नेपाल रेलवेका ३० इन्जिनीयरलाई भारतमा दुई हप्ते तालिम
काठमाडौं, १९ साउन ।
नेपालको रेल विभाग अन्तर्गतका ३० प्राविधिकले भारबाट १२ दिने तालिम लिएर फर्किएका छन् । तालिम सम्पन्न गरेर फर्किएकाहरुलाई भारतीय राजदूतावासले सोमबार एक स्वागत कार्यक्रम आयोजना गरेको छ ।
भारतिय दूतावासले सामाजिक संजालमा राखेको सूचनामा नेपालको ३० जनाको प्राविधिक जनशक्ति १२ दिने तालिम सम्पन्न गरेर फर्किएको जानकारी छ । स्वागत कार्यक्रममा रेल विभागका महानिर्देशक हरिकुमार पोखरेल तथा भारतका डेपुटी कमिसनर डा. राकेश पाण्डेले सम्बोधन गरेका थिए ।
तालिम भारत सरकारको तालिम तथा क्षमता अभिवृद्धि कार्यक्रमसंग सम्बन्धित हो । भारतीय सरकारको अनुदान कार्यक्रम अन्तर्गत भारतको वडोदरास्थित गति शक्ति विश्वविद्यालयले (ITEC Program) अन्तर्गत तालित प्रदान गरेको जनाइएको छ।
नेपाल भारतको सहमतिमा तालिममा नेपाली प्राविधिकहरु सहभागि भएको महानिर्देशक पोखरेलले बताए । उनले तालिम रेल यातायात संचालन, मर्मत, व्यवस्थापन पक्षसँग सम्बन्धित रहेको जानकारी दिए ।
तालिम लिने यो समुह नेपालका अधिकारीहरूको दोस्रो समूह हो। तालिमले नेपाली रेलवे अधिकारीहरूलाई नेपालमा रेलवे सञ्चालनमा आत्मनिर्भरता प्राप्त गर्न सक्षम बनाउने विश्वास गरिएको छ ।

