टनेल भित्र अझै सयजना बढी फसिरहेको र उनीहरुलाई बाहिर निकाल्ने प्रयास भैरहेको जनाइएको छ ।

काठमाडौं, १२ भदौ ।

विनाशकारी बाढीपछि अप्पर त्रिशूली हाइड्रोपावरको टनेलभित्र फसेका ३५० जना मजदुर तथा स्थानीलाई नेपाली सेनाले उद्धार गरेको छ ।
अझै पनि टनेलभित्र रहेका १०० जनाभन्दा बढीलाई सुरक्षित बाहिर निकाल्न उद्धार टोली निरन्तर खटिरहेको उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले बताएका छन् ।
सामाजिक संजालमा बिहिबार राती उद्धार भएको बताउँदै उनले भनेका छन् ‘टनेलभित्रको जटिल उद्धार अभियानका लागि नम्बर १ सेकेन्ड मुभमेन्ट ट्याक्टिकल हेडक्वार्टर ९त्रिशूली० बाट जमदार भक्तजन बस्नेतको कमाण्डमा १/३ को सैन्य टोली अहोरात्र खटिएको छ।’


बाढीको उच्च जोखिममा रहेका रसुवाका अन्य विकट क्षेत्रहरूमा समेत नेपाली सेनाले उद्धार कार्यलाई निरन्तरता दिइरहेको उनले बताएका छन् ।‘ सी क्यू आर टी धुन्चे ब्यारेकबाट सह सेनानी अभिषेक शाहीको कमाण्डमा खटिएको १/५ को टोलीले स्याफ्रुवेशी, टिमुरे, मैलुङ, ठूलो हाकु र हाकुवेशीका विभिन्न स्थानबाट थप ५३३ जना नागरिकलाई सुरक्षित स्थानमा सारेको छ’ श्रेष्ठले भनेका छन् ‘यसरी आज मात्रै रसुवाका विभिन्न प्रभावित क्षेत्रबाट कुल ८८३ जना मजदुर तथा स्थानीयको उद्धार भएको छ।’
‘प्रतिकूल परिस्थितिको प्रवाह नगरी उच्च साहस, तदारुकता र समर्पणका साथ उद्धारमा खटिनुभएका नेपाली सेनाका सम्पूर्ण टोलीप्रति हार्दिक आभार’ श्रेष्ठले भनेका छन् ।
श्रेष्ठले भनेका छन् : 
यो उद्धार अभियानलाई सम्भव बनाउन हिजो बेलुकीदेखि नै नेपाली सेनाका प्रधान सेनापतिज्यू तथा विपद् व्यवस्थापन प्राधिकरणसँग निरन्तर समन्वय गरिरहेका थियौँ। मन्त्रालय र नेपाल विद्युत् प्राधिकरण सहित पुगेको टोलीले हिजो दुईपटक हेलिकप्टर अवतरणको प्रयास गरे पनि प्रतिकूल मौसमका कारण सम्भव भएन।
आज बिहानैदेखि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकसहितको उच्चस्तरीय टोली फिल्डमै पुगेर तेस्रो प्रयासमा नेपाली सेनाका उद्धारकर्तालाई घटनास्थलमा अवतरण गराउन सफल भयो। त्यसपछि उद्धार अभियानले थप गति लियो।
आफ्नो प्रवाह नगरी उच्च साहस, तदारुकता र समर्पण प्रदर्शन गर्दै नेपाली सेनाले आज रसुवाका यी विभिन्न प्रभावित क्षेत्रहरूबाट कुल ८८३ जना स्थानीय तथा मजदुरहरूको उद्धार गरी ठूलो मानवीय क्षति हुनबाट जोगाएको छ।
विपद्को यो कठिन घडीमा सबैको एउटै प्राथमिकता हो  प्रभावित नागरिकको जीवन रक्षा र सुरक्षित उद्धार। यस अभियानमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा जोडिनुभएका सबैप्रति हार्दिक धन्यवाद।