नेपाल एक्लो छैन : युरोपेली संघ
काठमाडौं, २० भदौ ।
युरोपेली संघ नेपाल एक्लो छैन भन्दै मानवीय सहायताको ठूलो परिणाम नेपाल आइपुगेको जनाएको छ । सामाजिक संजालमा युरोपेली संघ नेपालको साथमा छ भनेको छ । मानवीय सामाग्रि आइपुगेको जनाउँदै संघले भनेको छ ‘ नेपाल एक्लो छैन। युरोपेली संघ तपाईंको साथमा छ। दशकौँयताकै सबैभन्दा विनाशकारी बाढीपछि युरोपेली संघ (EU) ले नेपालका लागि सहयोग जारी राखेको छ।’
संघले ८२ टन अत्यावश्यक राहत सामग्री बोकेको EU को पहिलो मानवीय सहायता विमान आज नेपाल आइपुगेको छ । यसमार्फत EU का भण्डारबाट UNICEF सँगको समन्वयमा राहत सामग्री ल्याइएको जनाएको छ।
संघले भनेको छ ‘ साथै, EU ले अन्तर्राष्ट्रिय रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटी महासंघ (IFRC) को विपद् प्रतिकार्य आपत्कालीन कोषमार्फत थप €500,000 उपलब्ध गराउँदैछ। यसले स्थानीय राहत टोलीहरूलाई तत्काल आवश्यकताहरू छिटो पूरा गर्न सहयोग गर्नेछ।’
त्यसैगरी EU Civil Protection Mechanism अन्तर्गत EU सदस्य राष्ट्रहरू लक्जेम्बर्ग , जर्मनी र लाट्भिया र नर्वे ले लाइफ ज्याकेट, WASH सामग्री, कम्बल, चिकित्सा सामग्री तथा आपत्कालीन उपकरणहरू पठाइरहेको उल्लेख छ।
यो सहयोग यसअघि २८ अगस्टमा उपलब्ध गराइएको €२ मिलियनको आपत्कालीन मानवीय सहायता तथा यसै वर्षको सुरुवातमा विपद् पूर्वतयारीका लागि छुट्याइएको झन्डै €३ मिलियनको सहयोगमा थप गरिएको संघले जनाएको छ।

