आफैले सबै गर्नसक्ने अहं, नितान्त प्राविधिक विषयमा सामरिक युद्धको जस्तो सेनालाई जिम्मा दिएर आवश्यक प्रविधिक जनशक्ति तथा श्रोत साधन उपलब्ध गराउन नसकेपछि आयोजनाका सरोकारवालाहरु गंभिररुपमा प्रभावित भएका छन्।

काठमाडौं, १९  भदौ ।
भोटेकोशी बाढीको महाविपदका १० औं दिन । सरकार उद्धार तथा राहत कार्यमा दिनरात खटिरहेको कुरा मिडियामा प्रचारप्रसार पनि भैरहेकै छ । भोटेकोशी, त्रिशुली जलाधार क्षेत्रमा जलविद्युत उत्पादनार्थ संचालनमा रहेका र निर्माणाधीन विद्युत आयोजनाहरुमा फसेका सयौ प्राविधिक जनशक्ति साथै सर्वसाधारण नागरिकहरुको अवस्थालाई लिएर सर्वत्र चिन्ता फैलि रहेको छ ।
यावत प्रयत्नका बाबजुद सरकार सफल हुन नसकिरहेको अवस्थामा सातौ दिनमा आएर उद्धारकार्य आयोजनाहरुकै जिम्मामा छोड्ने गैर जिम्मेवार प्रवृति विपदको कहरबीच प्रदर्शन गर्यो, जुन आलोचनाको विषय बनेका छ । सरकार जिम्मेवारीबाट पन्छिएको आरोप लाग्न थालेका छन् ।
आफैले सबै गर्नसक्ने अहं, नितान्त प्राविधिक विषयमा सामरिक युद्धको जस्तो सेनालाई जिम्मा दिएर आवश्यक प्रविधिक जनशक्ति तथा श्रोत साधन उपलब्ध गराउन नसकेपछि आयोजनाका सरोकारवालाहरु गंभिररुपमा प्रभावित भएका छन्। सरकारी तहबाट छिनछिनमा आउँने अपडेटहरु तर फिल्डमा सुस्त प्रगतिको अवस्थाले आयोजनाहरुका संरचना टनेल तथा पावरहाउसहरुमा फसेका सयौ नागरिक हरुको परिवारजनमा कस्तो प्रभाव पारेको हुनसक्छ ? यस्तो बिकराल अवस्थामा सरकारले जलविद्युत् क्षेत्रमा काम गरेका धेरै अनुभवी जनशक्तिलाई सुरुदेखिनै उद्धारमा संलग्न गराउनुको सट्टा उनीहरुलाई उपेक्षागर्दै विदेशी प्राविधिक विज्ञहरुसहितको उद्धारकर्ताहरुलाई समेत एकहप्तासम्म उद्धारमा संलग्न हुन नदिनुले परिस्थिति झन् झन् जटिल हुन पुगेको हो।
यो स्तरको विपत्तिमा नेपाली जनशक्ति, प्रविधि र उपकरणले सुरुङ, भूमिगत पावर हाउस लगायतका संरचनाहरूमा छिट्टै उद्धार गर्न नसक्ने स्पष्ट नै थियो। दक्षिण कोरिया, चीन, भारत लगायत धेरै देशहरूले उद्धारका लागि सहयोग गछौं भन्दा सरकार आफैले विदेशी सहयोग हामी लिँदैनौं भनेर ढिप्पी कस्नु केवल मुख्याईमात्र हुनेछ। अब ढिलो भयो यसरि लिँडेधिपी गर्नुले परिस्थिथि अझ जटिल बन्ने निश्चितछ। सुरुमै गरेको भए समयमै उद्धार हुन सक्ने थियो। हालको अवस्थामा रसुवाको नेपाल चीन सीमा रसुवागदी केरुङ्गनाका आसपासबाट प्रारम्भ भएर नुवाकोटको देविघाटसम्ममा भोटेकोशी र त्रिशुली नदी तटका विभिन्न विद्युत आयोजना पूर्णरुपमा क्षति भएका छन्। ती आयोजनाहरुका सुरुंग (Tunnel ) र विद्युतगृहहरु (Powerhouse) मा गरेर करिब हजारजना नागरिकहरु फसिरहेको भयावह स्थिति बताइन्छ।
जल विद्युत आयोजनाहरुको प्राविधिक पक्ष, आयोजनाको वर्तमान अवस्था र भैरहेको उद्धारका कामहरुको विवेचना गरौं :

रसुवागढी विद्युत आयोजना
नेपाल चीन सीमानको केरुङ्ग भंसारनाका नजिकै उत्तर पूर्वबाट बग्ने ल्हेन्दे खोला र पश्चिम तर्फबाट आउने भोटेकोशी नदी संगमस्थलको दखिन (नेपाल) तर्फ भोटेकोशी नदीको दाँया किनारमा रसुवागढी आयोजनाको मुहान (इनटेक० रहेको छ।
नेपाल विद्युत प्राधिकरण स्वामित्वको १११ मेघावाट क्षमताको यो आयोजना भित्र मर्मत र संचालन दुबै काम भैरहेका थिए। आयोजनाको जलविद्युत गृहमा पानी पठाउने मुहानबाट मुख्य जलप्रवाह सुरूङ्ग हुँदै डेब्रिस सहित लेदो पसेर पावरहाउस समेत क्षतिग्रस हुन पुगेको छ। गतसालको बाढीबाट समेत क्षतिग्रस भएको यो योजनामा मर्मत संभारसहित सचालनमा थियो। त्यति बेला आयोजनाको विद्युतगृह सचालनकालागि विद्युतगृह भित्र आवश्यक प्राविधिक इलेकट्रिकल इन्जिनीयर, सहायक इन्जिनियरहरु लगायत प्राविधिक, अप्राविधिक कर्मचारी थिए भनिएको छ।
आयोजनाको हेडरेश टनेलमा लेदो पसेर त्यो भरिएको छ । इनटेका भौतिक संरचना सबै ध्वस्त छन्। करिव ५ किलोमीटर लामो हेडरेश टनेल पानीले होइन लेदो, ढुंगामुढाले भरिएको रिपोर्ट छन्। उक्त विद्युतगृह भित्र नियमित संचालन कार्यमा संलग्न १५– २० जना प्राविधिक जनशक्तिहरु को अवस्था अझै अज्ञात छ।

चिलिमे विद्युतगृह
२२ मेघावाट क्षमताको चिलिमे जलविद्युत आयोजनाको भूमिगत विद्युतगृह (Powerhouse) स्याप्रुबेसी भोटेकोशी दायाँ किनाराबाट ४, ५ सय मिटरमा अवस्थित छ। पावरहाउसमा जान नदीको सतहभन्दा करिव २०, २५ मीटर माथि करिव ४०० मीटरको टनेल भित्र गएर पावरहाउस संचालन गर्न बनेको छ । पावरहाउसमा खटेका प्राविधिक कर्मचारी करिब १५,२० जना रहेको अनुमान छ । उनीहरुको अवस्था अज्ञात छ । सातौ दिन देखि उक्त टनेलको लेदो पन्छाउने काम जारी छ, बुधबारसम्ममा ३० मीटर पन्छाइएको रिर्पोछ छ। कम्पनीका कर्मचारी र कामदार गरेर ६, ८ जना पावर हाउस र टनेलका नेटवर्कमा फसेको अवस्था बताइन्छ ।
लाङटाङ्ग विद्युत आयोजना
लाङ्गटाङ्ग विद्युत आयोजना २० मेघावाट क्षमताको निजि क्षेत्रबाट संचालित आयोजना हो। यसको मुहान इनटेक लाङटाङ्ग खोलामा छ । यस आयोजना को पनि मुख्य सुरूङ्गबाट लेदो पसी सुरुंग निर्माण मा खटिएका प्राविधिक तथा कामदारहरु ट्रयाप भएको समाचारहरु आइरहेका छन्। यसैक्रममा स्याब्रुवेशीमा भोटेकोशी र Langtang खोलाको दोभान नजिकै बाँया किनारमा रहेको पावरहाउसमा, जुन जमिनको सतहमा रहेकोले नराम्रोसँग क्षति पुगेको छ। यस आयोजनाको सुरुङ्ग र पावरहाउसमा गरेर जम्मा ६० जना जति कार्यरत रहेकोमा १९ जना सम्पर्कमा आएका छन्, बिहिबार २ जनाको शव पेनस्कट टनेलबाट निकालिएको छ र बाँकी ४१ जनाको अवस्था अज्ञात छ । उनीहरु पावर हाउसमा पुरिदा त्यहीँ भित्र फसेको हुनसक्छ ।

अपर त्रिशुली १
स्याब्रुबेसी नजिक चिलिमे र लाङ्गटाङ खोला भोटेकोशीमा मिसिए पछि करिब १० किमी तल त्रिशुलि खोलाको दोभान पछि नदीको नाम त्रिुशली भनिन्छ । त्रिुशलीको दोभानको ठिक तलपट्टी अपर त्रिशुली(216 MW) आयोजना सुरु हुन्छ। कोरियन कम्पनीको पूर्णस्वामित्वमा निर्माणाधीन यो आयोजना निर्माणको अन्तिम चरणमा थियो । यो आयोजनाको इनटेकबाट करिव १० किलामीटर लामो सुरूङ्ग ९हेडरेश टनेल०मा फिनिसिङ्गको काम भैरहेको थियो । यस आयोजनाको, हेडवर्कर्स, मुख्य टनेल, भूमिगत पावरहाउस पुग्ने टनेल तथा भूमिगत पावरहाउस भित्र कार्यरत करिब ९०० जना प्राविधिक साथै कामदारहरु हालसम्म पनि अज्ञात रहेको बुझिएको छ। त्रिशुली नदीको दाहिने किनारमा करिब २० मीटर माथिबाट ४०० मीटर लामो मेन एसेस टनेल बनाएर भूमिगत पावरहाउस आवत जावत गरिने गरिन्छ। बाढीको कारण आयोजनाको हेडवर्कसका सम्पूर्ण संरचनाहरु ध्वस्त भएका छन्। हेडरेश टनेलबाट लेदो, ढुङ्गामुढा पसेको छ। टनेल र पावरहाउसमा धमाधम काम भैरहेकोले ७०० को हाराहारीको जनशक्ति त्यहाँ भित्र क्रियाशील रहेको बताइन्छ, उनीहरुको अवस्था अन्यौल छ। स्मरणको लागि २०७२ सालको भूकम्पमा पनि यस आयोजनको विभिन्न संरचना क्षेत्रहरुमा ठुलो मानवीय र भौतिक ठूलो क्षति भएको थियो।
ऋगचचभलत क्ष्तगबतष्यल बलम ल्गmदभचक
बाढी आएको समयमा १ हजार ४ सय ३३ जना आयोजनामा काम गरिरहेका थिए । जसमध्ये ८ सय ७६ जना सम्पर्कमा छन् र उद्धार समेत गरिएको छ । ५ सय ५७ जनाको अवस्था अज्ञात छ । वेपत्ता हुनेहरुमा PowerChina ३ सय ८५ जना Andritz Hydro ९४ जना Doosan (56) जना,  project developer NWEDC १५ जना, Jade Consult  ७ Jade Consult का जना र दक्षिण कोरियाली नागरिक छन् ।

मैलुङ्ग खोला 
मैलुंग दोभानमा विद्युतगृह रहेको ५ मेघावाट क्षमताको मैलुङ्ग खोला जलविद्युत आयोजनाको पावरहाउस क्षेत्र पुरै ध्वस्त भएको छ । त्रिुशुलीको ढूलो बाढी मैलुङ्गखोलमा प्रवेश भएर पुनः तलतिर फर्कदा उक्त पावरहाउस क्षतिग्रस बनेको छ। एक दशक भन्दा अघिदेखि संचालनमा रहेको यो आयोजनाको पावरहाउसमा कार्यरत ७र८ जना प्राबिधिकहरूको अवस्था अझै अज्ञात छ।

अपर टिशुली ३ ए : 
नेपाल बिद्युत प्राधिकरणद्वारा निर्माण सम्पन्न गरि संचालनमा रहेको ६० मेघावाट क्षमताको अपर त्रिुशली ३ए आयोजनाका सम्पूर्ण संरचनाहरुमा ठुलो क्षति पुगेको छ। करिव ६ किलोमीटर लामो हेडसेर टनेलद्वारा पानी ल्याएर आयोजनाको विद्युतगृहमा विद्युत उत्पादन भैरहेको थियो । आयोजनको इनटेकबाट टनेल भरिनेगारी ढुंगा, माटो सहितको लेदो पसेको छ भने भूमिगत पावरहाउस भित्र पुग्ने एसेस् टनेल पनि लेदोले भरिएको छ। संचालमा रहेको आयोजना भएकोले यस विद्युतगृह भित्र कार्यरत ४० जना जति प्राविधिक जनशक्तिको अवस्था अझै अज्ञात छ।
सरकारी तबरबाट उद्धारको काम तदारुकताक साथ भैरहेको भएतापनि परिणाम रहित प्रचारमात्र भएको देखिन्छ। यो कुराको तथ्यपुरक उदाहरण बाढी आएको १० दिन तथा टनेलमा उद्धार कार्य सुरुगरेको पनि ६ दिनमा टनेलको मुख फेला पार्न सकेका छन् ।  जिपिसबाट सजिलै थाहा पाउनुपर्ने विषय हो यो । २ दिन गलत स्थानमा खने पछि, त्यहाँ होइन  भन्ने भएपछि अर्को ठाउँमा खन्न थालिएको हो ।  कतै रास्वपा सांसद श्रीराम न्यौपाने जो पेशाले इन्जिनीयर हुन्, आफै ठेकेदारी त गरिराखेका छैनन् प्रश्न उठ्न सक्छ। उनकै निर्देशन र साधन श्रोत प्रयोग भैरहेको बुझिन्छ। कृपया यस्तो संवेदनशील अवस्थामा कसैले पनि व्यापार तथा राजनीति गर्ने काम नगरौ।

त्रिशुली ३बि
निर्माणाधीन ३७ मेघावाटको त्रिशुली ३बि आयोजनाको इनटेक र पावर हाउस दुबै ध्वस्त भएका छन्। आगामि वर्ष विद्युत उत्पादनको लक्ष्य राखेको आयोजनाको भूमिगत पावर हाउस छ । आयोजनाको मुख्य टनेल तथा मेन एसेस् टनेल दुबैबाट लेदो, ढुंगामुढा टनेलमा कोचिएको अवस्थाबीच खासै उद्धारका काम भैरहेका देखिदैन। यस आयोजनामा पनि टनेलहरु साथै पावरहाउस भित्र ३०र४० जना मानिसहरु ट्रयाप भएकै अबस्थामा रहेको बुझिन्छ। त्यस्तै आयोजना को अफिस तथा क्याम्पहरुमा पनि थुप्रै मानिसहरु हुनसक्ने कुरा समाचार हरुमा आइरहेकै हुन्।
त्रिुशली जलविद्युत ३६ मेगावाट तथा देविघाट १४ मेगावाट आयोजनाहरु तल्लो तटीय क्षेत्रमा रहेके पुराना आयोजनाहरुमा त्रिशुली र देविघाट आउँछन् ।३६ मेघावाटको त्रिशुलीबाट निस्किएको पानीबाट १४ मेघावाटको देविघाट आयोजना धेरै पहिला संचालनमा आएका हुन्। दुबै आयोजनाहरुका इन्टेक तथा पावरहाउसका सम्पूर्ण संरचनाहरु ध्वस्त भएका छन्। यो क्षेत्रमा पनि खासै उद्दारको कार्य भैरहेको बुझिएको छैन।

निचोड
भोटेकोशी बाढी भयावह, अकल्पनीय प्राकृतिक विपद हो । हिमालयन सुनामी भन्न मिल्ने आँकलन र अनुमान नै गर्न नसकिनेगरी बाढीको लेदो आएपछि भोटेकोशी, त्रिशुलीमा संचालनमा रहेका, निर्माणाधीन सबै आयोजना ध्वस्त भएका छन् । ठूलो संख्यामा मानवीय क्षति भएको र अझै थप क्षतिका रिपोर्ट आउँन सक्ने अवस्था छ । टनेल तथा पावरहाउसहरुमा थुनिएका मानिसहरुको अवस्था अज्ञात छ। उनीहरुको उद्धारका काम भने अपेक्षाकृत गतिमा हुन सकेको देखिदैन।
सेना, प्रहरी, प्राविधिकको अहोरात्र खटाई देखिन्छ, प्रचार पनि प्रशस्त भएको छ । तर, मुल प्रश्न प्रकोपको भयावहता र विद्युत आयोजनाहरुमा फसेका मानिसलाई उद्धार गर्ने काममा सरकार संवेदनशील हुनसकेन । सुरक्षा निकायबाट प्राविधिक कामको अपेक्षा गरेको देखियो। बाढी आएको दोश्रो दिनदेखीनै गम्भिरकासाथ आयोजनाका प्रवद्धक, प्राविधिक जनशक्ति, उपकरणहरुको व्यवस्था गरेर उद्धारको काम थाल्नुपर्दथ्यो, त्यो हुन सकेन। सरकारको अकर्मण्यताका कारण न आयोजनाका प्रवद्धक उद्धारमा सरिक हुन पाए, न त देशविदेशीहरुलाई आव्हान नै गरियो। हो, बाटाघाटा सबै बिग्रिएका थिए। निजि क्षेत्रले आफ्नो आयोजनामा उद्धार गर्न जान हेलिकप्टरसम्म पाएनन् । ५,६ दिनसम्म सबै निजि हेलिकप्टरहरु समेत सरकारी नियन्त्रणमा राखिएको थियो।
भर्खरैमात्र नागढुंगा सुरुङ्ग निर्माण सम्पन्न गरेका जापानी कम्पनी काठमाडौंमै थियो। टनेलका लागि आवश्यक उपकरण उसँग थियो। फास्टट्रयाकमा चिनियाँ कम्पनी टनेलमै काम गरिरहेका छन्। उनीहरुको सहयोग लिन सकिन्यो सायद । किन लिईएन ? प्रकोपको समयमा सरकार अंहकारी बनेर बस्ने होइन, हारगुहार गरेर कमभन्दा कम मानवीय क्षति कसरी हुन्सक्छ भन्ने तर्फ सोचिनु पर्दथ्यो।
यद्यपि प्राविधिक पेशाकर्मी, वौद्धिक समाज र निजिक्षेत्रले प्रकोपको पीडाबीच सरकारलाई दबाव दिन थालेपछि उद्धारका कामले केही गति लिनथालेको देखिदैंछ।
(लेखक घिमिरे, त्रिभुवन विश्वविद्यालय भूगर्भशास्त्र केन्द्रीय विभागका उपप्राध्यापक प्राध्यापक हुन्)