बाढीमा परेका सशस्त्र प्रहरीका १३ जना प्रहरीहरु वेपत्ताको सूचिमा छन् ।

काठमाडौं, १९ भदौ । सशस्त्र प्रहरीले भोटेकोशी बाढीमा परेर दिवंगत भएका परिवारलाई २५ लाख रुपैया उपलब्ध गराउने, सन्तानलाई पायक पर्ने सशस्त्रका स्कूलहरुमा कक्षा १० सम्म निशुक्ल पढाउने, परिवारका एक जना सदस्यलाई सिपमूलक तालिम दिने र बाढीमा दिंवगत भएकाहरुको स्मृतीमा पायक पर्ने स्थानमा स्मारक पार्क बनाउने निर्णय गरेको छ । बाढीमा परेका सशस्त्र प्रहरीका १३ जना प्रहरीहरु वेपत्ताको सूचिमा छन् ।
सशस्त्र प्रहरी महानिरीक्षक नारायण दत्त पौडेलको अध्यक्षतामा मिति २०८३ भाद्र १८ गते बसेको परामर्श समितिको बैठककाले सशस्त्र प्रहरीका विभिन्न दर्जा अनुसार मासिक तलवबाट तलव कट्टा गरेर प्रधानमन्त्री दैवि प्रकोप उद्धार कोषमा १५ करोड जम्मा गर्ने निर्णय पनि गरेको छ ।
सशस्त्र प्रहरीले भोटेकोशी बाढीमा खोज¸ उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा निरन्तरता दिने लगायतका विभिन्न निर्णयहरु गरेको छ । बिहिबार सामाजिक संजालमा सशस्त्रले गरेका निर्णयहरु सार्वजनिक गरिएको छ ।

निर्णयहरु :
मिति २०८३ भाद्र १० गते रसुवा जिल्लाको भोटेकोशी नदिको बाढीमा परेर दिवंगत हुनुभएका सशस्त्र प्रहरी कर्मचारीहरु, अन्य सुरक्षाकर्मीहरु लगायत सम्पूर्ण मृतकहरूमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति गहिरो दुःख तथा समवेदना व्यक्त गर्ने र उक्त घटनामा परी घाइते हुनुभएका सम्पूर्ण व्यक्तिहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने।
१. खोज¸ उद्धार तथा राहत कार्यलाई प्राथमिकताका साथ प्रभावकारी रुपमा निरन्तरता दिने।
२. सशस्त्र प्रहरी महानिरीक्षक र अतिरिक्त महानिरीक्षकहरूले १५ दिनको, नायव महानिरीक्षक र वरिष्ठ उपरीक्षकले १२ दिनको, उपरीक्षक, नायव उपरीक्षक र निरीक्षकहरुले १० दिनको, जुनियर अधिकृतहरूले ७ दिनको, वरिष्ठ हवलदार देखि जवान सम्मले ५ दिनको र सशस्त्र प्रहरी परिचरले ३ दिनको तलब बराबरको रकम योगदान गर्ने र सो रकमबाट सशस्त्र प्रहरी बल नेपालका राष्ट्रसेवकहरुको तर्फबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १५ करोड ५० लाख रकम योगदान गर्ने। बि।ओ।पि। टिमुरे र सुरक्षा बेस मैलुङमा कार्यरत रही सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका सशस्त्र प्रहरी कर्मचारीहरूको हकमा रकम कट्टा नगर्ने।


३. मृतक सशस्त्र प्रहरी कर्मचारीहरूका आश्रीत परिवारलाई राष्ट्रसेवकहरुको तर्फबाट तत्काल रु। १५ लाख र सशस्त्र प्रहरी कर्मचारीहरुको मृत्यु भएमा निजको हकवालारआश्रीत परिवारलाई उपलब्ध गराउने राहत सम्बन्धी कार्यविधि, २०७९ बमोजिम रु ५ लाख तथा सशस्त्र प्रहरी बल, नेपाल विपद् प्रकोप राहत कोष संचालन सम्बन्धी मापदण्ड, २०८१ बमोजिम रु. ५ लाख समेत थप गरी कूल २५ लाख रकम उपलब्ध गराउने।
४. मृतक कर्मचारीहरुले कल्याण कोषबाट ऋण लिई भुक्तानी गर्न बाँकी सम्पूर्ण रकम मिनाहा गर्ने र निजका सन्ततिहरुलाई पायक पर्ने नेपाल ए।पी।एफ। स्कुलमा कक्षा १० सम्मको अध्ययनको लागि शैक्षिक शुल्क छुट गर्ने।
५.सशस्त्र प्रहरी कर्मचारीका आश्रीत परिवारका सदस्य सोही बाढीका कारण मृत्यु भएमा राहत स्वरुप प्रतिव्यक्ति रु। १ लाख उपलब्ध गराउने।
६.सोही बाढीको कारणबाट मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरुको स्मृतिमा संगठनको तर्फबाट उपयुक्त स्थानमा स्मारक निर्माण गर्ने।
७. मृत्यू भएका सशस्त्र प्रहरी कर्मचारीहरुका आश्रीत परिवारका १,१ जना सदस्यहरुलाई सिपमुलक तालिम प्रदान गर्ने।
८.सोही दिनको बाढीमा परी ज्यान जोगाउन सफल भएका पाँच जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई राहत स्वरुप जनही रु. ५० हजारका दरले उपलब्ध गराउने।
८. बाढी प्रभावित अवकाश प्राप्त सशस्त्र प्रहरी कर्मचारीको मृत्यु भएमा १ लाख¸ घरवार विहिन भएमा १ लाख र आंशिक रुपमा भौतिक संरचनाको क्षति भएको तथा घाइतेलाई रु। ५० हजार सम्म उपलब्ध गराउने।