अधिवेशन अवैधानिक भएको र विभाजनकारी हुने कोइरालाको भनाई छ ।

काठमाडौं, ५ भदौ ।

नेपाली कांग्रेस इतरपक्षका नेता शंशाक कोइराला जसलाई उनीहरुको सम्मेलनले संयोजकको जिम्मेवारी दिएको छ उनले कांग्रेसको अधिवेशन प्रक्रियामा प्रश्न उठाउँदै अधिवेशन सम्पन्न नगर्न र आफ्ना कार्यकर्तालाई महाधिवेशनमा सहभागि नहुन अपील गरेका छन् ।
शुक्रबार विज्ञप्ति प्रकाशीत गर्दे शशांकले विशेष अधिवेशनलाई ठाउँ ठाउँमा कथितको संज्ञा दिएका छन् । कोइरालाले विज्ञप्तिमा भनेका छन् ‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको आधिकारिता सम्वन्धी विवादको मुद्धामा पार्टी सभापति श्री शेरबहादुर देउवा र कार्यवाहक सभापति श्री पूर्णबहादुर खड्काले सम्मानित सर्वोच्च अदालतको डिभिजन बेञ्चको निर्णय÷आदेश उपर पुनरावलोकन गरि पाउँ भनि निवेदन दिई उक्त मुद्धा शुरु देखिनै हेर्नेगरि सम्मानित सर्वोच्च अदालतको पूर्ण इजलासवाट पुनरावलोकनको अनुमति (निस्सा) पाईसकेको अवस्थामा सो मुद्धा हाल सम्मानित सर्वोच्च अदालतमा विचाराधिन रहेको सवैलाई अवगतनै छ ।’
कोइरालाले विशेष अधिवेशनबाट निर्वाचित कार्यसमितिले १५ औं महाधिवशेन तयारीको सन्दर्भमा भनेका छन् ‘तथाकथित विशेष महाधिवेशन पक्षका यस्ता अवैधानिक र विभाजनकारी अधिवेशन र महाधिवेशन आयोजना नगर्न÷नगराउँन तथा यस्ता कृयाकलापमा सहभागी नहुन पार्टीका सबै तहका समिति, पदाधिकारी र सदस्यहरु तथा क्रियाशील सदस्यहरुमा हार्दिक अपील गर्दछौ ।’


अदालतबाट विचारधिन अवस्थामा रहेको बताउँदै कोइरालाले भनेका छन् ‘यो अवस्थामा कथित विशेष महाधिवेशनवाट गठित पक्षले १५ औं महाधिवेशन गर्ने निर्णय गरि कार्यतालिका सार्वजनिक गरेको सन्दर्भमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’
‘सुदृढ, सबल र गतिशिल कांग्रेसका लागि पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता नै अहिलेको आवश्यकता हो भन्ने हाम्रो निश्कर्ष र प्रतिवद्धता रहेको छ । कथित विषेश महाधिवेशनको कारणले हाल केन्द्रीय कार्यसमिति समानान्तर रुपले विभाजित रहेको छ’ कोइरालाले भनेका छन् ‘यस्तो गम्भीर विवादको अवस्थामा कथित विशेष महाधिवेशन पक्षले अधिवेशन वा महाधिवेशन ग¥यो भने पार्टीका सबै तहमा संरचनागत रुपमा विभाजनको प्रकृया शुरुहुने स्पष्ट देखिन्छ र आगामी स्थानीय तथा प्रदेश सभा सदस्यको निर्वाचनमा समेत पार्टीलाई झनै नकारात्मक असर पर्दछ भन्ने हाम्रो ठहर छ ।’

 

 

Photo: peoplesrevie.com