एमसीसी अन्तर्गत पहिलो खण्डको अन्तरदेशीय प्रसारण लाइन निर्माण सम्पन्न
पश्चिम नवलपरासीको सुनवल–१३ सूर्यवस्तीमा निर्माणाधीन सबस्टेशनबाट भारतको सिमासम्म १८ किलोमीटरमा ५३ वटा टावरको निर्माण सम्पन्न भएको छ ।
काठमाडौं, २८ भदौ ।
मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसीं परियोजना) अन्तर्गत सिमापार प्रसारण लाइन निर्माणको काम ९ महिनामा सम्पन्न भएको छ । एमसिए–नेपालले ४०० केभी न्यू बुटवल सबस्टेसनलाई नेपाल–भारत सीमासँग जोड्ने सीमापार प्रसारणको काम सम्पन्न भएको एमसीसी परियोजनाले जनाएको छ ।
प्रसारण लाइन योजना अन्तर्गत पश्चिम नवलपरासीको सुनवल–१३ सूर्यवस्तीमा निर्माणाधीन सबस्टेशनबाट भारतको सिमासम्म १८ किलोमीटरमा ५३ वटा टावरको निर्माण सम्पन्न भएको एमसिए नेपालका कार्यकारी निर्देशक खड्गबहादुर विष्टले जानकारी दिए।
आइतबार सुनवल सुर्यबस्तीमा अर्थमन्त्रालयका सचिव तथा एमसिए–नेपालको सञ्चालक समितिका अध्यक्ष डा.घनश्याम उपाध्यायले नेपाल, संयुक्त राज्य अमेरिका र एमसीसीबीचको साझेदारीले उर्जा क्षेत्रमा नयाँ सम्भावना उजागर गरेको बताए। प्रसारण लाइन निर्माण सम्पन्न भएको जानकारी दिन सुनवल, सूर्यवस्तीमा आयोजित कार्यक्रममा एमसीसी आवासीय राष्ट्रिय नियोगकी निर्देशक डायन फ्रान्सिस्कोले नेपालको उर्जा व्यापारको क्षेत्रमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै लक्ष्य प्राप्तिका लागि एकजुट भएर काम गर्दा कस्तो परिणाम हासिल गर्न सकिने बताइन ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सुनिल पौडेलले नेपालले आफ्नो विद्युतीय पूर्वाधार सुदृढ गर्न र सीमापार विद्युत् सम्पर्क विस्तार गर्न गरेको प्रयासमा प्रसारण लाइन समयमै सम्पन्न भएको बताए ।
नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठले प्रसारण लाइन मार्फत नेपाल र भारतबीचको विद्युत प्रसारणमा नेपाल थप सक्षम बन्दै गएको बताए । नेपालतर्फको १८ किमि प्रसारण लाइन खण्ड पूरा भएबाट सीमापार प्रसारण लाइन अन्तर्गत एमसिए–नेपालबाट हुनुपर्ने निर्माण कार्य सम्पन्न भएका छन् ।
गत वर्षको मङ्सिरमा तत्कालिन अर्थमन्त्री रामेश्वर खनाल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्प्सनले संयुक्त रूपमा शिलान्यास गरेको योजना सम्पन्न भएपछि नेपाल भारतबीचका अन्य प्राविधि, प्रशासनीक काम गर्ने बाटो खुलेको छ ।
उत्त, प्रसारण लाइन निर्माणका लागि हालसम्म झन्डै एक अर्ब २४ करोड बराबरको मुआब्जा वितरण गरिएको जानकारी दिइएको । केही जग्गाको मुआब्जा वितरण प्रक्रियामा रहेको एमसिए नेपालले जनाएको छ ।
एमसीसी परियोजना अन्तर्गत ३१५ किलोमिटर लामो उच्च–भोल्टेजयुक्त प्रसारण लाइन, तीनवटा सबस्टेसन निर्माणका साथै विद्युत् नियमन आयोग र नेपाल विद्युत प्राधिकरणलाई प्राविधिक सहयोग प्रदान गर्ने योजना छन् । अहिले पहिलो खण्डको रुपमा अन्तरदेश जोड्ने प्रसारण लाइन निर्माण भएको हो।
‘१८ किलोमिटर खण्ड एमसीए, नेपालको विद्युत प्रसारण परियोजनाको एक हिस्सा हो, जसमा ३१५ किलोमिटर उच्च भोल्टेज प्रसारण लाइनहरू र तीन सबस्टेशनहरूको निर्माण समावेश छ, साथै विद्युत नियामक प्राधिकरण र एनईएलाई प्राविधिक सहयोग पनि प्रदान गर्दछ’ एमसीसी नेपाले भनेको छ ‘ यो परियोजना नेपालमा बिजुलीको उपलब्धता र विश्वसनीयता सुधार गर्न र ऊर्जा सुरक्षा, भविष्यको बिजुली उत्पादन र सीमापार बिजुली आपूर्तिलाई समर्थन गर्न आवश्यक प्रसारण नेटवर्कलाई बलियो बनाउन डिजाइन गरिएको हो।’

