कांग्रेस क्षेत्रिय अधिवेशनसम्मको कार्यतालिका सार्वजनिक : जिल्ला र प्रदेश अधिवेशन दोश्रो चरणमा
अशोज १६ देखी काठमाडौं हुने भनिएको केन्द्रीय अधिवेशनको मिति यथावत राख्दै क्षेत्रिय अधिवेशनसम्मको नयाँ अधिवेशन कार्यतालिका प्रकाशित भएको छ भने जिल्ला र प्रदेश अधिवेशन संभवत केन्द्रीय अधिवेशन पछि गर्ने नीति अख्तियार गरेको देखिन्छ । कांग्रेसको विधानमा क्षेत्रिय अधिवेशनबाट महासमिति सदस्य र महाधिवेशन प्रतिनिधि चुनिन्छन ।
काठमाडौं, २३ भदौ ।
नेपाली कांग्रेसले भोटेकोशी बाढी तथा पार्टी सभापति गगनकुमार थापाले पार्टीका केही वरिष्ठ नेताहरुसँग संवाद गरिरहेको पृष्ठभूमिमा स्थानीयतह अधिवेशन दश दिन पछाडि सारेको छ । थापाले पार्टीका शीर्ष नेताहरु डा. शेखर कोइराला, पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का लगायतसँग पार्टी एकताका लागि वार्ता गरिहेका छन् ।
कतिपय जिम्मेवार नेताबाट अधिवेशन दशै पछि गर्नुपर्दछ भन्ने विचार प्रवाह भैरहेको अवस्था नयाँ कार्यतालिका सार्वजनिक गरिएको छ । पार्टीको निर्वाचन संयोजक प्रेमबहादुर खड्काले आज विज्ञप्ति प्रकाशित गर्दे स्थानीयतह अधिवेशन अशोज ३, ४ गते गर्ने भनेका छन् । यस अघि भदौ २४ देखि स्थानीयतह अधिवेशनको कार्यतालिका सार्वजनिक गरिएको थियो ।
खड्काले विज्ञप्तिमा भनेका छन् ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको मिति २०८२ चैत्र ११ गतेको निर्णयानुसार, मिति २०८३ असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने गरी नेपाली कांग्रेसको १५ औं केन्द्रीय महाधिवेशन तोकि विभिन्न तह र निकायको निर्वाचन कार्यतालिका प्रकाशित भएको, सोही बमोजिम केन्द्रीय कार्यसमितिको २०८३ श्रावण २४ गतेदेखि भाद्र १ गतेसम्म बसेको बैठकको निर्देशन र केन्द्रीय निर्वाचन समितिको भाद्र २ गते वसेको बैठकको निर्णय अनुसार वडा अधिवेशन भाद्र २४ गतेबाट शुरू गर्ने भनी परिमार्जित कार्यतालिका प्रकाशित भएको व्यहोरा सर्वविदितै छ ।’
खड्काले २०८३ भदौ १० गते रसुवाको भोटेकोशीमा आएको वाढीले निम्त्याएको महाविपत्ति तथा धनजनको क्षतिले सम्पुर्ण देश शोकमा रहेको अवस्था औल्याउँदै बाढी प्रभावित क्षेत्रका अतिरिक्त देशका अन्य भुभागका हजारौं नागरिक प्रभावित भएको अवस्थामा विभिन्न जिल्ला र क्षेत्रबाट आएको राय, सल्लाह, सुझावलाई समेत ध्यानमा राख्दै नयाँ क्यालेण्डर प्रकाशित गरेको बताएका छन् । ‘पूर्व निर्धारित मिति २०८३ असोज १६ देखि १९ गतेमा नै केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने गरी अन्य तहगत अधिवेशनका कार्यक्रमको विस्तृत समयतालिका (क्यालेण्डर) तय गरी अधिवेशन प्रक्रिया अगाडि बढाउन केन्द्रीय निर्वाचन समितिलाई प्राप्त राय सुझाव एवं निर्देशन समेतको आधारमा २०८३ असोज १६ देखि १९ गतेसम्ममा केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने वैधानिक दायित्वलाइै केन्द्र विन्दुमा राखी प्रथम चरणमा विभिन्न तह र निकायको निर्वाचनको समयतालिका (क्यालेण्डर) निम्नानुसार प्रकाशित गरिएको छ’ खड्काले भनेका छन् ।
नयाँ कार्यतालिकामा अशोव ३, ४ स्थानीयतह अधिवेशन गर्ने,गाउँ नगर अधिवेशन अशोज ७ गते र प्रदेशसभा र प्रतिनिधिसभा क्षेत्रिय अधिवेशन १० गते गर्ने र केन्द्रीय अधिवेशन अशाज १६ देखि काठमाडौमा गर्ने भनिएको छ । जिल्ला र प्रदेश भने दोश्रो चरणमा गरिने बताइएको छ ।
वक्तव्यमा भनिएको छ‘ प्रकाशित निर्वाचन प्रक्रियामा उत्साहप्रद रूपमा सहभागी हुन सम्पूर्ण क्रियाशील सदस्य तथा पार्टीका सबै तह र निकायलाई नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समिति हार्दिक अनुरोध गर्दछ ।’
बाढी प्रभावित रसुवा, नुवाकोट र धादिंग जिल्लाको हकमा तोकिएको निर्वाचन अधिकृत र पार्टीको स्थानीय तहसंगको समन्वयमा अधिवेशन सम्पन्न गर्ने । नेपाली जनसम्पर्क समितिको बाँकी रहेका देशहरूको अधिवेशन २०८३ असोज १० गतेभित्र सम्पन्न गर्ने जिल्ला अधिवेशन र प्रदेश अधिवेशनको समयतालिका दोस्रो चरणमा प्रकाशित गर्ने भनिएको छ ।

