देउवा पक्षले कांग्रेसजनलाई भन्यो : अशोज ३ बाट सुरु हुने होइन, अशोज १५ बाट सुरु हुने महाधिवेशनमा भाग लिनु
एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढनु कुनैपनि हालतमा उचित मान्न सकिन्न— शशांक कोइराला ।
काठमाडौ, २९ भदौ ।
कांग्रेसको विशेष अधिवेशनलाई कथितको संज्ञा दिदै आएको पूर्व सभापति शेरबहादुर देउवा पक्षले कांग्रेसले आयोजना गर्न लागेको १५ औं महाधिवेशनमा भाग नलिन आग्रह गर्दे आफूहरुले आव्हान गरेको महाधिवेशनमा भाग लिन पाटी कार्यकर्तालाई अनुरोध गरेको छ । नेपाली कांग्रेसले हिजोमात्र १४ औं महाधिवेशनका केन्द्रीय सदस्य जो विशेष अधिवेशनमा सहभागि भएका थिएनन् उनीहरुलाई केन्द्रीय सदस्यकै हैसियतमा महाधिवेशनमा भाग लिन आव्हान गरेको भोली पल्ट देउवा पक्षबाट यस्तो आग्रह आएको हो । देउवा पक्षका महाधिवेशन संयोजक प्रा.डा. शशांक कोइरालो सोमबार विज्ञप्ति मार्फत कांग्रेसको महाधिवेशनमा सहभागि नहुन कांग्रेसजनलाई आग्रह गरेका हुन् ।
‘ सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन हार्दिक अपिल गर्दछौं । आश्विन ३ गतेवाट विधि प्रकृया मिचि शुरु गर्ने भनिएको तथाकथित महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ‘१४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।’
शशांकले भनेका छन् ‘पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।’
सर्वोच्च अदालतमा कांग्रेसको वैद्यानिकताबारेको मुद्धा अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष अधिवेशन पक्षले एकलौटीरुपमा अगाडि बढ्न खोजेको विज्ञप्तिमा उल्लेख छ । ‘हामीले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपु¥याउन आग्रह गरेका थियौं’ विज्ञप्तिमा भनिएको छ ‘पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढनु कुनैपनि हालतमा उचित मान्न सकिन्न ।’
कोइरालाले जारी गरेको प्रेस विज्ञप्ति
प्रा.डा.शशांक कोइरालाज्यूद्वारा जारी प्रेस विज्ञप्ति
नेपालको लोकतान्त्रिक आन्दोलनको इतिहास, जनविश्वास र राजनीतिक विरासत बोकेको नेपाली कांग्रेस आज असहज र चुनौतीपूर्ण परिस्थितिबाट गुज्रिरहेको छ । पार्टीभित्र देखिएको वर्तमान विवाद कुनै व्यक्ति, समूह वा पदको विषय मात्र होइन, यो नेपाली कांग्रेसको वैधानिकता, लोकतान्त्रिक संस्कार, संगठनात्मक एकता र भविष्यसँग जोडिएको गम्भीर राजनीतिक प्रश्न हो ।
पार्टीको मूल मर्म, लोकतान्त्रिक मूल्य–मान्यता र राष्ट्रिय दायित्वलाई केन्द्रमा राख्दै हामीले सुरुदेखि नै सहमति, सहकार्य र एकताको आधारमा १५औँ महाधिवेशन सम्पन्न गर्न निरन्तर प्रयास गरेका थियौं । पार्टीलाई विभाजनको दिशातर्फ धकेल्ने कुनै पनि कदमबाट बच्न, संवाद र सहमतिमार्फत समाधान खोज्न तथा संगठनको आन्तरिक जीवनमा आँच नपुग्ने वातावरण निर्माण गर्न बारम्बार आग्रह गरियो । तर दुर्भाग्यवश ती प्रयासहरूलाई सकारात्मक रूपमा ग्रहण गरिएन ।
हामीले विशेष महाधिवेशनको नाममा पार्टी भित्र थप विवाद सिर्जना नगर्न, लोकतान्त्रिक प्रक्रियालाई कमजोर नबनाउन र संगठनात्मक एकतालाई क्षति नपु¥याउन आग्रह गरेका थियौं । पार्टीको आधिकारिकता सम्बन्धी विषय सम्मानित सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा पार्टीको अधिवेशन र महाधिवेशनको एकतर्फी रूपमा घोषणा गरिएको कार्यतालिका स्थगन गरेर वार्ता र संवाद मार्फत सहमतिमा पुग्ने वा सम्मानीत सर्वोच्च अदालतको निर्णयको प्रतिक्षा नगरि एकलौटि रुपमा अगाडी वढनु कुनैपनि हालतमा उचित मान्न सकिन्न ।
निश्चित सर्तहरू स्वीकार गरेमात्र पद व्यवस्थापन गरिने वा राजनीतिक सहमतिको सट्टा पद बाँडफाँडलाई समाधानको आधार बनाइने दृष्टिकोणले कांग्रेसको गौरवशाली इतिहास र लोकतान्त्रिक संस्कारलाई कमजोर बनाउँछ । नेपाली कांग्रेसका नेता–कार्यकर्ताहरूको आत्मसम्मान कुनै पदको सौदाबाजीको विषय हुन सक्दैन ।
कथित विशेष महाधिवेशनबाट निर्मित नेतृत्वले गर्ने अधिवेशन र महाधिवेशनले पार्टीलाई एकताबद्ध बनाउनेभन्दा विभाजनलाई संस्थागत गर्न उद्दत भएको देखिन्छ । त्यसैले पार्टीको भविष्यलाई केन्द्रमा राखेर कानुनी र राजनीतिक दुवै पक्षको सम्मान हुने गरी समाधान खोज्नु आजको आवश्यकता हो ।
यस अवस्थामा सम्पूर्ण नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूलाई भ्रम र गैरजिम्मेवार राजनीतिक प्रचारबाट प्रभावित नहुन हार्दिक अपिल गर्दछौं । आश्विन ३ गतेवाट विधि प्रकृया मिचि शुरु गर्ने भनिएको तथाकथित अधिवेशन÷महाधिवेशनमा भाग नलिन आग्रह गर्दछौं । १४ औँ महाधिवेशनबाट निर्वाचित वैधानिक नेतृत्वले सार्वजनिक गरेको कार्यतालिका अनुसार असोज १५ गतेदेखि सञ्चालन हुने वडा हुँदै विभिन्न तहको अधिवेशनमा सक्रिय सहभागिता जनाई मंसिर २१, २२ र २३ गते सम्पन्न हुने केन्द्रीय महाधिवेशनलाई सफल बनाउन सम्पूर्ण नेपाली कांग्रेसका साथीहरुमा हार्दिक अनुरोध गर्दछौं ।
नेपाली कांग्रेसको शक्ति यसको इतिहास, विचार, लोकतान्त्रिक चरित्र र कार्यकर्ताको निष्ठामा निहित छ । विधि, विधान, वैधानिकता र एकताको मार्गमा दृढतापूर्वक उभिएर मात्र पार्टीलाई पुनः सशक्त, विश्वसनीय र नागरिकको आशाको केन्द्रका रूपमा हामीले स्थापित गर्न सक्छौं ।
जय नेपाल !
प्रा.डा. शंशाक कोइराला, संयोजक

