सामाजिक सञ्जाल एक्समा लेख्दै नेतान्याहुले यो रिपोर्ट वामपन्थीहरूको चुनावी अभियानको भाग भएको र यसको समय राजनीतिक रूपमा प्रेरित रहेको बताएका छन्। नेतान्याहुले इजरायली पत्रिकारुद्ध मुद्दा हाल्ने तयारी, अक्टुवर २७ मा हुने  निर्वाचनमा  नेतन्याहुको प्रतिपक्षिसँग कडा प्रतिस्पर्धा हुने देखिदैछ ।
एजेन्सी, २६ भदौ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ७ अक्टोबर २०२३ को आक्रमणअघि संयुक्त अरब इमिरेट्स (युएई) का राष्ट्रपतिले उनलाई चेतावनी दिएको भन्ने समाचार प्रकाशित भएपछि इजरायली पत्रिका हाआरेट्ज विरुद्ध मानहानीको मुद्दा दर्ता गर्न आफ्ना वकिलहरूलाई निर्देशन दिएका छन्।

नेतान्याहुको कार्यालयले ७ अक्टोबरअघि युएईबाट प्रधानमन्त्रीलाई कुनै पनि चेतावनी नआएको स्पष्ट पार्दै उक्त समाचारलाई आफू विरुद्धको कुटिल षड्यन्त्रको रूपमा टिप्पणी गरेको छ।

के थियो हाआरेट्जको रिपोर्टमा?

हाआरेट्जमा प्रकाशित एक पुस्तकको अंश अनुसार, सन् २०२३ को सेप्टेम्बर महिनाको अन्त्यतिर युएईका राष्ट्रपति शेख मोहम्मद बिन जायद अल नह्यानले नेतान्याहुलाई फोन गरी चेतावनी दिएका थिए।

रिपोर्टका अनुसार गाजामा रहेका तत्कालीन हमास प्रमुख याह्या सिनवारले एक ठुलो सैन्य कारबाहीको योजना बनाइरहेको र त्यसले ठुलो रक्तपात गराउनुका साथै सिङ्गो क्षेत्रलाई नै अस्थिर बनाउन सक्ने चेतावनी युएईका राष्ट्रपतिले दिएका थिए। स्लोमी एल्डर र रुथ युभलद्वारा लिखित पुस्तक ‘होस्टेजेज: ८४३ डेज अफ एबाण्डन्मेन्ट’ मा आधारित सो रिपोर्टमा दर्जनौँ स्रोत, कागजात र पत्राचारको अध्ययन गरिएको दाबी गरिएको छ।

रिपोर्टमा दाबी गरिएअनुसार नेतान्याहुले भने उक्त चेतावनीलाई सामान्य रूपमा लिँदै हमासले वेस्ट बैङ्क (पश्चिम किनार) मा मात्र गतिविधि बढाउन खोजेको र इजरायल जुनसुकै अवस्थाका लागि तयार रहेको प्रतिक्रिया दिएका थिए।  नेतान्याहुले यो कुराकानीबारे आफ्ना गुप्तचर निकाय (सिन बेट र मोसाद) का प्रमुख तथा सेना प्रमुखलाई समेत जानकारी नगराएको आरोप लगाइएको छ।

नेतान्याहु र हाआरेट्जको अडान

नेतान्याहुको सत्ताधारी लिकुड पार्टीले यो रिपोर्टलाई इजरायलको आसन्न निर्वाचनमा “प्रत्यक्ष विदेशी हस्तक्षेप” को संज्ञा दिएको छ। सामाजिक सञ्जाल एक्समा लेख्दै नेतान्याहुले यो रिपोर्ट वामपन्थीहरूको चुनावी अभियानको भाग भएको र यसको समय राजनीतिक रूपमा प्रेरित रहेको बताएका छन्।

अर्कोतर्फ, लामो समयदेखि नेतान्याहुको आलोचक रहँदै आएको हाआरेट्ज पत्रिका र उसका वकिलहरूले भने आफ्नो रिपोर्टिङमा अडिग रहने स्पष्ट पारेका छन्। प्रधानमन्त्रीको कानुनी कारबाहीको धम्कीले पत्रकारिताको आलोचनात्मक भूमिकालाई मौन बनाउने उद्देश्य राखेको र यसले आफूहरूलाई नतर्साउने उनीहरूले जनाएका छन्।

युएई र विपक्षीको प्रतिक्रिया

युएईको परराष्ट्र मन्त्रालयले सो फोन वार्ताबारे प्रत्यक्ष टिप्पणी नगरे पनि आफूहरूले स्थापनाकालदेखि नै क्षेत्रीय स्थिरता र मध्यस्थताका लागि खुला संवाद कायम राख्दै आएको र आवश्यक पर्दा गुप्तचर सूचना आदानप्रदान गर्ने गरेको बताएको छ।

यसैबिच, इजरायलका चार प्रमुख विपक्षी नेताहरू—गाडी आइजेनकोट, नाफ्तली बेनेट, एभिग्डोर लिबरम्यान र यायर गोलानले संयुक्त विज्ञप्ति जारी गर्दै यस विषयमा निष्पक्ष छानबिनको माग गरेका छन्।

आगामी २७ अक्टोबरमा हुने इजरायलको आम निर्वाचनको पूर्व सन्ध्यामा सार्वजनिक भएको यो समाचारले त्यहाँको राजनीतिलाई थप तताएको छ।

७ अक्टोबरको पृष्ठभूमि

७ अक्टोबर २०२३ मा हमासले इजरायलमा अचानक आक्रमण गर्दा करिब १,२०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजा लगिएको थियो। त्यसपछि इजरायलले सुरु गरेको जवाफी सैन्य अभियानमा गाजाका स्वास्थ्य अधिकारीहरूका अनुसार हालसम्म ७३,६७० भन्दा बढी मानिसको मृत्यु भइसकेको छ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार