८० भन्दा बढी महिला उद्यमीको प्रदर्शनी, तीनवटा विषयगत प्यानल, “मेरो उद्यमशील यात्रा”, B2B/B2C Networking लगानी तथा वित्तीय पहुँचसम्बन्धी जानकारी केन्द्र, Sanepa Declarationघोषणा  गरिने ।

काठमाडौं, ८ भदौ ।

नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आगामी भदौ ११ गते “महिला उद्यमशीलता सम्मेलन २०८३” आयोजना गर्ने भएको छ । महिलाको आर्थिक सशक्तिकरण, उद्यमशीलताको प्रवद्र्धन तथा नेपालको आर्थिक रूपान्तरणमा महिला उद्यमीहरूको भूमिकालाई थप प्रभावकारी बनाउने उद्देश्यले यो सम्मेलन आयोजना गर्न लागिएको कांग्रेसले बताएको छ ।
सम्मेलनले विशेषगरी Startup, MSME तथा SME क्षेत्रमा कार्यरत महिला उद्यमीहरूबीच अनुभव आदानप्रदान, लगानी तथा वित्तीय पहुँच, बजार विस्तार, प्रविधिको प्रयोग र नेटवर्किङका लागि साझा मञ्च उपलब्ध गराउने लक्ष्य राखेको छ । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान र नेपाल महिला संघको सहकार्यमा कार्यक्रम आयोजना हुन लागेको हो । कार्यक्रम भदौं ११ गते कांग्रेस केन्द्रीय कार्यालय परिसर, सानेपामा आयोजना हुने जनाइएको छ ।

सम्मेलनमा ८० भन्दा बढी महिला उद्यमीका उत्पादन तथा सेवाको प्रदर्शनी आयोजना गरिने छ । कांग्रेसले विज्ञप्तिमा भनेको छ ‘प्रदर्शनीमार्फत महिला उद्यमीहरूले आफ्ना उत्पादन तथा सेवाहरू प्रत्यक्ष रूपमा उपभोक्ता, व्यवसायी, लगानीकर्ता तथा सम्भावित साझेदारसमक्ष प्रस्तुत गर्ने अवसर प्राप्त गर्नेछन्।’

प्रदर्शनीसँगै B2B तथा B2C Networking लाई समेत प्राथमिकता दिइने छ । यसले महिला उद्यमीहरूलाई नयाँ ग्राहक, व्यवसायिक साझेदार, लगानीकर्ता तथा बजारसँग जोडिन सहयोग पु‍¥याउने अपेक्षा गरिएको छ ।

एक दिने यो सम्मेलनमा महिलाको आर्थिक सशक्तिकरणलाई समुन्नतिको महत्वपूर्ण आधारका रूपमा लिँदै महिला उद्यमीका विद्यमान चुनौती, सम्भावना र अवसरबारे बहुआयामिक छलफल गरिने छ । यो सम्मेलनबाट महिला उद्यमशीलताको विकासमार्फत रोजगारी सिर्जना, उत्पादन वृद्धि, आयआर्जन, आत्मनिर्भरता र समुन्नत समाज निर्माणमा योगदान पु‍ग्ने बिश्वास पार्टीको छ ।

सम्मेलनमा महिला उद्यमशीलतासँग सम्बन्धित तीनवटा विषयगत प्यानल आयोजना गरिने छ । प्यानल छलफलमा व्यवसाय, वित्तीय क्षेत्र, प्रविधि, लगानी, पर्यटन, सूचना प्रविधि तथा निजी क्षेत्रका अनुभवी व्यक्तित्वहरूको सहभागिता रहने छ । छलफलमार्फत महिला उद्यमीहरूले भोगिरहेका चुनौती, लगानी तथा वित्तीय पहुँचका समस्या, प्रविधि र डिजिटल बजारको सम्भावना तथा व्यवसाय विस्तारका अवसरबारे विचार आदानप्रदान गरिने छ ।

सम्मेलनको अर्को विशेष आकर्षण “मेरो उद्यमशील यात्रा” रहने छ । यसमा प्रेरणादायी व्यक्तित्वहरुको Storytelling Sessionहुनेछ । यस सत्रमा सफल महिला उद्यमीहरूले आफ्नो उद्यम यात्रा, संघर्ष, चुनौती, सफलता र सिकाई प्रत्यक्ष रूपमा साझा गर्नेछन् । यसबाट नयाँ पुस्ताका महिला तथा उद्यमशीलतामा प्रवेश गर्न चाहनेहरूलाई प्रेरणा र व्यावहारिक मार्गदर्शन प्रदान गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लगानी, वित्तीय पहुँच तथा सरकारी सेवासम्बन्धी जानकारी केन्द्र समेत सञ्चालन गरिने छ । यो केन्द्रमार्फत महिला उद्यमीहरूले व्यवसाय दर्ता, वित्तीय पहुँच, लगानी, सरकारी सेवा तथा उद्यम विस्तारका लागि उपलब्ध अवसरबारे आवश्यक जानकारी उपलब्ध गराइने छ ।

१०,००० भन्दा बढी सहभागीले सम्मेलनको अवलोकन गर्ने अपेक्षा गरिएको छ । सम्मेलनको समापनमा महिला उद्यमशीलतासँग सम्बन्धित प्रमुख सुझाव, प्रतिबद्धता तथा आगामी कार्यदिशालाई समेट्दै   Sanepa Declaration on Women’s Enterpreneurship  घोषणा सार्वजनिक गरिने छ ।
सम्मेलनको संयोजन खगेन्द्र आचार्य, उद्यमशीलता, नवप्रवर्तन तथा रोजगारी उपसमिति, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गरेका हुन् ।