उच्च सतर्कता अपनाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह : जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र
नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा महाशाखाबाट जारी हुने सूचना र निर्देशन पालना गर्नसमेत जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले अनुरोध गरेको छ।
काठमाडौं, ११भदौ।
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले सम्भावित डुबान क्षेत्रका सर्वसाधारणले अझै उच्च सतर्कता अपनाउनुपर्ने जनाएको छ । केन्द्रका प्रवक्ता डा राजन भट्टराईले बुधबार गएको भोटेकोशी बाढी प्रभावित क्षेत्रको नदी किनार, तल्लो भूभाग तथा सम्भावित डुबान क्षेत्रमा रहेका नागरिकलाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाई सुरक्षित तथा अग्लो स्थानमा रहन आग्रह गरेका छन्।
‘घटनाको कारणबारे थप स्पष्ट हुन सो क्षेत्रमा रहेका हिमताल, हिमनदी तथा समग्र हिम क्षेत्रको सूक्ष्म अध्ययन भइरहेको छ’ भट्टाराईले भनेका छन् ‘नदी आसपास अनावश्यक आवतजावत नगर्न तथा महाशाखाबाट जारी हुने सूचना र निर्देशन पालना गर्नसमेत अनुरोध गर्दछु ।’ हिजो बिहान ८ः ४० बजे नेपाल(चीन सीमा क्षेत्र रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्वमा गएको हिमचट्टान पहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको ठूलो बाढी आएको प्रारम्भिक अध्ययनबाट देखिएको छ ।
तिब्बततर्फबाट भोटेकोशी नदी हुँदै आएको उक्त बाढी रसुवागढी, टिमुरे र स्याफ्रुबेँसी हुँदै त्रिशूली नदीमा प्रवेश गरेपछि रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवन जिल्लाका त्रिशूली नदी तटीय क्षेत्रमा गम्भीर जोखिम तथा सङ्कटपूर्ण अवस्था सिर्जना भएको प्राधिकरणले जनाएको छ । बाढीका कारण नदी तटीय क्षेत्रका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ । रासस ।

