क्यानडा सुविधा मात्र चाहन्छ – अमेरिकी राष्ट्रपति ट्रम्प
ट्रम्पले आफ्नो पुनरागमनपछि बारम्बार क्यानडालाई अमेरिकाको “५१ औँ राज्य” बनाउने अभिव्यक्ति दिँदै आएका छन्, जसले क्यानेडियन नेताहरू र नागरिकहरूमा तीव्र असन्तुष्टि पैदा गरेको छ।
काठमाडौं, ८ भदौ ।
संयुक्त राज्य अमेरिका र क्यानडाबिचको व्यापारिक वार्ता निष्कर्षविहीन भई भङ्ग भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडाले पूर्ण राज्य नबनी अमेरिकाको राज्य सरहको सुविधा मात्र लिन खोजेको आरोप लगाएका छन्। दुई देशबिचको वार्ता विफल भएसँगै अमेरिकाले विभिन्न क्यानेडियन वस्तुहरूमा ५० प्रतिशत नयाँ भन्सार शुल्क (ट्यारिफ) लागू गरेको छ।
फक्स न्युजसँग कुराकानी गर्दै ट्रम्पले क्यानडाले अमेरिकासँग व्यापार युद्धमा होमिएर जित्न सकिन्छ भन्ने सोच्नु “मूर्खता” भएको बताएका छन्। ट्रम्पले आफ्नो पुनरागमनपछि बारम्बार क्यानडालाई अमेरिकाको “५१ औँ राज्य” बनाउने अभिव्यक्ति दिँदै आएका छन्, जसले क्यानेडियन नेताहरू र नागरिकहरूमा तीव्र असन्तुष्टि पैदा गरेको छ।
यता क्यानडाका प्रधानमन्त्री मार्क कार्नीले अमेरिकी कदमको कडा प्रतिवाद गर्दै नयाँ भन्सार शुल्कलाई क्यानडालाई “विभाजित र कमजोर” पार्ने अमेरिकी “गलत आङ्कलन” भएको बताएका छन्। प्रधानमन्त्री कार्नीले सेप्टेम्बर ८ देखि अमेरिकाबाट आयात हुने स्टिल, दुग्धजन्य पदार्थ, घरायसी सामान र इलेक्ट्रोनिक्स लगायतका वस्तुहरूमा अमेरिकी कदमको बराबरी (डलर-प्रति-डलर) हुने गरी जवाफी भन्सार शुल्क लगाउने घोषणा गरेका छन्।
वार्ता भङ्ग हुनुमा दुवै देशले एक-अर्कालाई अन्तिम समयमा सर्तहरू फेरेको आरोप लगाएका छन्। अमेरिकाले करिब २० अर्ब अमेरिकी डलर बराबरका क्यानेडियन वस्तुहरूमा थप ट्यारिफ लगाएको छ। क्यानडाका प्रमुख विपक्षी दलका नेता पियरे पोइलिएभ्र, ओन्टारियोका प्रिमियर डग फोर्ड तथा ब्रिटिस कोलम्बियाका प्रिमियर डेभिड इबी लगायत सम्पूर्ण राजनीतिक नेतृत्वले प्रधानमन्त्री कार्नीको अडानलाई समर्थन गर्दै अमेरिकी दबाब र सार्वभौमसत्तामाथिको हस्तक्षेप अस्वीकार्य भएको बताएका छन्।

