आइयुजिससँगको आवद्धतासँगै नेपालको भूविज्ञानको क्षेत्र फराकिलो बनेको छ ।

काठमाडौं, ८ भदौं ।

नेपाल भौगर्भिक समाज (NGS) भूगर्भविदहरुको अन्तराष्ट्रिय संस्था IUGS (International Union of Geological sciences) सँग मताधिकारी सहित आवद्ध भएको छ ।
नेपाल भौगर्भिक संस्थाको आवेदनलाई स्वीकृत गर्दे आइयुजिएसले मान्यता दिने भएको हो ।
आइयुजिससँगको आवद्धतासँगै नेपालको भूविज्ञानको क्षेत्र फराकिलो बनेको छ । आइयुजिएस सन् १९६१ मा त्यसबेलाका ७४ देशका भूवैज्ञानिकहरुको स्थापना गरेको संस्था हो । हाल यो संस्थामा १२० देशका भूवैज्ञानिकहरु संस्थागतरुपमा आवद्ध रहेका छन् ।
एनजिएसका अध्यक्ष भास्कर खतिवडाले सामाजिक संचालमा भनेका छन् ‘यो ऐतिहासिक उपलब्धी हो । यसले नेपालका भूवैज्ञानिकहरुलाई नयाँ अवसर सृजना गर्दछ, अन्तराष्ट्रियस्तरमा समन्वय र सहकार्यको संभावना बढाउँछ र नेपाली भूवैज्ञानिकहरु विश्वस्तरमा प्रतिनिधित्व गर्न सफल हुने छन् ।’ खतिवडाले भनेका छन् ‘हामि नेपाल भौगर्भिक समाजका सदस्यहरु विश्वस्तरमा जोडिएका छौं ।’
एनजिएसको आवद्धतासँगै नेपालका भूवैज्ञानिकहरुको नाता विश्वका १० लाख बढी भूवैज्ञानिकसँग संस्थागतरुपमा जोडिएको छ । एनजिएस नेपाल, विज्ञानसँग सम्बन्धित नेपालका संस्थाहरु मध्ये अग्रणी मानिन्छ । भूवैज्ञानिक विषयहरुको सम्बोधन गर्ने, वैज्ञानिक एवं प्राज्ञिक विद्यामा एनजिएस उम्दा संस्था मानिन्छ । एनजिएसममा विदेशी करिव दुई सय र नेपाली एक हजार एक सय हाराहारी सदस्य छन् ।