेज
वातावरणीय सङ्घ-संस्थाहरूले यो कदमले अमेरिकी नागरिकको स्वास्थ्य र समग्र पृथ्वीका लागि ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। यस निर्णयविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारीसमेत भइरहेको छ।
एजेन्सी, ३० भदौं ।
अमेरिकाको वातावरणीय संरक्षण एजेन्सी (ईपीए) ले कोइला र प्राकृतिक ग्यासबाट चल्ने ऊर्जा केन्द्रहरू (पावर प्लान्ट) बाट हुने प्रदूषण नियन्त्रण गर्न बनाइएका कडा नियमहरू खारेज गर्ने घोषणा गरेको छ। ईपीएका प्रमुख ली जेल्डिनले पूर्वराष्ट्रपति जो बाइडेनको कार्यकालका जलवायुसम्बन्धी नियमहरू खारेज गरिएको जानकारी दिएका हुन्।
एजेन्सीका अनुसार यी नियमहरू हटाउँदा ३१० अर्ब अमेरिकी डलर (करिब २२३ अर्ब पाउन्ड) बचत हुनुका साथै उपभोक्ताका लागि बिजुलीको मूल्यमा कमी आउनेछ। यद्यपि, वातावरणीय सङ्घ-संस्थाहरूले यो कदमले अमेरिकी नागरिकको स्वास्थ्य र समग्र पृथ्वीका लागि ठुलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन्। यस निर्णयविरुद्ध अदालतमा मुद्दा हाल्ने तयारीसमेत भइरहेको छ।
ईपीएका प्रमुख ली जेल्डिनले अमेरिकाले विश्वका अन्य देशको तुलनामा सफा र राम्रो ऊर्जा उत्पादन गर्ने भएकाले यहाँका पावर प्लान्टहरूलाई अनावश्यक रूपमा निशाना बनाउन नहुने तर्क गरे। एजेन्सीका अनुसार बाइडेन प्रशासनका नियमहरूले एजेन्सीको क्षेत्राधिकार नाघेका थिए र व्यावहारिक रूपमा प्रयोग गर्न नसकिने प्रविधिहरू लागू गर्न बाध्य पारिएको थियो, जसका कारण पावर प्लान्टहरू मापदण्ड पूरा गर्नुको साटो बन्द हुने स्थितिमा पुगेका थिए।
जेल्डिनका अनुसार नयाँ व्यवस्थाले सस्तो र भरपर्दो ऊर्जा आपूर्ति सुनिश्चित गर्नुका साथै यातायात, तताउने प्रणाली (हिटिङ), उपयोगिता सेवा, कृषि र उत्पादन क्षेत्रको लागत घटाएर राष्ट्रिय सुरक्षामा समेत योगदान पुर्याउनेछ।
वातावरणविद्हरूले यो निर्णयलाई जलवायु परिवर्तन विरुद्धको लडाइँमा एक ठुलो पश्चागमनका रूपमा व्याख्या गरेका छन्। ‘सेन्टर फर क्लाइमेट चण्ड इनर्जी सोलुसन्स’ का अध्यक्ष नाथानियल केओहेनले भने, “कार्बन प्रदूषण मापदण्ड खारेज गरेर ईपीएले वैज्ञानिक तथ्य र अर्थशास्त्रलाई बेवास्ता गरेको छ तथा जनस्वास्थ्य रक्षाको आफ्नो जिम्मेवारीबाट पन्छिएको छ।”
बाइडेन कालीन नियमहरूले पावर प्लान्ट, सवारी साधन र औद्योगिक क्षेत्रबाट हुने कार्बन उत्सर्जनमा उल्लेख्य कटौतीको लक्ष्य राखेका थिए, जसले वार्षिक ४,५०० अकाल मृत्यु रोक्न सक्ने अनुमान गरिएको थियो। तर, वर्तमान ईपीएले भने जनस्वास्थ्यमा पर्ने क्षति र अमेरिकी पावर प्लान्ट बिच सीधा सम्बन्ध जोड्न कठिन रहेको दाबी गरेको छ।
चीनपछि अमेरिका विश्वमै दोस्रो ठुलो हरित गृह ग्यास उत्सर्जनकर्ता मुलुक हो। अमेरिकाको कुल कार्बन उत्सर्जनको करिब २५ प्रतिशत (वार्षिक १.५ अर्ब टन) हिस्सा पावर सेक्टरले ओगटेको छ। यो उत्सर्जन विश्वका सीमित देशहरूको कुल उत्सर्जनभन्दा पनि बढी हो।
विगत दुई दशकमा कोइलाको प्रयोग घट्दै जाँदा अमेरिकी पावर सेक्टरको उत्सर्जन घटेको भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले कोइला ऊर्जाको पुनः उत्थान गर्ने र नवीकरणीय ऊर्जा (घाम र हावा) को आलोचना गर्ने नीति लिँदै आएका छन्।
तथापि, ऊर्जा विज्ञहरू भने पछिल्लो दशकमा सौर्य ऊर्जाजस्ता स्वच्छ प्रविधिको लागत उल्लेख्य घटेकाले कोइला उद्योग ट्रम्पले अपेक्षा गरेजस्तै पुनः पुरानै अवस्थामा फर्कन सक्नेमा शङ्का व्यक्त गर्छन्।
यो कदम ट्रम्प प्रशासनद्वारा भूमण्डलीय तापक्रम वृद्धि र जलवायु परिवर्तन नियन्त्रणका पूर्ववर्ती नीतिहरू उल्ट्याउने सिलसिलाको पछिल्लो कडी हो।

