सद्भाव, एकता र विश्वबन्धुत्व अझ प्रगाढ बन्दै जाओस् : गगन थापा
सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख भई रहेको महसुस हुन थालेको छ – आङ्दम्बे ।
काठमाडौं, २४ साउन ।
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विश्व आदिवासी जनजाति दिवशको अवसरमा शुभ कामना व्यक्त गरेका छन् । थापाले भनेका छन् ‘नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त होस्, विश्वका सम्पूर्ण आदिवासी जनजाति समुदाय सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बीच आपसी सम्मान, सद्भाव, एकता र विश्वबन्धुत्व अझ प्रगाढ बन्दै जाओस् । विश्व आदिवासी दिवसको हार्दिक शुभकामना ।’
त्यस्तै कांग्रेस संसदीय दलका नेता भिष्मराज आङदम्बेले ३२ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु भनेका छन् । आङ्दम्बेले भनेका छन् ‘आजको दिन आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग र बलिदानलाई स्मरण गर्ने दिन हो । नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्याएको योगदान अविस्मरणीय छ ।’
‘तर आज म चिन्तित छु । सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख भई रहेको महसुस हुन थालेको छ’ आङ्दम्बेले भनेका छन् ‘कमजोरी छन् भने सुधार गरौँ । समस्या छन् भने समाधान गरौँ ।’
गगनको वक्तव्य (पूर्णपाठ)
विश्व आदिवासी दिवसको
शुभ–कामना
संयुक्त राष्ट्र संघले विश्वभरका आदिवासी जनजातिका राजनीतिक, भाषिक, सांस्कृतिक, धार्मिक, शैक्षिक विभेद तथा मानव अधिकार हनन् लगायत सबै खाले उत्पीडनबाट मुक्ति दिलाउन सन् १९९४ मा घोषणा गरिएको दिन अगस्ट ९ लाई विश्वभरका आदिवासी जनजाति समुदायले आफ्नो अधिकार, पहिचान, भाषा, संस्कृति, परम्परा र स्वाभिमानको संरक्षण तथा प्रवद्र्धनका लागि साझा प्रतिबद्धता व्यक्त गर्ने अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाउँदै आइरहेका छन् ।
यस वर्षको आदिवासी दिवस ‘प्राप्त अधिकार रक्षा आजको आवश्यकता पहिचान सहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो साझा प्रतिबद्धता’ भन्ने मूल नारा सहित देशभर विभिन्न कार्यक्रम गरी मनाइदै छ ।
नेपाली कांग्रेस लोकतन्त्र, सामाजिक न्याय, समानता र समावेशिताको पक्षमा निरन्तर संघर्ष गर्दै आएको पार्टी हो । नेपालको लोकतान्त्रिक आन्दोलनदेखि सामाजिक रूपान्तरणसम्म आइपुग्दा आदिवासी जनजाति लगायत सबै उत्पीडित, सीमान्तकृत र पछाडि पारिएका समुदायका अधिकार र सहभागिताका सवाललाई नेपाली कांग्रेसले आफ्नो राजनीतिक यात्राको महत्वपूर्ण विषयका रूपमा आत्मसात् गर्दै आएको छ । नेपाली कांग्रेसले आदिवासी जनजातिको हक र अधिकारका निमित्त संघर्ष गर्दै आइरहेको इतिहास साक्षी छ । आदिवासी जनजातिको भाषा, संस्कृति, परम्परा, पहिचान र अधिकारको संरक्षण तथा प्रवद्र्धनका लागि भएका विभिन्न संवैधानिक, कानुनी र संस्थागत पहलहरू त्यसै यात्राका महत्वपूर्ण उपलब्धि हुन् । नेपाली कांग्रेसकै नेतृत्वमा आदिवासी जनजाति प्रतिष्ठान जस्ता संस्थागत संरचनाको निर्माण समेत भएकोे छ ।
नेपालका आदिवासी जनजातिको उत्थान एवं अधिकार स्थापना तथा आदिवासीहरुको सांस्कृतिक संरक्षणमा समेत यो दिवसले महत्वपूर्ण भूमिका निर्वाह गर्न सफलता प्राप्त होस् १ विश्वका सम्पूर्ण आदिवासी जनजाति समुदाय सहित सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू बीच आपसी सम्मान, सद्भाव, एकता र विश्वबन्धुत्व अझ प्रगाढ बन्दै जाओस् ।
विश्व आदिवासी दिवसको हार्दिक शुभकामना.
भिष्मराजको सन्देश (पूर्णपाठ)
विश्व आदिवासी दिवसको हार्दिक शुभकामना

३२ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल तथा विश्वभर रहनुभएका सम्पूर्ण आदिवासी जनजाति दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।आजको दिन आदिवासी जनजाति समुदायको इतिहास, पहिचान, भाषा, संस्कृति र अधिकारका लागि भएका संघर्ष, त्याग र बलिदानलाई स्मरण गर्ने दिन हो । नेपालको प्रजातान्त्रिक आन्दोलनदेखि संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनासम्म आदिवासी जनजाति समुदायले पुर्याएको योगदान अविस्मरणीय छ ।
नेपालको संविधानले संघीयता, धर्मनिरपेक्षता, समानुपातिक समावेशिता, सामाजिक न्याय तथा पहिचान र सांस्कृतिक अधिकारलाई संस्थागत गरेको छ । यी उपलब्धि कसैको दया वा कृपाबाट प्राप्त भएका होइनन् । आदिवासी जनजातिसहित सबै समुदायका नेपाली जनताको लामो संघर्षबाट प्राप्त उपलब्धि हुन् ।
तर आज म चिन्तित छु । सरकारका पछिल्ला गतिविधि र अभिव्यक्तिहरू संघीयता, धर्मनिरपेक्षता, समावेशिता र लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउनेभन्दा कमजोर बनाउने दिशातर्फ त उन्मुख भई रहेको महसुस हुन थालेको छ । कमजोरी छन् भने सुधार गरौँ । समस्या छन् भने समाधान गरौँ । संबिधान संशोधन र परिमार्जनको प्रकृया मार्फत संबैधानिक अभ्यासका क्रममा देखिएका त्रुटि र कमजोरीहरुलाई सच्याउदै जाने हो । तर जनताको संघर्षबाट प्राप्त उपलब्धि नै मास्ने कुरा स्वीकार्य हुन सक्दैन । र, आदिवासी जनजातिको पहिचान, भाषा, संस्कृति र अधिकार व्यवहारमै सुनिश्चित हुनुपर्छ । राज्यका सबै तहमा न्यायपूर्ण प्रतिनिधित्व र पहिचानसहितको संघीयता संस्थागत गर्नुपर्छ ।
अन्त्यमा, यस विश्व आदिवासी दिवसको अवसरमा समावेशी, समान र न्यायपूर्ण नेपाल निर्माणको संकल्पलाई कार्यान्वयन गर्ने प्रतिबद्धता पनि जाहेर गरौं, सम्पूर्ण आदिवासी जनजाति समुदायमा हार्दिक शुभकामना ।

