आफन्त सबै खोसिए, आफूलाई भाग्यमानी कसरी भनूँ?’
रसुवाको टिमुरेमा आएको विनाशकारी भोटेकोशी बाढीले कार्साङ तामाङको जीवन एकै झट्कामा उजाडिएको छ। बाढीमा उनका श्रीमान्, सासू तथा बा–आमा सम्पर्कविहीन छन्। आफू र २१ महिनाको छोरालाई भने उनले कठिन परिस्थितिबिच ज्यान जोगाउन सफल भइन्।
कार्साङ अहिले काठमाडौँको रानीवनस्थित पहेँलो गुम्बामा अस्थायी आश्रय लिएर बसेकी छन्। बाढी आएको छैटौँ दिनसम्म पनि उनी सामान्य अवस्थामा फर्किन सकेकी छैनन्। निद्रा नलाग्ने र पटक–पटक त्यही त्रासदीमय बिहानको दृश्य सम्झनामा आइरहने उनी बताउँछिन्।
कार्साङको पेटमा अहिले तीन महिनाको गर्भ छ। एउटा सानो छोरा र गर्भभित्र हुर्किरहेको नयाँ जीवनकै कारण आफू कमजोर हुने अवस्था नरहेको उनी बताउँछिन्। ‘यिनीहरूकै लागि मात्र म बाँच्नुपरेको छ। नत्र त मर्नु र बाँच्नुको केही अर्थ थिएन,’ आँसु पुछ्दै उनले भनिन्।
कार्साङको विवाह भएको तीन वर्ष भएको छ। भदौ १० गते बिहान उनी काठमाडौँ जाने तयारीमा थिइन्। काम सकेर चाँडै यात्रा गर्ने सोचसहित उनले बिहानै घरधन्दा पूरा गरिसकेकी थिइन्।
त्यही क्रममा काममा निस्कन लागेका श्रीमान्लाई उनले घरमै बस्न आग्रह गरेकी थिइन्। तर उनी चीनबाट आएका पर्यटकका लागि गाइडको काम गर्नुपर्ने भन्दै बाहिरिएका थिए।
‘मैले काम गरेँ भने खर्च तिमीलाई नै त हो। बरु छिटो खाना खाऊ। खाली आउँछ गाडी, छिटो गरेर जाऊ है,’ श्रीमान्ले भनेका कुरा कार्साङलाई अहिले पनि सम्झना छ।
अचानक आयो त्यो भयावह आवाज
त्यो बिहान बाढी आउने कुनै सङ्केत नदेखिएको कार्साङ बताउँछिन्। उनी सामान्य रूपमा घर वरिपरि काम गरिरहेकी थिइन्।
अचानक उनले ठुलो आवाज सुनिन्। सुरुमा हिमालबाट ढुङ्गा खसेको होला भन्ने ठानेकी उनले केही बेरपछि माथिबाट तीव्र गतिमा बाढी उर्लँदै गरेको देखिन्।
छोरा माथिल्लो कोठामा सुतिरहेका थिए। कार्साङ दौडेर छोरालाई लिएर बाहिर निस्किइन्।
उनकै आँखाअघि घर अगाडिको विद्यालयसमेत बाढीले बगायो। उनी उकालोतर्फ दौडिन थालिन्।
‘आज बाँचिन्नँ, बाँचेँ भने छोरासँगै बाँच्छु। मरेँ भने पनि छोरासँगै मर्छु,’ त्यस बेला मनमा आएको कुरा उनले सुनाइन्।
उकालो चढ्दै गर्दा उनलाई चारैतिर बादल र धुलोले ढाकिएको जस्तो लागेको थियो। भाग्न खोज्दा समेत पछाडिबाट कसैले तानेजस्तो महसुस हुन्थ्यो।
उनका अनुसार अगाडि दौडने धेरै मानिस सुरक्षित हुन सफल भए। तर पछाडि रहेका धेरै जनालाई बाढीले बगायो।
सासू पनि बाढीमै हराइन्
कार्साङसँगै उकालो लागिरहेका मानिसमध्ये उनकी सासू पनि थिइन्। तर बाढीको भेलले उनलाई समेत बगायो।
ससुरा भने खैरी जङ्गलतर्फ गोठ राखेर बसेका कारण संयोगले सुरक्षित रहे।
उकालो स्थानमा पुगेपछि कार्साङले तलतिर फर्केर हेर्दा आफूले बसेको टिमुरे बस्ती नै नरहेको जस्तो दृश्य देखिन्।
बाढीमा उनका बुबासमेत सम्पर्कविहीन छन्। सडक विभागमा काम गर्ने उनका बुबासँग त्यसयता सम्पर्क हुन सकेको छैन। टिमुरेमा रहेका आमाको अवस्थासमेत थाहा हुन सकेको छैन।
‘भाग्यमानी कसरी भनूँ ?’
बाँचेर काठमाडौँ आइपुगेपछि पनि आफू भाग्यमानी कि अभागी भन्ने प्रश्नले कार्साङलाई पिरोलिरहेको छ।
उनी भन्छिन्, ‘यत्रो आफन्त गुमाएको छु। एउटा न एउटा भइदिएको भए नि हुन्थ्यो। सबै मान्छे गुमाएपछि भाग्यमानी कसरी भन्ने !’
आफन्तको सम्झना उनलाई लगातार सताउने गरेको छ। कहिलेकाहीँ उनीहरू आफ्नै छेउमा आएर कुरा गरिरहेको जस्तो लाग्ने गरेको कार्साङ बताउँछिन्।
‘अहिले कुरा गरिरहेका छन् झैँ लाग्छ, अनि गाह्रो हुन्छ,’ उनी भन्छिन्।
बाढीको त्रास छोरामा पनि परेको छ। हवाईजहाजको आवाज सुन्नासाथ छोरा डराएर रुन थाल्ने गरेको कार्साङले बताइन्।
पहेँलो गुम्बामा आश्रय, भविष्यको चिन्ता
शुक्रबार काठमाडौँ आइपुगेकी कार्साङ अहिले पहेँलो गुम्बामा बसिरहेकी छन्। यहाँ उनलाई खाना तथा लत्ताकपडाको व्यवस्था भइरहेको छ।
कलाकार रवीन्द्र सिंह बानियाँ, ऋचा शर्मा तथा निर्माता रौनक विक्रम कँडेललगायतको सक्रियतामा राहत तथा खानाको व्यवस्था गरिएको जनाइएको छ। कार्साङजस्तै उद्धार गरेर ल्याइएका ४ सयभन्दा बढी बाढीपीडित अहिले त्यहाँ आश्रय लिइरहेका छन्।
तर राहत पाउनु मात्र कार्साङको चिन्ता होइन। उनको सबैभन्दा ठुलो चिन्ता २१ महिनाको छोरा र गर्भमा रहेको शिशुको भविष्य हो।
‘न आफ्ना कोही छन्। न बाँकी केही छ। अब यिनीहरूका लागि मैले के गर्ने होला,’ उनी भक्कानिन्छिन्।
भोटेकोशीमा आएको बाढीले कार्साङको घर मात्रै बगाएन, उनको परिवार र भविष्यप्रतिको धेरै आधारसमेत बगाइदियो। अब उनीसँग बाँकी छ– एउटा सानो छोरा र गर्भमा हुर्किरहेको नयाँ जीवन।

