छलफलका वक्ताहरुले नेपाल प्रकोपजन्य मुलुक भएको अवस्थालाइ ध्यानमा राखेर नीति, योजना र कार्यक्रम बन्नुपर्ने धारणा राखे ।

काठमाडौं, २१ भदौ ।
भोटेकोशीबाढीको प्रलयले व्यापक मानवीय, भौतिक क्षति गरेको पृष्ठभूमिमा भौतिक पूर्वाधार विकास, पुर्ननिर्माण र हिमालयको अध्ययनजस्ता विषयमा नयाँ शिराबाट सोच्नुपर्ने आवश्यकता भूवैज्ञानिकहरुले औल्याएका छन् ।
आइतबार नेपाल जियोलोजिकल सोसाइटी(एनजिएस)ले आयोजना गरेको Science, Evidence and Lessons for a Resilient Future विषयक छलफलका वक्ताहरुले नेपाल प्रकोपजन्य मुलुक भएको अवस्थालाइ ध्यानमा राखेर नीति, योजना र कार्यक्रम बन्नुपर्ने धारणा राखे ।


भूगर्भविदहरुले भोटेकोशी बाढीमा त्यति धेरै पानी कसरी, कहाँबाट आयो, त्यस्तो भयावह घटना कसरी घट्यो ? प्रश्नहरुमा उनीहरुले ठ्याक्क उत्तर दिएनन् । उनीहरुको जवाफ थियो— यत्तिकै भन्न मिल्दैन, थप अनुसन्धान आवश्यक छ ।
छलफलमा कार्यपत्र प्रस्तुत गर्दे हिमालयको हिउँमा लामो समयदेखि अध्ययन गर्दे आएका दिवश श्रेष्ठले किन यति ठुलो प्रकोप कसरी भयो भन्नेबारे यकिनसाथ उत्तर दिने समय नआइसकेको बताए । श्रेष्ठले भने ‘ हामिले ग्ल्यासियर लेककाबारेमा अध्ययन अनुसन्धान गरेका छौं, लेकको अवस्थाबारे सोधिखोजि गरेका छौं तर ग्ल्यासियरबाट उत्पन्न हुने प्रकोपबारे ध्यान दिन सकेका छैनौं, एकोहोरो ग्ल्यासिएर लेकमा ध्यान दियौं ।’
लाङ्गटाङ्ग क्षेत्र धेरै अध्ययन अनुसन्धान भएको क्षेत्र भएको औल्याउँदै श्रेष्ठले भने ‘लाङ्गटाङ्ग धेरै काम गरेको क्षेत्र हो । त्यहाँ धेरै अनुसन्धान भएका छन् । तर, उत्तरी क्षेत्रमा हाम्रो पहुँच छैन ।’
हिमालय क्षेत्रमा ५० हजारको संख्यामा ग्ल्यासियरहरु भएको जानकारी दिदैं श्रेष्ठले भने ‘हामिहरुले २४ वटामा ध्यान दिएका छौं, १० वटामा अध्ययन भएको छ, ३ वटामा विस्तुत अनुसन्धान गरेका छौं ।’
‘हामिले प्रकोपलाई ध्यानमा राखेर सोच्दै, अब हामिहरु विज्ञानमा काम गर्नेहरु एकै ठाउँमा बसेर काम गर्नुपर्ला’ श्रेष्ठले भने ।
भूगर्भविद प्रदीप पौडेलसमेतको एनजिएसको टिमले भोटकोशीबाढी पछिको अवस्थाबारे रसुवागढीदेखि गल्छिसम्को प्रारम्भिक अनुसन्धान गरेको थियो । सोही अनुसन्धान प्रस्तुत गर्र्दे पौडेलले बाढी पछि, ३०, ३५ मीटर बाक्लो ढुंगा,माटो बालुवाको थुप्रो लागेको र दक्षिणतर्फ बढ्दै गएपछि नदीले थुपारेको तह कम हुँदै गएको बताए । पौडेलका अनुसार,बाढी पछि नदीले आफ्नो बहाव परिवर्तन गरेको छ । आउँदा दिनमा कता धार बनाएर नदी बग्दछ, कुन गहिराईसम्म जान्छ त्यसले अन्य धेरै पक्षमा फरक पार्ने पौडेलले बताए । ‘बाढीले भूसतहको स्वरुपनै बद्लेको छ, दुई तिन वर्षका मनसुन पछि नदीले आफ्नो एउटा निश्चित बाटो तय गर्ला’ पौडेलले भने ‘अहिले पनि बाढी घटिसकेको छैन, बाढी घट्दै गएपछि नदी किनारामा भएका सडकहरुमा समस्या देखिनसक्छ ।’ नदी किनाराबाट सडक बनाउने विषयहरुमा थप अनुसन्धान हुनुपर्ने पौडेलले बताए ।
भूगर्भविद संजिव सापकोटाले जलविद्युत आयोजना निर्माणको समयमा प्रकोपलाई ध्यान दिने गरिएपछि निर्माण पछि संचालनको क्रममा प्रकोप व्यवस्थापनबारे, आपतकालिन अवस्थाबारे कुनै व्यवस्था हुने नगरेको अवस्था औंल्याए । ‘बाहिर बाढी आएपनि पावरहाउस भित्र हामि सुरक्षित छौं भन्ने सोच थियो’ सापकोटाले भने ‘अब त्यस्तो अवस्था रहेन, पुर्नविचार आवश्यक पर्यो, अब अर्को कोणबाट सोच्ने बेला आयो ।’
प्राध्यापक डा. संंगिता सिंहले शहरी विकास र वस्ती विकासका अभ्यासहरुमा पुर्नविचार आवश्यक रहेको धारणा राखिन । ‘खोला, नदी किरानाबाट सडक निर्माण गरेपछि बसोबास लगायतका आर्थिक गतिविधि बढ्दछन्’ सिंहले भनिन् ‘ प्रशासनिक योजनामा बन्ने विकासल अहिले चुनौति बनेका छन् ।’
सिंहले शहरीकरणको योजना बनाउँदा सामाजिक न्याय, वातावरणीय न्याय लगायतका पक्षलाई समेटेर बनाउनुपर्ने आवश्यकता औंल्याइन ।
भूगर्भविद प्राध्यापक बसन्तराज अधिकारीले नेपालको संविधान, कानूनमा समेत प्रकोप व्यवस्थापनबारे विस्तृतमा नीतिगत व्यवस्था भएको चर्चा गरे । केन्द्रदेखि स्थानीयतहसम्म प्रकोपको समयमा कसले के गर्ने, कसको जिम्मेवारी के हो ? सबै कानुनमै व्यवस्था भएको अधिकारीले बताए ।
२०७२ को भूकम्प पछि राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकर गठन भएको चर्चा गर्दे अधिकारीले प्राधिकरणनै प्रकोपमा नोडल कार्यालय भएको बताए । अहिलेको प्रकोपमा प्राधिकरणको भूमिका बारे अधिकारीले समन्वयमा केही समस्या देखिएका छन्, काममा कतैकतै डुप्लिेकेशन भएको बताए ।
गृहमन्त्रालयको छत्रछायामा रहेको प्राधिकरण कानूनले दिएको अधिकार समेत प्रयोग गर्न भने नसकिरहेको अवस्था देखिन्छ ।
प्राधिकरणका पूर्व कार्यकारी प्रमुख शुशिल ज्ञवालीले भोटेकोशी बाढीको प्रमुख कारण क्लाइमेट परिवर्तन हो भन्ने कुरा प्रमाणका आधारमा पुष्टीगर्नुपर्ने आवश्यकता औंल्याए । विज्ञानसम्मत समुदायले देशका समस्याहरुमा अगुवाई गर्दे सुझावहरु दिनुपर्ने ज्ञवालीले बताए ।
सिंचाई विभागको सभाहलमा आयोजित कार्यक्रममा एनजिएसका अध्यक्ष भास्कर खतिवडाले छलफल कार्यक्रमको उदेश्यबारे मन्तव्य राखेका थिए । एनजिएसका महासचिव शिवकुमार वास्कोटाले उद्घाटन सत्र तथा एनजिएस साइन्टिफिक कमिटिका संयोजक सुबोध ढकालले कार्यपत्र शस्त्र संचालन गरेका थिए ।