‘म आफै नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी मान्यता पार्टी भित्र हाबी हुँदै गएको छ : कमल थापा
पार्टी अध्यक्ष लिङ्गदेनले सम्हाल्न सक्लान अहिलेको संकट ? एकातिर जयनेपाल पार्टीको नाममा राप्रपाको नयाँ संस्करण मुलुकको राजनीतिमा पर्दापण गरेको छ भने अर्को तर्फ राप्पाकै वरिष्ठ नेताहरुले लिङ्गदेनको कार्यशैलीमा प्रश्नमात्र उठाएका छैनन्, उनी माथि ‘म आफै नै पार्टी हुँ र मैले भनेकै हुनुपर्दछ भन्ने अधिनायकवादी चरित्र हाबि हुँदै गएको आरोप पनि छ ।
काठमाडौं, ५ भदौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टी यतिखेर बागमतिको सत्ता समीकरणको मामलालाई लिएर पेचिलो अवस्थाबाट गुज्रिएको छ । राप्रपा बागमति प्रदेशका संसदीय दलका नेता उद्धब थापाले एमाले नेतृत्वमा गठन भएको सरकारलाई समर्थन गनुृकासाथै आफ्नो दलका तीनजना मन्त्री बनेपछि पार्टीमा राजनीतिक धुव्रिकरण बढेको छ । थापाको कदमलाई लिएर पार्टी अध्यक्ष राजेन्द्र लिङ्गदेन कडारुपमा प्रस्तुत भएको पृष्ठमुमि, पार्टीमा स्थापना कालदेखि आवद्ध थापालाई स्पष्टीकरणको समेत मौका नदिई साधारणसभाबाट निस्कासनसम्मको राजनीतिक अस्त्रका कारण पार्टी केन्द्रदेखि प्रदेशसम्म विवादित विभाजित अवस्थामा पुगेको छ ।
थापा माथिको कारबाहीको शिलशिला कसरी अगाडि बढ्ने हो ? थापाको पक्ष प्रदेशमा अहिले पनि बलियो देखिन्छ । कूल १२ जना सांसद रहेको बागमति प्रदेशमा थापाको पक्षमा ७ जना खुलेर लागेका छन् , ३ जना मन्त्री भएका छन् । उनको विकल्पमा नयाँ संसदीय दलको नेता चयन हुन चुनौतिपुर्ण देखिदैंछ । थापाका सहयोगिहरु कसकसलाई कारबाहीको डण्डा चल्ने हो ? अनुत्तरित छन प्रश्नहरु । थापालाई ‘शहिद’ बनाएर अन्य सहयोगीहरुले साथ छोड्ने अवस्था सायद आउँदैन ।
पार्टी अध्यक्ष लिङ्गदेनले सम्हाल्न सक्लान अहिलेको संकट ? एकातिर जयनेपाल पार्टीको नाममा राप्रपाको नयाँ संस्करण मुलुकको राजनीतिमा पर्दापण गरेको छ भने अर्को तर्फ राप्पाकै वरिष्ठ नेताहरुले लिङ्गदेनको कार्यशैलीमा प्रश्नमात्र उठाएका छैनन्, उनी माथि ‘ म आफै नै पार्टी हुँ र मैले भनेकै हुनुपर्दछ भन्ने अधिनायकवादी चरित्र हाबि हुँदै गएको आरोप पनि छ ।
यसै सन्दर्भमा पार्टीैका वरिष्ठ नेता कमल थापाले सामाजिक संजालबाट राप्रपाका पछिल्ला कदमबारे तिसो प्रतिक्रिया राखेका छन् ।
नेपालको पंचायतकालिन राजनीतिक व्यवस्थादेखी प्रजातान्त्रिक कालखण्डसम्म चतुर र प्रभावशाली राजनीतिज्ञको परिचय कमाएका थापाले उठाएका विषय उनकै शब्दमा :
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको हिजोको बैठकमा केही असहज र अप्रिय परिस्थिति निर्माण हुन पुग्यो, जसले मलाई अत्यन्तै विरक्त तुल्याएको छ। सो बैठकमा पार्टी अध्यक्षले बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई तत्काल पार्टीबाट निष्कासन गर्ने प्रस्ताव राख्नुभयो। उहाँहरू कस्तो निर्णय गर्ने भन्ने पहिले नै तय गरेर आउनुभएको रहेछ।
यस सम्बन्धमा म लगायत पार्टीका पूर्वअध्यक्ष डा.प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष विक्रम पाण्डे, बागमती प्रदेश अध्यक्ष विक्रम थापा र कार्यसम्पादन समितिका सदस्य अर्जुन राई लगायतले पटक पटक विनम्रतापूर्वक अनुरोध गर्यौँ— ‘हतारमा कारबाही गरेर जनताबाट निर्वाचित सांसदलाई निष्कासन गर्ने जस्तो कठोर निर्णय नगरौँ। पार्टीको विधि र पद्धतिअनुसार पहिले अध्ययन तथा छानबिन गरौँ, अनि मात्र आवश्यक निर्णयमा पुगौँ।’
साथै, हामीले निम्न विषयहरूमा समेत गम्भीर नीतिगत समीक्षा गर्न आग्रह गरेका थियौँ ।
कुनै पनि तहको सरकारमा पार्टी सहभागी हुने वा नहुनेबारे स्पष्ट नीतिगत समीक्षा गरौँ। विगतमा केन्द्र र प्रदेश सरकारमा सहभागी भएको विषयमा तीव्र आलोचना भएकाले त्यसको पनि समीक्षा गरौँ।
पार्टीको निर्देशनविपरीत विगतमा प्रदेश सभामा सभामुख र उपसभामुख पद लिएको विषयमा समीक्षा गरौँ। गत भदौ २४ गतेको आन्दोलनपश्चात् केन्द्र र प्रदेश सभाका सबै सांसदहरूले राजीनामा दिने भनिएको निर्णय किन कार्यान्वयन भएन, त्यसबारे पनि समीक्षा गरौँ।
यसका निम्ति कम्तीमा ३ दिनको समय दिएर अध्ययन गरौँ, प्रदेश सभाका सांसदहरूसँग परामर्श गरी उनीहरूलाई सम्झाउने बुझाउने प्रयास गरौँ र त्यसपछि मात्र उपयुक्त निर्णय गरौँ भन्दा ३ दिनको समय पनि नदिई पूर्वाग्रहका साथ बागमती प्रदेश संसदीय दलका नेता उद्धव थापालाई पार्टीबाट निष्कासन गर्ने एकपक्षीय निर्णय गरियो।
अब सायद कारबाहीको शृङ्खला अझै बढ्दै जानेछ। तर कारबाही र निष्कासनमात्र समस्याको समाधान होइन। पार्टीभित्र गम्भीर संवादहीनताको अवस्था छ। ‘म नै पार्टी हुँ र मैले भनेकै हुनुपर्छ’ भन्ने अधिनायकवादी मान्यता पार्टीभित्र हाबी हुँदै गएको देखिन्छ। यसै पनि पार्टी कमजोर बन्दै गइरहेको अवस्थामा दम्भ र गुटबन्दीका आधारमा नभई सद्भाव, एकता, विधि र पद्धतिका आधारमा पार्टी सञ्चालन हुनुपर्दछ।
यस अप्रिय घटनाका बाबजुद कत्ति पनि विचलित नभई अघि बढ्न म राप्रपाका सम्पूर्ण निष्ठावान् साथीहरूलाई हार्दिक अनुरोध गर्दछु। परिस्थिति बिस्तारै सकारात्मक बन्दै जानेछ, राप्रपाको भविष्य उज्ज्वल छ। हामी फेरि राप्रपालाई सशक्त बनाएर उठाउनेछौँ।

