सांसद घिमिरेको प्रश्नः दैनिक २० जनाले आत्महत्या गर्दा सरकारको योजना के छ ?
राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए ।
काठमाडौं, २६ भदौ ।
राष्ट्रिय सभा सदस्य वासुदेव घिमिरेले नेपालमा तीव्र रूपमा बढिरहेको आत्महत्याको दरप्रति गम्भीर चिन्ता व्यक्त गर्दै न्यूनीकरणका लागि सरकारसँग ठोस योजनाको माग गरेका छन् । राष्ट्रिय सभा बैठकको शुन्य समयमा बोल्दै सांसद घिमिरेले नेपालमा आत्महत्याको स्थिति भयावह बन्दै गएको र यसलाई रोक्न राज्य पक्षबाट तत्काल विशेष पहलकदमी लिनुपर्नेमा जोड दिए ।
सेप्टेम्बर १० विश्व आत्महत्या रोकथाम दिवसको अवसरलाई समेत उल्लेख गर्दै सांसद घिमिरेले मुलुकमा वार्षिक सात हजार भन्दा बढी व्यक्तिले आत्महत्या गर्ने गरेको कहालीलाग्दो अवस्था रहेको उल्लेख गरे।
धिमिरेले नेपालमा आत्महत्याबाट दैनिक औसत १९ देखि २० जनासम्मले अकालमा ज्यान गुमाइरहेका तथ्य अघि सार्दे भने ‘ आत्महत्याको निरन्तर क्रम रोकिनुको सट्टा दिन–प्रतिदिन झन् बढ्दै गएको छ । यस्तो गम्भीर सामाजिक तथा मानसिक स्वास्थ्य समस्यालाई समाधान गर्न सरकारले कस्ता योजना र कार्यक्रमहरू बनाएको छ ? ’ घिमिरेले राष्ट्रियसभा अध्यक्षमार्फत सदनमा स्पष्ट जानकारी गराउन माग गरे।
यस्तै, सांसद घिमिरेले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाएका नागरिकहरूप्रति पनि गम्भीर दुःख व्यक्त व्यक्त गरे । उनले बाढीको गर्दै विपद्बाट प्रभावित भएकाहरूलाई उचित राहत र व्यवस्थापनका लागि समेत ध्यानाकर्षण गराएका थिए।

